राजनीति-समाज

पूर्वसभापति देउवालाई झाँकी र बाजागाजासहित भव्य स्वागत

पूर्वसभापति देउवालाई झाँकी र बाजागाजासहित भव्य स्वागत


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । पाँच महिनापछि हङकङबाट नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई नेता कार्यकर्ताले झाँकी र बाजागाजासहित भव्य स्वागत गरेका छन् ।

नेता देउवाको स्वागतका लागि विमानस्थलमा बिहीबार बिहानैदेखि कांग्रेसका नेता कार्यकर्ता विभिन्न सांस्कृतिक समूह बनाएर नाचगानसहित उपस्थित थिए । तारकेश्वरबाट आएका सांस्कृतिक समूहसँग मिसिँदै कतिपय कार्यकर्ता देउडा खेलिरहेका देखिन्थे ।

Advertisement

अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्षमा देउवाको स्वागतमा नेताहरू शशांक कोइराला, एनपी साउद, प्रकाशशरण महत मीन विश्वकर्मा, दीपक खड्का एक ठाउँमा जम्मा भएका थिए । नेता पूर्णबहादुर खड्का केही समयपछि छुट्टै समूहका साथ प्रवेश गरे ।

देउवा १२ः३० मिनेटमा थाई एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानबाट ओर्लिएपछि उनी ‘एस्केलेटर’ हुँदै आगमन कक्षतर्फ आएका थिए विमानस्थलको बाहिरिने गेटसम्म आइपुग्न उनलाई करिब आधा घन्टा समय लागेको थियो ।

देउवा बाहिरिने क्रममा विमानस्थल परिसर ‘नेपाली कांग्रेस जिन्दावाद’ लगायतका नाराले गुञ्जायमान बनेको थियो । उनी बाहिरिने गेटसम्म पुग्दासम्म नेता तथा कार्यकर्ताले उनलाई घेरेका थिए ।

देउवा बाहिरिएपछि उनलाई बाजागाजासहित स्कर्टिङ गरेर विमानस्थलबाट बाहिर निकालियो । विमानस्थल गेटबाट बाहिरिएपछि देउवा गाडीको सनरुफबाट निस्किएर समर्थकलाई अभिवादन गरेका थिए । त्यसबेला पानी परिरहेको थियो । वर्षाकाबीच पनि समर्थकहरूको भीड भने घटेको थिएन । देउवाको स्वागतका लागि विमानस्थल परिसरमा कांग्रेस नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । नाराबाजी, बाजागाजा र झाँकीका कारण विमानस्थल क्षेत्रमा केहीबेर भिडभाड थियो ।

विमानस्थलबाट देउवा सीधै चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए । चुनदेवीस्थित कार्यालयमा सभापति लेखिएको बोर्ड उनको कार्यकक्ष बाहिर राखिएको थियो । सर्वोच्चले कांग्रेस विशेष महाधिवेशन र निर्वाचन आयोगले प्रदान गरेको आधिकारिकता विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको सुनुवाइ अघि बढाउने निर्णय दिएसँगै देउवा नेपाल आएका हुन्।

सर्वोच्चको उक्त निर्णयसँगै कांग्रेस सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति, निर्वाचन आयोग पुनरवलोकनकर्ताबीच छलफल हुनेछ । नेपाल आएपछि कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई अदालतप्रति पूर्ण भरोसा रहेको अभिव्यक्ति दिएका छन् । देउवाले भने, ‘यो देशमा जनता, अदालत छ । हामीले देखाउँछौँ । राजा ज्ञानेन्द्रले सकेनन् अरुले के गर्न सक्छन् ?’

उनले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको टिप्पणी गर्दै भने, ‘नेपाली जनता मालिक हुन् । जनताले जे भन्यो त्यही हुन्छ । अदालतप्रति मलाई पूरा विश्वास छ ।’

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरवलोकन निर्णयसँगै देउवाको स्वदेश फिर्तीलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट व्याख्या एवम् विष्लेषणहरु भइरहेका छन् ।