काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । विगत लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित भएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किएका थिए । उनलाई १४ दिनअघि हेलियस अस्पतालमा भर्ना गरिएको थियो ।
आजै २ः५१ मिनेटमा डाक्टरहरूको टिमले श्रेष्ठको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुयोग आचार्यले जानकारी दिए । कांग्रेस मुख्यसचिव कृष्ण दुलालले पनि नेता श्रेष्ठको निधन भएको पुष्टि गर्दै केही बेरमा आधिकारिक विज्ञप्ति जारी गरिने बताए ।
अस्पतालमा भेटेर फर्किएपछि यही साउन ७ गते कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका थिए । उनको अन्त्येष्टि बुधबार (साउन १३) बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए ।
अन्त्येष्टिअघि श्रद्धाञ्जलीका निम्ति उनको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । बुधबार बिहान ८ देखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीपश्चात् उनको अन्त्येष्टि गरिने मेखलालले बताए ।
श्रेष्ठमा प्याङ्क्रियाजसम्बन्धी समस्या देखिएपछि नर्भिक र धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि उनलाई भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगेर उपचार गराइएको थियो । त्यहाँ उनले किमोथेरापी समेत लिएका थिए ।
करिब तीन महिनाको उपचारपछि उनी स्वदेश फर्किएका थिए । तर, त्यसयता उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर हुँदै गएको थियो । दिवंगत श्रेष्ठ पछिल्लो ९/१० दिनदेखि जावलाखेलस्थित हेलियस अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत थिए ।
गोपालमान कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक थिए । उनले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालेका थिए थिए ।
राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेका बेला श्रेष्ठले पार्टीको नेतृत्व गरेका थिए । गत वर्ष पुसमा उनी देउवा समूह छाडेर विशेष महाधिवेशनका पक्षमा खुलेका थिए ।
सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैँ प्रेरणादायी रहनेछ । स्याङ्जाबाट सुरु भएका उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ ।’
यसैबीच, कांग्रेसका निवर्तमान सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देशमार्फत स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निभाएको अग्रणी भूमिका सधैँ स्मरणीय रहने पूर्वप्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।












प्रतिक्रिया