मुख्य समाचार

चिकित्सकहरु आन्दोलित, देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सबै सेवा बन्द

चिकित्सकहरु आन्दोलित, देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सबै सेवा बन्द


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

Advertisement

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोडसमेत गरिएको थियो ।

सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भर्त्सना गरेको छ।