युलेस, टेक्सस । नेपाल बाहिर सञ्चालन भइरहेका नेपाली भाषा विद्यालयहरूलाई एकरूप, व्यवस्थित र आधुनिक शैक्षिक ढाँचामा जोड्ने उद्देश्यले नेप्लिज सोसाइटी अफ टेक्सस (एनएसटी)ले पहिलो अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्ने भएको छ ।
यो कार्यक्रम यही अगस्ट १ र २ तारिक युलेसस्थित नेपाली समाज टेक्ससको कार्यालयमा हुने जनाइएको छ । गोष्ठीको मुख्य उद्देश्य विश्वभरका नेपाली समुदायमा भाषा शिक्षणलाई सुदृढ बनाउने तथा बालबालिकाले सजिलै सिक्न सक्ने एकीकृत नेपाली भाषा पाठ्यक्रम निर्माण गर्नु रहेको छ । अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलियालगायतका देशमा सक्रिय नेपाली समुदायका प्रतिनिधि, भाषा शिक्षक तथा शैक्षिक अभियन्ताहरूको सहभागिता रहनेछ समाजले जनाएको छ ।
कार्यक्रममा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र तथा अन्य नेपाली संस्थाहरूको समेत सहयोग रहने छ । नेपाली भाषा संरक्षण, पहिचान मजबुतीकरण तथा समुदायबीच सहकार्य विस्तार गर्न यो गोष्ठी महत्त्वपूर्ण कदम हुने आयोजक संस्थाले जनाएको छ ।
यस कार्यक्रमबाट विदेशमा हुर्किरहेका बालबालिकाले नेपाली भाषा सिक्ने वातावरणलाई व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो । एकीकृत पाठ्यक्रमले विश्वभरका नेपाली विद्यालयहरूलाई एउटै शैक्षिक ढाँचामा जोड्ने समेत नेपाली समाज टेक्ससले जनाएको छ ।
समाजले सबै नेपाली समुदाय संगठन, भाषा शिक्षक, अभिभावक तथा भाषाप्रेमीहरूलाई गोष्ठीमा सहभागी भई नेपाली भाषा शिक्षणको भविष्य निर्माणमा योगदान दिन आह्वान गरेको छ ।












प्रतिक्रिया