काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
पार्टीमा भित्र र बाहिर सरकारका निर्वाचनमा मात्र बढी केन्द्रित हुने प्रवृति बढेको उल्लेख गर्दै सभापति थापाले बिपीको आदर्श र त्यागबाट सिकेर निर्वाचन तथा राजनीतिसँगै परोपकार सेवा र कल्याणका कामका जोडिन नेताकार्यकर्तालाई आग्रह गरे ।
उनले भने, ‘रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनिमात्र सर्वसाधारण जनताका आवाज सुनिनेछन् । दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुस् ।’
उनले तीन तहका सरकारमध्ये कांग्रेस प्रदेश र स्थानीय तहका सरकारमा रहेको उल्लेख गर्दै सङ्घीय सरकारमा मात्र प्रतिपक्षमा रहेको अवस्थामा आफ्नो क्षेत्रबाट जनजीविकाका सवालमा दत्तचित्त भएर अघि बढ्न आग्रह गरे ।
सभापति थापाले आगामी भदौ २४ गते बिपी जन्मजयन्तीको अवसर पारेर पार्टीका प्रत्येक सदस्य र समितिलाई मुलुक र जनताका लागि कुनै न कुनै प्रतिज्ञा गर्न आग्रह गरे ।
कार्यक्रममा उपभापति विश्वप्रकाश शर्माले बिपीका आदर्श, विचार र संस्कारलाई आत्मसात् गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने सङ्कल्प बन्ने प्रण गर्न आग्रह गरे ।
उनले पछिल्लो समय मुलुकमा जलवायुका असरबाट ठुला विपद्का घट्ना बढ्दै गरेको बताउँदै न्यूनीकरणका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने र त्यसका लागि कांग्रेसले पनि पहल सुरू गरिसकेको बताए ।












प्रतिक्रिया