काठमाडौँ । मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढी पहिराका कारण आठ वटा राजमार्ग अवरुद्ध भएका छन् । बाढी पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडक खण्डमा पर्ने ढेडुखोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्ध भएकोमा आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार काभ्रेपलान्चोक/सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारीसाधनहरू (बिपी राजमार्ग) सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
सोमबार बिहान ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित पाङदुर, टाकुर्चे र भालु खोलासहित तीन ठाउँमा अविरल बर्सातको कारण कान्तिलोकपथ सडक खण्डमा पहिरो गई बाटो पूर्ण रूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असार २३ गते इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको, (उक्त स्थानमा वैकल्पिक बाटो रहेको) छ ।
“ताङतिङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असार २७ गते कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ भित्री सडक खण्डमा बाटो मुनि लगाइएको तार जालिको ग्याबिन पर्खाल भत्किएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो”, विज्ञप्तिमा भनिएको छ, “सालझन्डि ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आइतबार अर्घाखाँचीको पाणिनी–२ ढुङ्गेखोलास्थित सालझन्डि ढोरपाटन सडक खण्डमा बाटोको माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।”
यसै गरी काली गण्डकी कोरिडोर अवरुद्ध भएको छ । सोमबार गुल्मीको काली गण्डकी–४ पुर्तिघाटस्थित काली गण्डकी कोरिडोर सडक खण्डमा पात खोलाको बहाव बढी भएपछि बाटो अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोमबार कास्कीको मादी–४ भैसेस्थित मध्य पहाडी लोक मार्गअन्तर्गत भैँसेबाट इदि जाने (भित्री सडक) मा ओख्रेभिरबाट झरेको लेदो, पहिरो र मादी खोलाको पानीसमेत सडकमा आइ बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार रिडी वामी सडक पूर्णपुरमा अवरुद्ध भएको छ । आज बिहान गुल्मीको मुसिकोट–५ तल्लो फाँटस्थित रिडी वामी सडकखण्डको ठाँडो गिरु खोलाको बहाव बढी बाटो कटान गरी लगेको हुँदा बाटो अवरुद्ध भएको हो ।












प्रतिक्रिया