मुख्य समाचार

‘भानुभक्त जन्मस्थलको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व सबैको हो’

‘भानुभक्त जन्मस्थलको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व सबैको हो’


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको संरक्षण, प्रवर्द्धन र सम्वर्द्धन गर्ने दायित्व यहाँका स्थानीयका साथै तीनै तहका सरकारको भएको बताएका छन् ।

भानु जन्मस्थल विकास समितिद्वारा २१३औँ भानु जन्मजयन्तीको अवसरमा आज भानु नगरपालिका(४ चुँदीरम्घामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भानु जन्मस्थलको विकाससँगै भाषिक पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

Advertisement

“आदिकवि भानुभक्तले नेपाली भाषामार्फत हामीलाई जोड्नुभयो । अब हामी विकास र समृद्धिमार्फत तनहुँका हरेक नागरिकलाई जोड्ने प्रण गरौँ । समय बित्दै जाँदा भानु उद्यान साहित्यिक केन्द्रको सान्दर्भिकता बढ्दै जान्छ भन्ने महसुस गरेको छु”, मुख्यमन्त्री पाण्डेले भने, “अहिले मुलुकका लाखौँ युवा शिक्षा र रोजगारीका लागि विदेशिएका छन् । आगामी सयौँ वर्षपछि विदेशियाका नेपालीका सन्तति आफ्नो भाषा र साहित्यको पहिचान खोज्न यहीँ थलोमा आउनेछन् ।”

यसको महत्त्व जतिजति समय बढ्दै जान्छ उतिउति संसारभरि फैलिँदै जाने बताउँदै यसका लागि आपसी सहकार्य र समन्वयमार्फत अहिले त्यो जग खडा गर्नुपर्नेमा उनले जोड दिए । “भाषिक एकीकरण गर्ने व्यक्तित्वको जन्मस्थललाई साहित्यिक पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न हामी सबै नेपाली एकजुट हुनुपर्छ”, उनले भने ।

प्रतिनिधिसभाका सांसद श्रीराम न्यौपानेले आज पनि यस पवन जन्मभूमिमा उभिएर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्नु मेरा लागि पारिवारिक गौरव र आत्मिक सौभाग्य भएको बताए । उनले भने, “आज असार २९ गते हामी नेपाली भाषा र साहित्यका अमर साधक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन यहाँ एकत्रित भएका छौँ, यसले मलाई सोभाग्यमानी महसुस गराइरहेको छ ।”

सांसद न्यौपानेले तनहुँको समृद्धिका लागि सामूहिक प्रयासको आह्वान गर्नुभयो । यसमा स्थानीय स्रोतसाधनको उपयोग, युवाहरूको सीप विकास तथा रोजगारी सिर्जना, कृषि, पर्यटन र भाषा, साहित्यको प्रवर्द्धनका साथै खानेपानी, सिँचाइ र सडकजस्ता पूर्वाधार आयोजनाहरू समावेश गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

सांस्कृतिक तथा भौगोलिक रूपमा महत्व बोकेको तनहुँका समृद्ध सांस्कृतिक तथा भौगोलिक स्थलहरू जस्तै व्यास, देवघाट, बन्दिपुर, मनहुँकोट, छब्दी बाराही र ढोरबाराहीलाई प्रमुख सम्पदास्थलका रूपमा समावेश गरेर विकास र पर्यटन प्रवर्द्धन गरी जिल्लालाई समृद्ध बनाउन सकिने सांसद न्यौपानेले धारणा राखे । साथै, मस्र्याङ्दी, सेती, मादी र नारायणीजस्ता नदीले स्थानीय ऊर्जा, पर्यटन र विकासमा टेवा पुर्‍याउन सक्ने उनको भनाइ छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भावी पुस्ताका लागि भाषाको संरक्षण गरी आदिकवि भानुभक्तले भाषाका माध्यमबाट नेपालीहरूलाई एकताबद्ध गरेको बताए । साथै, लाखौँ नेपालीहरू विदेशिने क्रमसँगै अमेरिका, बेलायत र जापानजस्ता देशमा रहेका भावीपुस्ताले आफ्नो भाषिक र साहित्यिक जराको खोजी गर्ने भएकाले नेपाली सम्पदाको संरक्षणका लागि आजै बलियो आधार तयार पार्नु अपरिहार्य भएको उनले उल्लेख गरे ।