काठमाडौँ । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हारपछि ब्राजिल प्रतियोगिताबाट बाहिरिएसँगै उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्रा टुंगिएको बताएका हुन् ।
३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलको जर्सीमा आफूलाई नदेखिने बताए । न्यु जर्सीमा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । नेयमारले इन्जुरी समयको ९०+१०औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन ।
विश्वकपअघि चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए। प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार उनले क्रमशः टोलीमा पुनरागमन गरे पनि अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए। स्कटल्यान्ड र नर्वेविरुद्ध पनि उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए ।
सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै पुरुष फुटबलतर्फ ब्राजिलका सर्वाधिक गोलकर्ता बने । उनले चार संस्करणको फिफा विश्वकप खेले र एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे। यद्यपि विश्वकप उपाधि जित्ने उनको सपना भने पूरा हुन सकेन ।
नेयमारको अन्तर्राष्ट्रिय करियरमा सन् २०१३ को फिफा कन्फेडेरेसन कपको उपाधि र कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलोपटक स्वर्ण पदक दिलाएको उपलब्धि विशेष मानिन्छ । उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए ।
बारम्बारको चोटका बाबजुद ब्राजिलका लागि निर्णायक खेलाडीका रूपमा स्थापित नेयमारले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा पेनाल्टीमार्फत गोल गर्दै राष्ट्रिय टोलीको यात्रा समाप्त गरेका छन् । अन्तिम सिटी बज्नेबित्तिकै उनी भावुक बनेका थिए भने टोलीका खेलाडीहरूले उनलाई अँगालो हालेर सान्त्वना दिएका थिए ।












प्रतिक्रिया