काठमाडौँ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चलेको सहकारी ठगीसम्बन्धी मुद्दामा साउन २१ गतेका लागि तारिख दिएको छ ।
लामिछानेलाई साउन २१ गतेका लागि साधारण तारिख तोकिएको जानकारी अदालतका सूचना अधिकारी शिव खतिवडाले दिए । ‘उहाँलाई कानुन बमोजिम साधारण तारिख तोकिएको हो । त्यसदिन सुनुवाइ हुँदैन । उपस्थितचाहिँ हुनुपर्छ’, सूचना अधिकारी खतिवडाले भने ।
यसअघि अदालतले संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन सरकारलाई अनुमति दिएको थियो । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको मागबमोजिम संगठित अपराधको अभियोगपत्र संशोधनका लागि फिर्ता लिन अनुमति दिएको थियो । यो आदेशसँगै अब लामिछानेसहितका ३९ प्रतिवादीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा मात्र बाँकी रहेको छ ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न आदेशमा भनेको छ । लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोग भने कायमै छ । लामिछानेसँगै यसअघि अदालतमा हाजिर भएका अन्य प्रतिवादीलाई पनि साउन २१ गतेकै तारिख दिइएको छ ।
तारिख बुझ्न मुद्दामा प्रतिवादी रहेका पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे बुधबार ९असार ११० आफैँ अदालतमा उपस्थित भएका थिए । लामिछाने भने रास्वपा महाधिवेशनमा चितवनमै छन् ।
सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको लामिछानेसहितका प्रतिवादीको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णय अनुरुप जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग पत्र संशोधनको निवेदन दिएको थियो ।
तत्कालीन महान्यायधिवक्ता भण्डारीबाट सुरुमा २०८२ पुस ३० गते रविको हकमा मात्रै मुद्दा फिर्ताको निर्णय भएको थियो । रविको मुद्दा मात्र झिकेर संशोधन गर्न नपाइने भन्दै चौतर्फी आलोचनापछि पुनः २०८२ माघ २ गते मुद्दाका सबै प्रतिवादीहरूविरुद्धको ठगीतर्फको अभियोग दाबी यथावत् कायम राखेर ‘संगठित अपराध’ तर्फको अभियोग दाबी कायम नरहने गरी निर्णय भएको हो ।












प्रतिक्रिया