काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्र संवाद, बहस, छलफल, सहमति र सहभागितामा आधारित प्रणाली भएको उल्लेख गर्दै संसद्मा उठाइने जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई सुरुआतदेखि नै सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराए ।
मुलुकमा बढ्दो महङ्गी, गरिबी र जनजीवनको कठिन अवस्थाप्रति सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै नेता आङ्देम्बेले अव्यवस्थित तथा अतिक्रमित स्थानबाट व्यवस्थापन गरिएका भूमिहीन, सुकुमवासी, अशक्त, बालबालिका र सुत्केरीलाई उचित बसोबासको व्यवस्था गर्न माग गरे ।
सम्पत्ति छानबिन आयोग गठनलाई सकारात्मक कदम भने पनि विसं २०४७ देखि २०५९ सम्मको छानबिनसम्बन्धी लम्साल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बजेट अधिवेशनबारे उनले पूर्वबजेट छलफलका लागि संसद्ले पर्याप्त समय नपाएको गुनासो गरे । नीति तथा कार्यक्रम र बजेटबीच तालमेलको अभाव रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले स्रोत सुनिश्चितता, पुँजीगत खर्च वृद्धि तथा सार्वजनिक खर्चको प्रभावकारितामा स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे ।
उनले ‘सपना बाँड्ने होइन, परिणाम दिने बजेट आवश्यक रहेको’ उल्लेख गर्दै सार्वजनिक ऋणको भार र कमजोर राजस्व अवस्थाले अर्थतन्त्र चुनौतीपूर्ण बनेको बताए । संविधान संशोधनका विषयमा नेता आङ्देम्बेले व्यापक राष्ट्रिय सहमति, विज्ञता र सहभागिता आवश्यक रहेको धारणा राखे ।
भारतसँगको खुला सीमासम्बन्धी व्यवस्थामा व्यावहारिक दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै उनले सीमावर्ती जनजीवनलाई असर पर्नेगरी नीतिगत निर्णय नगर्न आग्रह गरे । नेता आङ्देम्बेले जलवायु परिवर्तनका कारण विपद्का जोखिम बढिरहेका बेला पर्याप्त पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए












प्रतिक्रिया