सियोल । दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर कोरियाले लगातार दोस्रो दिन समुद्रतर्फ छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । कूटनीतिक कटुता बढिरहेका बेला भएको यस कदमले कोरियाली प्रायद्वीपमा तनाव थप चर्किने सङ्केत दिएको छ ।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार बुधबार उत्तर कोरियाको पूर्वी तटीय वोनसन क्षेत्रबाट प्रक्षेपित क्षेप्यास्त्रहरू करिब २४० किलोमिटर टाढासम्म उडेर पूर्वी जलक्षेत्रमा खसेका छन् । दक्षिण कोरियाले अमेरिकासँगको आफ्नो सुदृढ सैन्य गठबन्धनमार्फत यस्ता कुनै पनि उक्साहटको कडा प्रतिकार गर्न तयार रहेको स्पष्ट पारेको छ ।
यसअघि मङ्गलबार पनि उत्तर कोरियाले राजधानी आसपासबाट अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको थियो । उक्त प्रक्षेपणको विवरण दक्षिण कोरिया र अमेरिकी गुप्तचर निकायहरूले अझै विश्लेषण गरिरहेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले सो क्षेप्यास्त्र प्रारम्भिक चरणमै असामान्य रूपमा हराएको र सम्भवतः असफल भएको उल्लेख गरेका छन् ।
यी लगातार प्रक्षेपणहरू उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै इच्छा नरहेको स्पष्ट पारेपछि भएका हुन् । दक्षिण कोरियाको वर्तमान सरकारले लामो समयदेखि संवाद पुनःस्थापना गर्ने प्रयास गर्दै आएको भए पनि प्योङयाङले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
मङ्गलबार राति उत्तर कोरियाको विदेश मन्त्रालयका प्रथम उपमन्त्री जाङ कुम चोलले दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण राष्ट्र’ को संज्ञा दिँदै कडा टिप्पणी गरे । उनले उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दिएको हालैको बयानलाई उद्धृत गर्दै दक्षिण कोरियालाई ‘विश्वलाई चकित पार्ने मूर्ख’ भन्दै उपहास गरे ।
यसअघि दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियामाथि गरिएको भनिएको नागरिक ड्रोन उडानप्रति खेद व्यक्त गरेको थियो । त्यसको जवाफमा किम यो जोङले उहाँको इमानदारीको प्रशंसा गरे पनि यस्ता गतिविधि दोहोरिए प्रतिकार गर्ने चेतावनी दिएको थियो । दक्षिण कोरियाली पक्षले उक्त प्रतिक्रियालाई सम्बन्ध सुधारतर्फ सानो सङ्केतका रूपमा व्याख्या गरेको थियो, तर त्यसलगत्तै आएका उत्तर कोरियाली कठोर अभिव्यक्तिले त्यो आशा कमजोर बनाएको छ ।
जाङ कुम चोलले आफ्नो टिप्पणीलाई चेतावनीका रूपमा प्रस्तुत गर्दै दक्षिण कोरियाले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रस्तावमा सह–प्रायोजन गरेको विषयमा पनि आलोचना गरे । उनले अपमानजनक शब्द प्रयोग गर्दै दक्षिण कोरियामाथि तीव्र असन्तुष्टि व्यक्त गरे ।
सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि उत्तर कोरिया अमेरिका र दक्षिण कोरियासँग कूटनीतिक संवादबाट टाढिँदै आएको छ । त्यसपछि उसले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्र बनाएको छ । फेब्रुअरीमा सत्तारूढ वर्कर्स पार्टीको बैठकमा किम जोङ–उनले उक्साएमा दक्षिण कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएको थियो । यद्यपि उहाँले अमेरिकासँग वार्ताको ढोका भने पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिए ।
हालै उत्तर कोरियाले ठोस इन्धन प्रयोग गर्ने उन्नत इन्जिन परीक्षण गरेको दाबी पनि गरेको छ, जसलाई उसले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धि भनेको छ । यस्ता मिसाइलहरू तरल इन्धनयुक्त प्रणालीभन्दा छिटो तयारी गर्न सकिने र सजिलै लुकाउन सकिने भएकाले बढी खतरनाक मानिन्छन् ।
दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार उक्त परीक्षण सम्भवतः बहु–आणविक वारहेड बोक्न सक्ने शक्तिशाली अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल विकाससँग सम्बन्धित हुन सक्छ । यद्यपि विज्ञहरू उत्तर कोरियाले अझै पूर्ण रूपमा यस्तो प्रविधिमा महारत हासिल गरिसकेकोमा शङ्का व्यक्त गर्छन् ।
लगातार प्रक्षेपण, कडा वक्तव्य र सैन्य क्षमता विस्तारका सङ्केतहरूले उत्तर कोरिया र दक्षिण कोरियाबीचको दूरी झन् बढ्दै गएको देखिएको छ, जसले निकट भविष्यमा वार्ताको सम्भावना झन् कमजोर बनाएको छ ।












प्रतिक्रिया