मुख्य समाचार

एमालेले राष्ट्रिय सभाबाट पनि माग्यो ओली-लेखकको रिहाइ

एमालेले राष्ट्रिय सभाबाट पनि माग्यो ओली-लेखकको रिहाइ


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय सभा बैठकमा पनि अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । एमाले सांसद् प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाए ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई बधाई दिँदै सरकारको काम गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पारे ।

Advertisement

सांसद् दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो गरी’ गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सन्दर्भमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले ‘मिथ्याङ्क र पूर्वाग्रहमा आधारित’ भन्दै खारेजीको मागसमेत उनले गरे ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकको बिनासर्त तत्काल रिहाइ गर्न, पूर्वाग्रही गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अविलम्ब खारेज गर्न, मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय फिर्ता लिन, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न र गलत प्रतिवेदन ल्याउने आयोगका अध्यक्ष र सदस्यहरूमाथि छानबिन र कारबाही गर्न माग गरे ।

‘दुई पटक मृगौला प्रत्यारोपण गरेका र बुढेसकालको शरीर भएका व्यक्तित्वलाई बुवाको काजक्रिया सकिन नपाउँदै अपमानजनक ढङ्गले गिरफ्तार गरिनु निर्दयी र आपराधिक मनोवृत्ति हो,’ उनले भने ।

सांसद् दंगालले सरकारको दमनकारी नीतिको विरोध गर्दै देशभर एमाले कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको समेत भर्त्सना पनि गरे ।