काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् ।
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भेट गर्दै सभापति थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी पनि दिए ।
एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका मानिसहरूबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै नेपाली कांग्रेसको ध्यानाकर्षण गराए ।
नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको जानकारी पनि उनले दिए। एएनओका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले नेपाली पनका माध्यमबाट विश्वभरको नेपाली मनहरू जोड्न नेपाल सरकार र दलहरूले उचित कार्यक्रमहरू ल्याउनुपर्ने धारणा राखेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपाङ्ग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफल कार्यक्रममा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसहरू जुनसुकै बेला जे पनि हुनसक्ने त्रासदी अवस्थामा भएकाले उनीहरूको सुरक्षा र उद्धारको लागि विपक्षी दलको हैसियतले नेपाली कांग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गरेको छ ।
एएनओले सभापति थापालाई दिएको ध्यानाकर्षण पत्रमा लाखौँ लाखको संख्यामा रहेका उनीहरूको उद्धार र उचित रोजगारीको व्यवस्थाका लागि सशक्त आवाज उठाइदिन आग्रह गर्दै युक्रेन र रुसकाबीच चलिरहेको युद्धमा दुवै पक्षका सेनामा भर्ती भएका नेपालीहरूको तत्काल पहिचान गरी उनीहरूलाई स्वदेश फर्काउन गम्भीर कूटनैतिक प्रयास आवश्यक रहेकोतर्फ सशक्त आवाज उठ्नु जरुरी भएकोले गम्भीर हुन आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ, ‘यसमा सभापतिज्यू र नेपाली कांग्रेसले उचित कदम चाल्नेछ भन्ने विश्वास लिएका छौँ । साथै उनीहरूको उचित रोजगारीको व्यवस्था गर्ने चुनौतीपूर्ण कार्यमा समेत सशक्त आवाज उठाउनु जरुरी भएकोतर्फ सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
एएनओले विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका, नेपालीभाषीहरुका लागि गैरआवासीय नेपालीसम्बन्धी नेपालको व्यवस्थाले समेट्न असमर्थ रहेको विद्यमान अवस्थामा संसारभर छरिएर रहेका नेपालीमूलका, नेपाली जातिका नेपालीहरूको बौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई नेपालीको पहिचानसहित नेपालसँग सामाजिक, आर्थिक र सांस्कृतिकरुपले जोड्नु अहिलेको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएको एएनओका महासचिव चूडामणि भट्टराईले जानकारी दिए ।
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) नेपाली मूलका मानिसहरूको एक साझा अभियानका रूपमा सुरु भएको छ । यही अभियानलाई अघि बढाउन गत मार्च २०२४ मा अमेरिका निवासी डिल्लीराम अधिकारीको अध्यक्षतामा २७ देशका नेपालीहरू थाइल्याण्डको राजधानी बैंककमा भेला भई केन्द्रीय कमिटी गठन गरेयता विभिन्न ७ मुलुकहरूमा राष्ट्रिय कमिटीसमेत बनिसकेका छन् ।












प्रतिक्रिया