मुख्य समाचार

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिस्पर्धी पार्टीसँग अल्मलिएर कांग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस नेपालीको स्वतन्त्रता र समानताका निर्माण भएको पार्टी भएकाले जनताको मुद्दा बिर्सन नहुने बताए ।

Advertisement

“अबको पाँच वर्ष सफलतापूर्वक सरकार सञ्चालन हुने विश्वास छ, अनेकन अप्ठ्यारोकाबीच मत प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै निर्वाचित हुने सबै उम्मेदवारलाई बधाई ज्ञापन गर्दछु,” सभापति थापाले भने । उनले विशेष महाधिवेशन नगरी पार्टी निर्वाचनमा गएको भए कांग्रेसले जनताको प्रतिरोधको सामना गर्न कठिनाई हुन्थ्यो भने ।

“विशेष महाधिवेशनसँग असन्तुष्टि होलान्, निर्वाचनमा कांग्रेसको चिह्न लिएर उम्मेदवार भएको व्यक्तिलाई मत नमाग्ने र नहाल्ने विषयमा हामीले नोटिसमा राखेका छौँ, आफ्नो निर्वाचन क्षेत्रमा पाँच÷छ पटक उम्मेदवार भएको व्यक्तिले पार्टीको पक्षमा मत माग्नुपर्दैन ? यो विषयमा महाधिवेशनले समीक्षा गर्छ, तर म सिङ्गै कांग्रेस पार्टीको सभापति हो, सबैसँग छलफल गर्नेछु,” उनले भने ।

सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकका विशिष्ट अपेक्षा रहेको उल्लेख गर्दै अख्तियारको दुरुपयोग एवं नीतिगत भ्रष्टाचारको विषयमा प्रष्ट छानबिन गरेर जानुपर्छ भन्नेमा जोड दिए ।

नेपालको लोकतन्त्र र विविधताका विषयमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिँदै सभापति थापाले लोकतान्त्रिक व्यवस्थाले दिएका अधिकार कायम राख्न कांग्रेसले प्रतिबद्ध भएर काम गर्नुपर्छ भने । “संविधानअनुसार प्रदत्त स्वतन्त्र, समानता र स्वयत्ततामा कुनै आँच आउनु हुँदैन, कांग्रेस यसमा प्रतिबद्ध छ”, उनले भने, “संविधानका आधारभूत मूल्य मान्यतालाई फराकिलो बनाउन संविधान संशोधन गर्नु आवश्यक छ, संविधानको संशोधन र परिमार्जनको विषयमा पार्टीभित्र छलफल गरेर समिति बनाउँछौँं ।”

मध्यपूर्वमा भएको तनावले नेपाललाई नदेखिने गरी समस्यामा पारेको भन्दै सभापति थापाले नेपालको अर्थतन्त्र र वैदेशिक रोजगारीमा देखिएका समस्या हल गर्ने विषयमा समाधान गर्दै जानुपर्ने उल्लेख गरे ।