मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिएकी निशा डाँगी

जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिएकी निशा डाँगी


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

झापा । मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेका बेला चार वर्षअघि निशा डाँगीको विद्रोही युवा मन राजनीतितर्फ डोरियो । जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि गोलबद्ध हुने कठिन तर चुनौतीपूर्ण बाटोमा होमिइन् ।

निराशालाई आशामा बदल्ने अठोटका साथ राजनीतिमा होमिएकी २९ वर्षीया निशा डाँगी झापा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बनेर यही फागुन २१ गते सम्पन्न निर्वाचनमा ४५ हजार ६८० मत प्राप्त गरी प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् ।

Advertisement

डाँगीको प्रतिनिधिसभामा यो दोस्रो यात्रा हो । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी २५ वर्षको उमेरमा समानुपातिकतर्फ निर्वाचित हुँदा मुलुककै कान्छी सांसद् भएकी थिइन् । समानुपातिक सांसदका रूपमा संसद्मा प्रवेश गरेकी उनले युवाहरूको समस्या समाधानका लागि सदनमा निरन्तर आवाज बुलन्द गरिरहिन् ।

क्षमता र सक्रियताकै कारण जनताको मन जित्न सफल सांसद डाँगीलाई यसपटकको आमनिर्वाचनको परिणामले थप परिपक्व र जनअनुमोदित नेताका रूपमा स्थापित गरिदिएको छ । युवाहरुको प्रतिनिधि बनेर राजनीतिक क्षितिजमा उदाएकी उनी भद्रपुर नगरपालिका–२ की बासिन्दा हुन् । सांसद डाँगी रास्वपाको हाल केन्द्रीय सदस्य हुन् ।

सांसद् डाँगीले यसअघिको प्रतिनिधिसभामा पार्टीको सचेतकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छन् । भीमबहादुर र देवीमाया डाँगीको सुपुत्रीका रूपमा उनको जन्म २०५३ मङ्सिर १६ गते झापाको भद्रपुरमा भएको हो । पूर्णकालीन राजनीतिमा आउनुभन्दा अघि पाँच वर्षसम्म उनी पत्रकारिता क्षेत्रमा क्रियाशील थिइन् ।

पत्रकारिताबाट राजनीतिमा होमिँदा डाँगीलाई समाज, राजनीति र नागरिकका समस्या बुझ्न सहज भएको थियो । उनी भपन्छन्, “पत्रकारिताले मलाई समाज, नागरिकका वास्तविक समस्या र राजनीतिको भित्री पाटो बुझ्न सघायो ।”

निर्वाचनताका जनताको घरदैलोमा पुग्दा डाँगीले झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकतालाई बुझ्ने तथा समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसर प्राप्त गरिन् । भ्रष्टाचार, नातावाद र ढिलासुस्तीको चर्को आलोचक रहँदै आएकी उहाँ इमान्दार बनेर सुशासन कायम गर्न आफूहरूलाई मतादेश प्राप्त भएको मान्छन् ।

“हामीलाई प्राप्त मतादेश इमानदारिता र सुशासनका लागि हो”, सांसद् डाँगी दृढताका साथ भन्छिन्, “म आफ्नो भिजन र मिसनमा प्रष्ट छु । अबको यात्रामा मप्रति व्यक्त भएको जनविश्वास र भरोसालाई खेर जाने दिने छैन । देशको हितमा काम गर्नेछु ।”

देश र जनताको हितमा सही नीति निर्माण र निर्णय गर्ने स्थानमा पुगेकी सांसद डाँगीमा युवा जोश र जाँगरका साथै राजनीतिक अनुभव र परिपक्वतासमेत उत्तिकै रहेको छ । युवा जोश, शैक्षिक निखार र संसदीय अनुभव प्राप्त उनीबाट झापा–१ का जनताले मात्र होइन, जेनजी आन्दोलनपछि परिवर्तन चाहने सिङ्गो देशका युवाले ठूलो अपेक्षा राखेका छन् ।

शेयर गर्नुहोस:

162
Shares