भैरहवा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताएका छन् ।
रुपन्देहीको भैरहवामा बिहीबार आयोजित एक कार्यक्रममा उनले सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी रहेको बताए । ‘तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी छ । यसका लागि कांग्रेसले संकल्प गरिसकेको छ ।’
उपसभापति शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताए । राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न राजनीतिक दलहरू आत्मसुधारमा लाग्नुपर्ने र त्यसको सुरुआत कांग्रेसले गरिसकेको उनको दाबी थियो ।
पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै शर्माले गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह गरे । मुलुकको आर्थिक संकट र युवा पुस्तामा देखिएको नैराश्यताप्रति चिन्ता व्यक्त गर्दै उनले नीतिगत सुधारको आवश्यकता औँल्याए ।
सत्ता समीकरणका खेलहरूभन्दा माथि उठेर जनताको जीविकोपार्जनमा सुधार ल्याउने गरी सरकारले काम गर्नुपर्ने र त्यसमा कांग्रेसले स्पष्ट दृष्टिकोण अगाडि सारेर काम गर्ने प्रतिबद्धता जनाए । नेता बालकृष्ण खाँणले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती देखिएको उल्लेख गर्दै यसको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्ने बताए ।












प्रतिक्रिया