मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘नयाँ वा पुराना दलभन्दा पनि स्पष्ट एजेन्डामा आधारित प्रतिस्पर्धा हुनुपर्छ’

‘नयाँ वा पुराना दलभन्दा पनि स्पष्ट एजेन्डामा आधारित प्रतिस्पर्धा हुनुपर्छ’


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन पुराना वा नयाँ दलभन्दा पनि एजेन्डामा आधारित प्रतिस्पर्धा हुनुपर्ने बताएकी छन् ।
नेपाल कानुन समाजद्वारा आयोजित ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनको वातावरण र निर्वाचनपछिको राजनीतिक परिदृश्य’ विषयक कार्यक्रममा उनले पुराना दलहरू लोकतन्त्र, नागरिक अधिकार र मुलुकको स्वाधीनताका लागि स्थापना भएको स्मरण गराउँदै नयाँ पुरानो दलको बहसभन्दा एजेन्डाको बहस महत्त्वपूर्ण भएको बताइन् ।
“एजेन्डा पुरानो वा नयाँ भन्ने हुँदैन । अहिलेको निर्वाचनमा पनि पार्टीको उमेर वा नाममा होइन, घोषणापत्र र कार्ययोजनामा आधारित हुनेछ र हुनुपर्छ”, उपसभापति भुसालले भनिन्, “पार्टीको क्याडरले मात्र होइन, आम मतदाताले एजेन्डा हेरेर भोट दिन्छन् । कुन पार्टीले पाँच वर्षभित्र आफ्नो प्रतिबद्धता पूरा गर्नसक्छ भन्ने कुरा नै निर्णायक हुन्छ ।”
कार्यक्रममा पूर्वमुख्यसचिव, पूर्व कानुन सचिव तथा पूर्व उच्च अधिकारीहरूले निर्वाचन सुरक्षामा देखिएका चुनौती, मिथ्या सूचना, दुष्प्रचार, व्यक्तिकेन्द्रित चुनावी प्रचार र कानुन उल्लङ्घनमा दण्डहीनतालगायत विषयमा सचेत गराए ।
पूर्वमुख्यसचिव एकनाथ अर्यालले निर्वाचन नजिकिँदै जाँदा सुरक्षासम्बन्धी मनोवैज्ञानिक डरबारे उल्लेख गर्दै यसलाई हल्का रूपमा लिन नहुने सुझाव प्रस्तुत गरे । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल बढाउनपर्नेमा जोड दिए । “काम गरे पनि जस नपाउने र पछि विभिन्न निकायबाट छानबिनको डर रहने अवस्थाले सुरक्षामा चुनौती थपिन सक्छ । त्यसैले सुरक्षाकर्मीको मनोबल बढाउनुपर्छ”, अर्यालले भने ।
एक सय ६५ वटै निर्वाचन क्षेत्रमा स्पष्ट एजेन्डासहित उम्मेदवार नदेखिएको टिप्पणी गर्दै दलहरूले सङ्घीयताको संरचना, समानुपातिक प्रणाली, राष्ट्रियसभा, सांसदको योग्यता, सेवा प्रवाह र संविधान संशोधनजस्ता विषय चुनावी बहसको केन्द्रमा आउन नसकेको उल्लेख गर्दै उनले एजेन्डामा आधारित राजनीतिक अभ्यासमा जोड दिनुपर्ने बताए ।
पूर्वमुख्यसचिव शङ्कर दास बैरागीले निर्वाचनको निष्पक्षता, विश्वसनीयता र पवित्रतामाथि असर पार्ने तत्वहरूबारे राजनीतिक दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले सरकारको तटस्थतामा जोड दिँदै मिडिया ‘बुलिङ’, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत हुने दुष्प्रचार तथा ‘मनि र मसल पावर’को प्रभावलाई चुनौतीका रूपमा औँल्याए ।
सङ्घीय संसद् सचिवालयका पूर्वमहासचिव डा भरतराज गौतमले विगतका घटनाबाट पाठ सिक्दै सुरक्षा व्यवस्थापन क्षमता गुणात्मक रूपमा बलियो बनाउनुपर्ने सुझाव दिए । पूर्वकानुन सचिव धनराज ज्ञवालीले चुनावअघि वा पछि भन्ने बहसभन्दा पनि जनमतका आधारमा सुधारको बाटो खोल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा संविधानसभा सदस्य डा खिमलाल देवकोटाले नयाँ पुराना सबै राजनीतिक दलमा चुनावको उत्साह समान रूपमा रहेको चर्चा गर्दै कसैले पनि संशय राख्न नहुने धारणा राखे ।
यस्तै, सांसद तारामान स्वार र पूर्वसांसद नवराज सिलवालले पनि एजेन्डामा आधारित राजनीतिको आवश्यकता औँल्याए । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक सिलवालले कानुन उल्लङ्घनका घटनामा समान व्यवहार नहुँदा दण्डहीनताको अवस्था सिर्जना भएको बताए ।

शेयर गर्नुहोस:

27
Shares