काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका बताएका छन् ।
सहिद दिवसका अवसरमा आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ मा आयोजित ‘जेन जेड’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्रता भएको धारणा राखेका हुन् ।
गृहमन्त्री अर्यालले मुलुकमा लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्ट पारे । उनले विभिन्न कालखण्डमा राष्ट्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले भने, “सहिदहरूको रगतले सिञ्चित यो भूमि आज स्वतन्त्र छ । उनीहरूको बलिदानकै कारण संविधानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । सहिदहरूले देखाएका सपना साकार पार्न वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध छ ।”
गृहमन्त्री अर्यालले सहिद परिवारको संरक्षण, सम्मान र सहयोगलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यको तर्फबाट आवश्यक सहयोग र सम्मान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सहिद परिवारले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको उनको भनाइ छ ।
गृहमन्त्री अर्यालले वर्तमान सरकार नागरिकमैत्री सरकार भएको उल्लेख गर्दै यो सरकारले सधैँ नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कठिन परिस्थितिमा अभिभावकविहीन महसुस गरेका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।
उनले सुशासन, शान्ति सुरक्षा, सामाजिक न्याय र नागरिकको जीवनस्तर उकास्ने कार्यमा सरकार केन्द्रित रहेको जिकिर गरेका छन् । सहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै त्यसबाट प्रेरणा लिई राष्ट्र निर्माणमा सबै नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सहिद परिवारका सदस्य, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।












प्रतिक्रिया