काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई अघि बढाउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन् ।
मङ्गलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढ्नेभन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहरूलाई देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको जिकिर गरे । उनले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिस्ट र वामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई तीव्रता दिनुपरेको उल्लेख गरे ।
“अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा सामाज निर्माणको निमित्त भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनको विरुद्ध आर्थिक विकास निम्ति अभियान चलाउनेभन्दा पनि स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरेको तपाईं हामीले देखेका छौँ,” प्रचण्डले भने ।
उनले कम्युनिस्ट, देशभक्त शक्तिहरूको एकता प्रक्रियाले मात्रै मुलुकलाई सङ्कटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले आफूहरूको पार्टी एकता प्रक्रियामा समाहित भएर अघि बढ्नु जरूरी रहेको बताए । –एनएएन












प्रतिक्रिया