काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को प्रति ग्रहण गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने क्रममा राज्यका जिम्मेवार सबै संस्था र निकायबीचको आपसी सहयोग, सहकार्य, समन्वय हुन आवश्यक रहेको बताए।
निर्वाचनको वातावरण बनाउन आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै आयोगबाट जारी हुने निर्वाचन आचारसंहिता र आफ्नो निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी निर्वाचन सफल बनाउने राष्ट्रिय अभियानमा रासस क्रियाशील हुने विश्वास व्यक्त गरे।
आसन्न निर्वाचनका क्रममा आचारसंहिता जारी गरी कार्यान्वयनमा गएकामा खुसी व्यक्त गर्दै सत्यतत्थ्य, निष्पक्ष, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राससबाट अझ बढी भूमिका अपेक्षा गरिएको बताए।
निर्वाचन आयुक्त सगुनशमशेर जबराले मुलुकका आमसञ्चारमाध्यमलाई सहयोग पुग्नेगरी निर्वाचन लक्षित समाचार सामग्री सङ्कलन तथा सम्प्रेषणमा रासस केन्द्रित हुने विश्वास व्यक्त गर्दै आसन्न निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन सम्बद्ध सबैसँग अनुरोध गरे।
उनले आचारसंहिता उल्लङ्घन हुन नदिन, मतदातासँग सम्बन्धित शिक्षा र सूचना सम्प्रेषण गर्न तथा सही समाचार सही समयमा दिन आमसञ्चारमाध्यको ध्यानाकर्षण गरे ।











प्रतिक्रिया