मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा

एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का नवनिर्वाचित महासचिव शङ्कर पोखरेल राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेता हुन् । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित उनी मालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को कुशल व्याख्याताको रुपमासमेत चिनिन्छन् ।

महासचिव पोखरेलको जन्म विक्रम सम्वत् २०१९ फागुन १५ गते हालको लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा भएको हो । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेका उनले दाङको तुल्सीपुरस्थित महेन्द्र मावि टारीगाउँमा एसएलसी परीक्षाको तयारी गर्दागर्दै तत्कालीन शासन व्यवस्थाका कारण पढाइ छोड्न बाध्य भए । त्यसपछि भारतको बनारसबाट ‘प्राइभेट’ परीक्षार्थीको रुपमा ‘बोर्ड’ परीक्षा उत्तीर्ण गरेका पोखरेलले व्यवस्थापन सङ्कायमा स्नातक तहको अध्ययन बनारसबाटै गरे ।

Advertisement

विसंं २०३५ मा विद्यार्थी राजनीतिमा होमिएका पोखरेल २०३६ साल र २०३७ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए । यसक्रममा २०३७ सालमा उनी पहिलोपटक जेल परे । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पटक–पटक पक्राउ परेका नेता पोखरेल भारतमा अध्ययनरत छँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठनगरी प्रवासी विद्यार्थीको हकहितको पक्षमा सङ्घर्षरत थिए ।

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्षलगायतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका पोखरेलले नेपाल फर्किएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बागमती अञ्चल कमिटीमा रहेर काम गरे । राजनीतिक यात्राका क्रममा तत्कालीन पार्टी नेता मदन भण्डारीसँग नजिक भई उनी पार्टी गतिविधिमा सक्रिय भए ।

विद्यार्थी फाँटमा क्रियाशील भइरहेको अवस्थामा २०४५ सालमा नेता पोखरेल देशको सबैभन्दा ठूलो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भए । उनी अनेरास्ववियुको उपाध्यक्ष हुँदै २०४७ सालमा माले–माक्र्सवादी एकतासँगै भएको ‘नेप्रवियु’सँगको एकतापछि अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । विद्यार्थी नेताको छबि बनाउन सफल नेता पोखरेल २०५१ सालमा प्रतिनिधिसभा सदस्यको जिम्मेवारीसँगै पार्टी राजनीतिमा क्रियाशील भए ।

नेता पोखरेलले २०५४ सालमा तत्कालीन विद्यार्थी नेत्री सुजिता शाक्यसँग जनवादी विवाह गरेका थिए । उनका दुई छोरी छन् । एमालेको २०५४ सालमा नेपालगञ्जमा सम्पन्न छैठौंँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका पोखरेल २०५९ सालमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनबाट पुनःकेन्द्रीय सदस्य बने । विसं २०६५ मा बुटवलमा सम्पन्न आठौंँ महाधिवेशनबाट सचिवमा निर्वाचित पोखरेल २०७१ सालमा सम्पन्न नवौँं महाधिवेशनपछि पार्टी स्थायी कमिटी सदस्य भए ।

नवनिर्वाचित महासचिव पोखरेल ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले २०६२/०६३ सालको जनआन्दोलनका क्रममा राजधानी काठमाडौँमा सञ्चालित आन्दोलनको नेतृत्व गरेका थिए । पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) नेतृत्वको सरकारपछि २०६६ सालमा गठन भएको नेकपा (एमाले) नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री बने ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । लामो समय पार्टी स्कुल विभागको जिम्मेवारीमा रहेर उनले पार्टीको प्रशिक्षण कार्यक्रममा सक्रिय भए ।

नेता पोखरेल २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनबाट सर्वसम्मतिले महासचिव चुुनिए । एमालेको ११औँ महाधिवेशनमा प्रत्यासी नेता सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गर्दै दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् ।

शेयर गर्नुहोस:

135
Shares