गण्डकी । अबको ८४ दिनपछि प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आगामी फागुन २१ गतेलाई घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेशमा राजनीतिक गतिविधि बढेको छ । दलहरु चुनावलक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन् । ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्ताएको दलीय गतिविधि पुनः पुरानै लयमा फर्किएको हो ।
यसअघिको प्रतिनिधिसमा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उमेदवार सिफारिससँगै साङ्गठानिक गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेस, गण्डकीका महामन्त्री विष्णु लामिछानेले उमेदवार सिफारिस, कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण र सङ्गठन विस्तार सँगसँगै भइरहेको बताए ।
“जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेद्वारको नाम सिफारिस गर्ने काम भइरहेको छ”, उनले भने, “निर्वाचनलाई लक्षित गरी जिल्ला र प्रदेशस्तरमा पार्टीका भेला, बैठकहरु भइरहेका छन्, पार्टीको महाधिवेशन नजिकिएकाले राजनीतिक माहोल बढेको छ ।”
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुँदैछ । वडा, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन हुने भएकाले यतिबेला कांग्रेसभित्रको आन्तरिक राजनीति गर्माएको महामन्त्री लामिछानेले बताए । पार्टी महाधिवेशनसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा प्रदेशको सिङ्गो पार्टी पङ्क्ति जुटेको उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ११औँ महाधिवेशनको सङ्घारमा छ । महाधिवेशन प्रतिनिधिसहित पार्टीका नेता, कार्यकर्ता राजधानी पुग्ने क्रम सुरू भएको छ । शनिबारदेखि सुरू हुने महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिलाई चलायमान बनाएको नेकपा (एमाले), बागलुङका अध्यक्ष हिराबहादुर केसीले बताए । “एमालेको महाधिवेशनले राष्ट्रिय राजनीतिमा प्रभाव त राख्छ नै, तर मुलभूतरूपमा एमालेको आन्तरिक जीवनमा यो महाधिवेशन धेरै महत्वपूर्ण छ”, उनले भने ।
महाधिवेशनको घोषणाले एमालेलाई गतिशिल बनाएको र यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकताको भावनालाई थप सुदृढ पार्ने अध्यक्ष केसीले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भइसकेको सन्दर्भमा दलका चुनावी गतिविधि स्वाभाविक रुपमा बढ्ने उनको भनाइ छ । राजनीतिक गतिविधि सही ढङ्गले अगाडि बढ्दा मुलुक र लोकतन्त्रको रक्षा हुने अध्यक्ष केसीले बताए ।
विभिन्न दल र समूहहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी यतिबेला राजनीनि गतिविधिमा सक्रिय छ । उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ले गण्डकी प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा यही मङ्सिर १४ गते पोखरामा सम्पन्न भएपछि अहिले जिल्लास्तरमा एकता सन्देश सभा भइरहेको जानकारी दिए । उनका अनुसार केही दिनअघि म्याग्दीमा एकता सन्देश सभा भइसकेको छ ।
गोरखा र लमजुङमा बिहीबार एकता सन्देश सम्पन्न भएको छ । तनहुँ, पर्वत र स्याङ्जामा शुक्रबार, बागलुङ र नवलपुरमा शनिबार एकता सन्देश सभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताए । एकता सन्देश सभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउन काम नेकपाले गरिरहेको उनको भनाइ छ । “नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रुपमा प्रवाह भइरहेको छ, यसले निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी, बागलुङका जिल्ला सदस्य राजेन्द्र शर्माले निर्वाचन केन्द्रित भएर पार्टीका गतिविधि अगाडि बढाइएको बताए । “सङ्गठन विस्तारसँगै चुनावी तयारीमा जुटेका छौँ, १६ वटा वडाका अधिवेशन सम्पन्न गरिएको छ”, उनले भने, “निर्वाचनको वातावरण बन्दैछ, दलहरु आआफ्नो तयारीमा लागेका छन् ।”
उनले रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ बागलुङबाट चार जना आकाङ्क्षी उमेदवारको नाम पठाइएको जानकारी दिए । “प्रत्यक्षतर्फको निर्वाचनका आकाङ्क्षी उम्मेद्वारहरुको आवदेन लिने काम भइरहेको छ”, उनले भने, “जिल्लाबाट नामावली पठाउँछौँ, उमेदवार छनोटको अन्तिम निर्णय पार्टी केन्द्रले गर्छ ।” गण्डकी प्रदेशमा क्रियाशील अन्य राजनीतिक दलहरु पनि चुनावको तयारीमा जुट्न थालेका छन् ।












प्रतिक्रिया