मोरङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले वर्तमान सरकारले स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदृढ गर्नुपर्ने बताएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी स.घ, कृषि विकास बैंकको दुईदिने आठौँ केन्द्रीय परिषद् भेलाको बिहीबार विराटनगरमा उद्घाटन गर्दै उपसभापति गुरूङले दलहरुलाई कुनै अवरोधबिना आफ्ना गतिविधि गर्ने व्यवस्था भएमा मात्र निर्वाचन सफल एवम् शान्तिपूर्ण रुपमा हुने धारणा राखे । ट्रेड युनियन प्रजातन्त्रको खम्बा भएको चर्चा गर्दै उनले कर्मचारीको ठूलो आन्दोलनका कारण मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको धारणा राखे ।
कृषि विकास बैंकले किसानको हितमा कार्य गर्नुपर्नेमा उपसभापति गुरूङले जोड दिँदै यसमा सरकारको सधैँ साथ र सहयोग रहने विचार राखे । उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका मुलुकका महत्त्वपूर्ण भवन तोडफोड एवम् आगजनी गर्ने कार्यमा जेनजीको कुनै संलग्नता नभएको भन्दै यस कार्यमा अन्य शक्ति लागेको आरोप लगाए ।
बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले कर्मचारीको वृत्तिविकासमा बैंक सदैव सकारात्मक रहेको बताए । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले निर्वाचनलाई सफल बनाउने जिम्मेवारी सरकारको रहेको विचार राखे ।
नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रामबहादुर रावल, वरिष्ठ उपाध्यक्ष सिद्धिलाल मगिया, कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष जानुका पौडेल, कर्मचारी संघका महासचिव लेखनाथ घिमिरे, कर्मचारी सङ्गठनका अध्यक्ष इन्द्रमणि घिमिरेलगायतले कर्मचारीको वृत्तिविकास एवम् करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा सुझाव दिए ।
सो अवसरमा उपसभापति गुरूङले संघद्वारा प्रकाशित स्मारिका र गीत विमोचन गरेका थिए । परिषद्को भेलामा मुलुकका ७७ जिल्लाका ९०० कर्मचारीको सहभागिता रहेको छ ।






प्रतिक्रिया