मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

काभ्रेमा तोडफोड-आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी

काभ्रेमा तोडफोड-आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो साता भएको जेनजी आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रे प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरू गरिएको जनाइएको छ । कार्यालयले हालसम्म जुटेको प्रमाणका आधारमा थप अनुसन्धान गरी पक्राउ गर्नेसमेतको योजना बनाएको हो ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । जाहेरीबाहेक अन्य सरकारी संरचनामा क्षति पुगेको तथा पु¥याउनेबारे अनुगमन, निरीक्षण तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन विष्टले बताए ।

उनका अनुसार ठूला चाडबाडले केही सुस्ताए पनि अब अनुसन्धानलाई तीव्रता दिइनेछ । प्रहरीले विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यस कार्यमा संलग्न गराई उक्साउनेको पहिचान र प्रमाणका आधारमा पक्राउ गर्ने योजना बनाएको हो ।

गत भदौ २४ गतेको ध्वंसात्मक घटनामा काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान गरी कारबाही गर्न सुरक्षा निकायमा पीडितले जाहेरी दर्ता गराएका हुन् । उक्त जाहेरीमा घटनामा संलग्न तथा घटनाको वातावरण सिर्जना गर्ने, गराउनेका बारेमासमेत प्रमाण पेस गरिएको प्रहरीले जनाएको छ ।

विशेषगरी सरकारी सम्पत्ति र सार्वजनिक क्षेत्रमा आगजनी र तोडफोड गर्नेहरुको पहिचानका लागि प्रहरीले यसअघि नै उजुरी गर्न इमेलमार्फत आह्वान गरेको थियो ।

प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति प¥याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पु¥याइएको हो । ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए ।

प्रदर्शनका क्रममा बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्वपूर्ण कागजात र केही सवारीसाधन पूर्णरुपमा क्षति पु¥याइ भग्नावशेषमा परिणत गरिएको थियो । यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमासमेत तोडफोड गरेका हुन् ।

यसैगरी नेकपा एमाले काभ्रे र नेपाली कांग्रेसको बनेपास्थित कार्यालयमा तोडफोड गरी आगजनी हुँदा ठूलो क्षति भएको छ । प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन् ।

यस्तै, प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्व नगर प्रमुख भीमप्रसाद न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी तथा ब्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी गरेका छन् ।

‘जेनजी’को आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५२ कैदीबन्दीलाई प्रहरीले काभ्रेबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ । तत्कालीन समयमा प्रहरीले यहाँको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको थियो ।

शेयर गर्नुहोस:

54
Shares