देवी र दैत्यहरूबीच नौ दिनसम्म भीषण युद्ध भयो । पहिलो दिन मधु-कैटभ मारिए । यस क्रममा महिषासुर, धूम्रलोचन, रक्तवीज, चण्ड-मुण्ड आदि थुप्रै असुर सेना मारिए पनि उनीहरूले हिम्मत हारेका थिएनन् । देवीमाथि निरन्तर आक्रमण गरिरहन्थे । तीनै लोक विजय गर्न सक्ने असुरहरू एक ‘आइमाई’ ले यति धेरै दैत्य संहार गरेकोमा आश्चर्यमा परेका थिए । तर पनि उनीहरूमा उत्साह मरेको थिएन ।
आठौं दिन निशुम्भ मारियो । यसको भोलि पल्ट अर्थात् युद्धको नवौं दिन शुम्भ नामको महाबली दैत्य देवीसँग युद्ध गर्न जाने भयो । भोलिपल्टको युद्धमा शुम्भले देवीलाई मार्नेमा सबै दैत्यहरू ढुक्क थिए । त्यसैले अघिल्लो दिनदेखि नै असुर समुदायमा हर्षबढाइँ हुन थाल्यो । अबिरजात्राका साथ भोजभतेर, गानाबजाना, नाचगान अबेर रातसम्म चलिरह्यो । झट्ट हेर्दा लाग्थ्यो- अघिल्लो दिन नै उनीहरूले देवीलाई जितिसके, त्यसैले यति रमाइलो गरिरहेका छन् । यसैबीच, शुम्भले सबै अशुरको अगाडि उभिएर उच्च स्वरमा भन्यो, ‘भोलि यो युद्धको अन्त्य हुनेछ । भोलि त्यो आइमाईको अन्त्य मेरो हातबाट हुनेछ भन्ने थाहा पाएर देवताहरू निराश छन् । उनीहरूमा कुनै खुशियाली छैन ।
हामी यसरी रमाइलो गर्दैछौं, उनीहरू भोलि मारिन्छौ भन्ने त्रासले बाहिर निस्कन सकेका छैनन् । भोलि हाम्रो पूर्ण विजय हुनेछ । त्यसपछि हामीले ठूलो विजयोत्सव गर्नुपर्छ । अब सबैजना युद्धको तयारीमा लागौं ।’ शुम्भको यो उद्घोषले अशुर समुदायमा झन् उत्साह थप्यो र पूर्ण विजयी भावमा युद्धको तयारीमा लागे ।
दुर्भाग्य नै भनौं, भोलि पल्ट देवीको त्रिशूल प्रहारबाट शुम्भको अन्त्य भयो ।
शुम्भोऽपि निहतः शूलैर्देव्याऽभ्यधिकवीर्यया ।
पतितो मेदिनीं प्राप्य निनादोऽभूद्धरस्वनः ॥
श्रीमद्देवीभागवत महापुराण (१०म स्कन्ध, १२अध्याय)
(अर्थ : अत्यन्त वीर्यशालिनी देवीको शूल (त्रिशूल) प्रहारले शुम्भ पनि वध भयो । धरतीमा ढल्दै गर्दा उसले यस्तो भीषण गर्जन गर्यो, मानौँ पर्वत भुइँमा खस्दा हुने गर्जन जस्तै ध्वनि उत्पन्न भयो।)
शुम्भको मृत्यु हुनासाथ असुर समुदायमा कोलाहल मच्चियो । असुरहरूतर्फ भागाभाग भयो । अघिल्लो दिनको उत्साह र विजयी भाव एकाएक शोक, आँशु, त्रास र पराजयमा बदलियो ।
यता, जब देवताहरूले देवीद्वारा शुम्भको वध भएको थाहा पाए, त्यसपछि उनीहरूमा विजयोत्सव शुरु भयो । पुष्पवृष्टि, अबिरजात्रासहित देवीको स्तुति गर्न लागे ।
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥ ११.७ ॥
(अर्थ : जुन देवी सम्पूर्ण प्राणीहरूमा ममतामयी मातृत्वका रूपमा विराजमान हुनुहुन्छ। ती देवीलाई बारम्बार नमस्कार छ, नमस्कार छ, नमस्कार छ ।)
देवताहरूको स्तुति, आराधना र जयजयकारबाट खुशी भएकी देवीले अहिले आफूले दैत्य वध गरेर देवताहरूको रक्षा गरेको र भविष्यमा पनि देवताहरूको रक्षा गर्ने वचन दिइन् ।
यदा यदा हि दैत्येन्द्रैरसुरैः पीडिता ह्यपि ।
भविष्यथ तदा सर्वे स्मर्तव्याहं सुरेश्वराः ॥ दे.भा. (९.८.६७
(अर्थ: हे देवगण हो ! जब जब दैत्यहरूद्वारा तिमीहरू पीडित हुनेछौ, त्यसबेला मलाई स्मरण गर्नु, म तुरुन्त सहायता गर्नेछु।)
यसरी देवीले असुरहरूको संहार गरेर देवताहरूको रक्षा गरेकै कारण विजया दशमी मनाउन थालिएको हो । यही विजयको प्रतीकका रूपमा निधारमा रातो टीका, जमरा लगाउने यो क्रम मूलत: नेपाली समुदायमा निरन्तर चलिरहेको छ ।
समाजलाई नमान्ने, आफ्नो हैकम कायम राख्न प्रयत्नशील मन्दिरमा रहेको सानो कुटिल समूहको हैकम र दादागिरीमा अहिले ड्यालासको मन्दिर बन्धक बनेको प्रतीत हुँदैछ । यसो हुन्नथ्यो भने दुई महिना अघि मात्र गरिएको सर्वसम्मत निर्णयको मसी सुक्न नपाउँदै उल्लंघन हुने थिएन ।
विगत केही वर्षदेखि विशेषत: नेपाली डायस्पोरामा तिथि र दशैंको टीका कुन दिन लगाउने विवादले घर गर्न थालेको छ । अमेरिकाको ड्यालासबाट शुरु भएको यो विवाद अहिले नेपाली बसोबास गर्ने अधिकांश मुलुकमा पुगिसकेको छ । सानो संख्यामा रहेका केही मानिसहरू अनेक तर्क गरेर नेपालभन्दा अघिल्लो दिन दशैंको टीका लगाउनुपर्ने मत राख्छन् भने अधिकांश नेपालीहरू नेपालमा लगाएपछि मात्र संसारभर छरिएका नेपालीले दशैंका टीका लगाउन उपयुक्त हुने मान्यता राख्दछन् र यसै अनुसार दशैं तिहारजस्ता पर्व मनाउँदै आएका छन् । संसारमा जहाँसुकै बसोवास गरे पनि नेपालीको मूल र जरो किलो गाडिएको स्थान नेपाल नै भएकाले नेपालअनुसार नै दशैंको टीका लगाउनु उपयुक्त हुने उनीहरूको मान्यता छ ।
ड्यालासस्थित नेपाली मन्दिर श्री पशुपतिनाथ तथा बौद्ध विहारले यो विवाद समाधान गर्ने उद्देश्यले गत अगस्तमा अमेरिकामा पर्वहरू कुन दिन मनाउने बारे सर्भेक्षण र मन्दिर परिसरमा बृहत् भेला गरेको थियो। उक्त सर्भेक्षण र भेलाको अत्यधिक संख्याले हाम्रा पर्वहरू नेपालकै तिथिमिति अनुसार अर्थात् नेपालमा मनाएपछि मात्र मनाउनुपर्नेमा मत दियो । श्रद्धालुहरूको यो मतलाई आगामी दिनमा मन्दिरले स्वीकार गर्ने र सोही अनुसार मन्दिरले तिथि तथा चाडपर्व मनाउने सर्वसम्मत निर्णय गर्र्यो ।
दुर्भाग्य, यसरी गरिएको सर्वसम्मत निर्णयलाई दुई महिना पनि पालना गरिएन। यस पटक पनि दशैंका मुख्य दिन फूलपाती, कालरात्रि, अष्टमी तथा नवमीमा गरिने अनुष्ठान तथा पूजा, आराधना नेपालमा भन्दा अघिल्लो दिन गरियो र नेपालमा नवमी हुँदा अर्थात् अक्टोबर १ बुधबार गोप्य रूपमा विजया दशमी घोषणा गरिएको छ । समाजलाई नमान्ने, आफ्नो हैकम कायम राख्न प्रयत्नशील मन्दिरमा रहेको सानो कुटिल समूहको हैकम र दादागिरीमा अहिले ड्यालासको मन्दिर बन्धक बनेको प्रतीत हुँदैछ । यसो हुन्नथ्यो भने दुई महिना अघि मात्र गरिएको सर्वसम्मत निर्णयको मसी सुक्न नपाउँदै उल्लंघन हुने थिएन । यो समूहको यस्तै षड्यन्त्रपूर्ण, बल मिच्याइँले दुई वर्षमा सम्पन्न गर्ने भनिएको नयाँ मन्दिर र बौद्ध गुम्बा निर्माण कार्य आधा दशक नाघिसक्दा पनि अघि बढ्न सकेको छैन भने सहयोगदाताहरू विकर्षित हुन थालेका छन् ।
विभाजित मनलाई मिलन गराउने, ठूलालाई आदर र सानाप्रति सद्भाव व्यक्त गराउने, असत्यमाथि सत्यको तथा आशुरी शक्तिमाथि दैवीशक्तिको विजयस्वरूप मनाइने बडादशैंको मर्मलाई आत्मसात् गरौं । अनेक तर्क गरेर मिलेर बसेको, समाजलाई विभाजन गर्ने र आफ्ना मौलिक धार्मिक, सांस्कृतिक तथा सामाजिक चाडपर्वलाई एकै दिन र एकै स्थानमा मनाउने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । यदि यो कार्य हामीले गर्न सकेनौं र अघिल्लो र पछिल्लो दिनको विवाद गरेर समाजलाई विभाजित गरिरहने हो भने देवीलाई पराजित गरिन्छ भन्दै अघिल्लो दिन नै विजयोत्सव मनाउनेहरूको दर्जामा समाजले मूल्याकन नगर्ला सकिन्न ।














प्रतिक्रिया