मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

भण्डारीको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति : महामन्त्री थापा

भण्डारीको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति : महामन्त्री थापा


शेयर गर्नुहोस:

6.4k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लोकप्रिय युवा नेता एवं महासमिति सदस्य हरिबोल भण्डारीको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

भण्डारीको तेह्रौँ दिनको पुण्य तिथिमा राजधानीमा आइतबार आयोजित शोक तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भण्डारीबाट कांग्रसले अतुलनीय साथ सहयोग पाएको बताए ।

‘कांग्रेसबाहेक आवश्यकता पर्दा हरिबोल दाइले देशलाई नै ठूलो गुन लगाउनु भएको छ’, शोक सभामा भावुक मुद्रामा महामन्त्री थापाले भने । महाभूकम्प, कोभिडकालबाट मुलुक आक्रान्त भएको बेलामा भण्डारीले देशको दूरदराज सबै ठाउँमा आफ्नो क्षमताअनुसार सहयोग गरेको स्मरण थापाले गरे ।

शोकमा रहेको भण्डारी परिवारको साथमा सिङ्गो पार्टी रहेको पनि महामन्त्री थापाले बताए ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री डां शशांक कोइरालाले भण्डारीले अमेरिकामा सफल उद्यमीको रुपमा पहिचान बनाए पनि उनको मन मस्तिष्क भने सधैँ नेपालतर्फ सोझिएको बताए ।

भण्डारी आफूसँग निरन्तर १५ वर्ष अत्यन्त निकट रहेको चर्चा गर्दै कोइरालाले पार्टीमा उनले दिएको योगदानको मूल्याङ्कन हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले नेपाली कांग्रेस र समाजसेवाको क्षेत्रमा भण्डारीको अत्यन्त महत्त्वपूर्ण सहयोग रहेको टिप्पणी गरे ।

शोकसभामा निवर्तमान संघीय सांसद् सन्तोष चालिसे, नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ काठमाडौँका सचिव भुवन लामा, सहसचिव सुदीप पण्डितलगायतले भण्डारीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको बताए ।

शोकसभामा भण्डारी परिवारको तर्फबाट दाइ कृष्णहरि भण्डारी र दिदी शोभा सिलवाल भण्डारीले पीडाको क्षणमा सहानुभूति प्रकट गर्ने सबैप्रति आभार व्यक्त गरे ।

सोही अवसरमा भण्डारीको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । भण्डारी परिवार र नेपाली कांग्रेस क्षेत्र नम्बर ३ काठमाडौँको आयोजनामा गरिएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौँ जोरपाटी नारायणटार स्थायी घर भई हाल अमेरिकाको डालासमा बसोबास गर्दै आएका भण्डारीको भाद्र २४ गते डालासस्थित निवासमा निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति अमेरिका लगायतका संस्थाहरूमा लामो समयदेखि क्रियाशील रहँदै आएका भण्डारी नेपाली कांग्रेसभित्र बलियो अन्तर्राष्ट्रिय सम्बन्ध भएका पात्रको रुपमा सुपरिचित थिए । नेविसंघ, तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले क्षेत्रीय स्तरमा महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य निर्वाचनमा अत्याधिक मत हासिल गर्दै आएका थिए ।

मृदुभाषी, मिलनसार एवं सहयोगी पात्रको रुपमा सबै उमेर समुहका व्यक्तिहरूबीच उत्तिकै लोकप्रिय भण्डारीका श्रीमती र दुई सुपुत्र छन् ।

शेयर गर्नुहोस:

6.4k
Shares