अष्टिन, टेक्सास – नेपाली समुदायले बडा दशैँको अवसरमा आयोजना गरेको ‘दशैँ डबल्स पिकलबल’ प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। स्थानिय युवाहरुको संस्था खेलुम एटीएक्सले आयोजना गरेको प्रतियोगितामा १२ टोलीबीच प्रतिस्पर्धा भएको थियो।
टोलीहरूलाई तीन समूहमा विभाजन गरी राउण्ड रोबिन शैलीमा खेलाइएको प्रतियोगितामा ड्यालसका बिपिन कोइराला र धिरज श्रेष्ठ विजयी बने। अष्टिनका आर्यन पराजुली र हर्का राई दोस्रो स्थानमा रहँदा, ह्यूस्टनका राज सापकोटा र सन्दीप अधिकारीले तेस्रो स्थान हात पारे। विजेतालाई नगद पुरस्कार र आकर्षक पदकले सम्मान गरिएको थियो।

सम्पूर्ण खेल USAPA नियमअनुसार ११ अंकसम्म खेलाइएका थिए, जसमा दुई अंकको अन्तर अनिवार्य गरिएको थियो। क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनलसम्म पुगेका खेलहरू निकै प्रतिस्पर्धात्मक र रोचक बनेका थिए।
आयोजक रोशन बुढाथोकीका अनुसार, यो प्रतियोगिता केवल खेलकुदमा सीमित रहेन। यसले समुदायलाई भेटघाट र नेटवर्किङ्ग गर्ने विशेष अवसर पनि प्रदान गर्यो। सहभागी र दर्शकमध्ये धेरैले पहिलोपटक भेटघाट गर्ने मौका पाए भने कतिपय पुराना साथीहरू वर्षौंपछि पुनः एउटै मंचमा भेला भए। यसरी, पिकलबल प्रतियोगिता नेपाली समुदायलाई मात्र नभई विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई पनि जोड्ने पुलको रूपमा उभिएको देखियो।
त्यस्तै, अर्का आयोजक आर्यन पराजुलीले पिकलबलप्रतिको चासो समुदायमा अझै बढ्दै गएको बताए। उनका अनुसार, यसपटक धेरै दर्शकले पहिलोपटक प्रत्यक्ष खेल हेरे र आगामी वर्षमा सहभागी बन्ने इच्छा पनि व्यक्त गरे। यसले खेललाई मनोरञ्जनसँगै स्वास्थ्य र जीवनशैलीमा समावेश गर्ने अवसर दिने विश्वास उनले व्यक्त गरे।
प्रतियोगिता लाईभ–स्ट्रिम समेत गरिएको थियो, जसका कारण स्थलमै आउन नसक्नेले पनि प्रत्यक्ष खेल हेर्ने अवसर पाए।
अष्टिन, ड्यालस, ह्यूस्टन लगायतका शहरका नेपालीहरूको उपस्थिति र प्रतिस्पर्धाले अमेरिकामा नेपाली समुदायबीचको सम्बन्ध अझ घनिष्ठ भएको सहभागीहरूले जनाए। खेलले मनोरञ्जन मात्र नभई स्वास्थ्य, भाईचारा र सांस्कृतिक एकतालाई मजबुत बनाएको उनीहरूको धारणा छ।













प्रतिक्रिया