काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी पुस्ताको अनिवार्य सहभागितासहित सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्रीमा आफ्नो समर्थन रहने जनाएको छ।
बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको प्रस्तावमा रास्वपाले “सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन–जी पुस्ताको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारले बृहत् राजनीतिक अनुमोदन पाओस्” भन्ने शुभेच्छा प्रकट गरेको छ।
रास्वपाले चुनाव घोषणापछि संसद् स्वतः निस्क्रिय हुने भएकाले देशलाई निकास दिन यो बाटो नै उपयुक्त रहेको ठहर गरेको छ। साथै, संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने व्यवस्थाको स्मरण गर्दै राष्ट्रिय सभाको स्थायी स्वरुपलाई कायम राख्दै अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ।
प्रस्तावका मुख्य अंश
१. जेन–जी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारलाई रास्वपाको समर्थन रहनेछ।
२. संविधानको मर्म, संघीय गणतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हक जस्ता आधारभूत मूल्यमा रास्वपाले सम्झौता नगर्ने प्रस्ट पारेको छ।
३. राष्ट्रपतिज्यूको पहलमा संक्रमणकालीन राजनीतिक कोर्सलाई मार्गदर्शन गर्न आग्रह गर्दै, आन्दोलनमाथि भएको दमन, सम्पत्तिमाथि आक्रमण र भ्रष्टाचारका मुद्दामाथि निष्पक्ष छानबिन गर्न नयाँ सरकार बनेको १५ दिनभित्र स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गरिएको छ।













प्रतिक्रिया