काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् ।
काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन्सी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।
प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनकारीबाट राष्ट्रपति रामचन्द्र पोडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस महामन्त्री गगन थापालगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।
एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्तौलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य सहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्याइएको छ ।
जेन्जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारबाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।












प्रतिक्रिया