दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको निराशा हटाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँले शनिबार दमौलीमा आयोजना गरेको स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेस कार्यकर्तामाझ निराशा व्यापक रहेकाले त्यसलाई आशामा बदल्न सक्नुपर्ने चुनौती रहेको बताए ।
‘पार्टी विधानबमोजिम चलेको छैन,’ उनले भने, ‘भातृ संस्थाहरूको अधिवेशन समयमै भएका छैनन्, महाधिवेशनसमेत तोकिएको मितिमा हुन्छ कि हुँदैन भन्ने शंका बढ्दै गएको छ ।’
पार्टी विधानअनुसार अगाडि बढ्न सके मात्र नेता तथा कार्यकर्तामा उत्साह आउन सक्ने उनले बताए । आगामी मंसिर २०८३ भित्र पार्टीको महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए। त्यसका लागि कार्यकर्ताहरूले देशभर दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
डा. कोइरालाले सुशासन र भ्रष्टाचार नियन्त्रणबिना मुलुकको समृद्धि सम्भव नभएको धारणा राखे । ‘भ्रष्टाचार र कुशासनले देश पछाडि परेको छ, जबसम्म यो अवस्था सुध्रिँदैन, विकास सम्भव छैन,’ उनले स्पष्ट पारे ।
दैलेखमा हालै भेटिएको ग्यासको विषयमा टिप्पणी गर्दै उनले सकारात्मक संकेत दिएको बताए । ‘यसको सही सदुपयोग गर्न सक्नुपर्छ,’ कोइरालाले भने ।
उनले हरेक राजनीतिक परिवर्तनमा प्रजातन्त्र सेनानीको भूमिका उल्लेखनीय रहेको भन्दै कांग्रेसले सेनानीहरूको योगदान कहिल्यै बिर्सन नहुने बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टाचार अन्त्यका लागि पार्टीले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए । शङ्कर भण्डारीले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्नुपर्ने धारणा राखे भने गोविन्द भट्टराईले संविधान विरोधी तत्वहरूलाई परास्त गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले पार्टीका हरेक तहमा सेनानीहरूलाई आरक्षणको व्यवस्था गर्नुपर्ने माग राखे । कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारहरूलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया