काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अठारौँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले गणतन्त्रको सही अभ्यासमार्फत नागरिकलाई सबल र सक्षम बनाउन सबै पक्षले इमान्दार प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।
डा. कोइरालाले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै भनेका छन्, “गणतन्त्रको शासकीय स्वरूपसहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरकोणबाट सबल र सक्षम बनाउन हामीबाट इमान्दार प्रयत्न हुन जरूरी छ।”
उनले गणतन्त्रको उद्देश्य नागरिकको सशक्तिकरण, समान अवसरको सुनिश्चितता, तथा समाजमा न्यायको अनुभूति गराउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । कोइरालाका अनुसार हाल देशमा व्याप्त निराशा, असन्तुष्टि र अविश्वासका भावनालाई सकारात्मक सत्कर्म र सहकार्यबाट मात्रै चिर्न सकिन्छ ।
“नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गरी न्याय र समानताको अनुभूति गर्नसक्ने समाज निर्माणको पथमा हिँड्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ”, सन्देशमा उल्लेख गरिएको छ।
गणतन्त्र दिवसले विगतका संघर्षहरूको स्मरण गर्नुका साथै लोकतान्त्रिक मूल्य र मान्यताप्रति जनउत्तरदायी बन्ने जिम्मेवारी निर्वाह गर्ने प्रेरणा दिनुपर्ने कोइरालाको धारणा छ ।
संविधानसभामार्फत घोषणा गरिएको गणतन्त्रको स्थायित्व र सुदृढीकरणका लागि सबै तह र वर्गको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूलाई समावेशी र उत्तरदायी बन्न पनि आग्रह गरे ।
नेपालले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष यो दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइँदै आएको छ । देशभर विभिन्न कार्यक्रमहरूका साथ १८ औँ गणतन्त्र दिवस मनाइँदै छ ।
प्रतिक्रिया