काठमाडौँ । पूर्वराजाका समर्थकहरूले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको ह्रिंसक प्रदर्शनका क्रममा भएको झडपमा एक जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिए ।
“झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भने, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।”
गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् । आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उनको भनाइ छ ।
तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड
काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन् । त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।
राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।
“प्रहरीले संयमित भएर आफ्नो कर्तव्य निर्वाह गरेको छ”, उनले भने, “प्रदर्शनकारीहरुले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।” झडपका क्रममा एक जनाको मृत्यु भएको छ भने केही प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।”
निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उनले उल्लेख गरे ।
प्रतिक्रिया