काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गरेको छ ।
पार्टीका उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आगलागी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरे ।
उनले भौतिक संरचना तोडफोड तथा हिंसात्मक कार्यको निन्दा गर्दै प्रारम्भिक चरणको छानबिन सुरू गरिएको बताए । उक्त घटनाबाट भएको नोक्सान तथा क्षतिको विवरण सङ्कलन सुरू गरिएको छ ।
विभिन्न धार्मिक सङ्घसंस्था तथा राजावादी समर्थकहरूले हिन्दू राष्ट्र पुनःस्थापनालगयत माग गर्दै जुलुस प्रदर्शन तथा आन्दोलनका क्रममा तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आक्रोशित बनेको आन्दोलनकारीको भीडले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेको हो ।
आलोकनगरस्थित कार्यालयमा आन्दोलनकारीले तोडफोडका क्रममा गरेको आगजनी सुरक्षाकर्मीलगायत सहयोगमा निभाइएको थियो ।
यसैबीच, समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाले आज विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मोर्चाले यस प्रकारका उच्शृङ्खल र अराजककार्यको भत्र्सना र निन्दा गरेको छ ।
राजधानीमा आयोजना गरेको जनप्रदर्शनबाट अत्तालिएका यथास्थितिवादी तत्वले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय, काठमाडौँ जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति र सञ्चार गृहमा तोडफोड तथा आगजनी गरेको मोर्चाले जनाएको छ ।
मोर्चाले प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि आज आयोजित जनप्रदर्शनमा उल्लेख्य नागरिकको सहभागिताका लागि आभार प्रकट गरेको छ ।
मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन् ।
प्रतिक्रिया