फोर्टवर्थ (टेक्सस) । अमेरिकाको फोर्टवर्थ सिटीको मानव सम्बन्ध आयुक्तमा नेपालीमुलका ओजेश उप्रेती नियुक्त भएका छन् ।
गत साता बसेको फोर्टवर्थ सिटी काउन्सिलको बैठकमा मेयर म्याटी पार्करले राखेकी उप्रेतीको नियुक्तीको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । उप्रेती फोर्टवर्थ सिटीको सार्वजनिक पदमा नियुक्त हुने पहिलो नेपालीमुलका अमेरिकी हुन् । उनी आउँदो दुई वर्षका लागि नियुक्त भएका हुन् ।
उप्रेती नेपाली समुदायमा लामो समयदेखि कृयाशील युवा हुन् । उनी नेपाली समाज टेक्ससले सञ्चालन गरेको ग्लोबल नेपाली पाठशालाको भाइस प्रिन्सिपल पनि हुन् ।
उनलाई सिटीका सेवाहरु समावेशी बनाउन, भेदभावको अन्त्य गर्न, आप्रवासी समुदायका सबैलाई समान रुपमा सहभागी बनाउनका लागि नीतिमा समय अनुसार सुधार र संशोधन गर्नका लागि मेयर र सिटी मेनेजरलाई सुझाव परामर्श दिनका लागि नियुक्त गरिएको हो ।
फोर्टवर्थ नेपालीहरुको ठूलो बसोबास रहेको सिटी हो । भौगोलिक हिसाबले पनि यो ठूलो सहरहरु मध्यमा पर्छ । सन् २०२० को जनगणना अनुसार फोर्टवर्थ अमेरिकाको ११ औं ठूला सिटी हो ।
उप्रेती नेपालको हेटाैंडामा जन्मिएर स्नातकोत्तर अध्ययनका लागि अमेरिका आएका हुन् । पूर्णकालिन रुपमा फेडिलिटी इन्भेष्टमेन्टमा कार्यरत उनी वित्तिय परामर्शदाताका रुपमा समेत नेपाली समुदायमा परिचित छन् ।
आफ्नो नियुक्तिलाई उप्रेतीले समुदायकै उपलव्धिका रुपमा लिँदै नेपाली लगायत अल्पसंख्यामा रहेका सिटीका नागरिकहरुलाई प्रभावकारी सेवा पुर्याउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया