नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी), अमेरिकाले अनुसन्धान, शिक्षा, नवप्रवर्तन र उद्यमको क्षेत्रमा नेपाली युवाहरुलाई सक्दो मार्गनिर्देशन गर्न अग्रसर भएको छ। गत मार्च १,२०२५ मा भर्चुअल कार्यक्रमको आयोजना गरी आफ्नो अग्रसरताको प्रारम्भ गरेको हो। कार्यक्रममा सहभागीहरुले निरी विश्वभर छरिएर रहेका नेपाली वैज्ञानिकहरुको साँझा मञ्च बनाएर अनुसन्धान, शिक्षा, नवप्रवर्तन र उद्यम क्षेत्रमा नेपाली युवाहरुलाई मार्गनिर्देशन गर्न अग्रसर हुने बताएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि द्वय ओहायो राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डाक्टर दामोदर पौडेल र क्यालिफोर्निया राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले निरीको उद्देश्य, योजना र भूमिकाको खुलेर प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सम्बोधनका क्रममा उनिहरुले भावी दिनहरुमा निरीको अभियानमा आफूहरु पनि संगसंगै रहेर साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
निरी युएसएकी सचिव डाक्टर रितु पोखरेलले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा, निरी नेपालका संस्थापक तथा वर्तमान अध्यक्ष डा राजेन्द्र पङ्गेनीले संस्थाको उद्देश्य र अभियानका बारेमा संक्षिप्त प्रकाश पारेका थिए। सम्बोधनका क्रममा उनले निरीलाई विश्वमा छरिएर रहेका नेपाली वैज्ञानिकहरुको साँझा मञ्च बनाउनु पर्नेमा विशेष जोड दिएका थिए।
निरी, अमेरिकाका अध्यक्ष तथा प्लान्ट बायोलोजिस्ट डाक्टर सरोज साहले संस्थाको स्थापनादेखिका गतिविधिहरु स्मर्ण गर्दै संस्थाको अभियान नेपालमा वैज्ञानिक अनुसन्धानलाई सहयोग पुर्याउनेमा केन्द्रित रहेको बताए। अध्यक्ष साहले निरी, अमेरिकालाई युवा अनुसन्धानकर्ताहरुको परामर्श केन्द्रको रुपमा स्थापित गर्ने संस्थाको ध्येय रहेको बताए।
कार्यक्रममा निरी, अमेरिकाकी सचिव डाक्टर रितु पोखरेल, सदस्य तथा बायोमेटेरियलस् वैज्ञानिक डाक्टर बिष्णु जोशी, निमा शेर्पा, प्रशंसा घिमिरे, यमन थापालगायतले आफ्ना सारगर्भित भनाइहरु राखेका थिए। उनीहरुले विश्वव्यापी नवप्रवर्तनमा नेपाली युवाहरूको विकासशील भूमिकाका बारेमा चर्चा गर्दै निरी, अमेरिकालाई युवाहरूलाई व्यावसायिक विकासको परामर्श दिने एक रूपान्तरणकारी प्लेटफर्म बनाउनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा, क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका प्राध्यापक तारा सिग्देलले निरी, अमेरिकाले भविश्यमा पुर्याउन सक्ने योगदानका बारेमा चर्चा गरेका थिए। उनले भविश्यमा निरीले सयौं अनुसन्धानकर्ताहरूलाई रोजगार दिन सक्ने र नेपालमा अन्तरविषय विज्ञानमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे। कार्यक्रममा अनुसन्धानका अवसरहरू र नेटवर्किङका सम्भावनाहरूको बारेमासमेत छलफल गरिएको थियो।
निरी अमेरिका, नेपाल र नेपाल जस्ता अन्य देशहरूमा अनुसन्धान, शिक्षा र नवप्रवर्तनलाई अगाडि बढाउन समर्पित एक मुनाफारहित संस्था हो। यसको मूख्य लक्ष्य अनुसन्धान, शिक्षा र नवप्रवर्तनको क्षेत्रमा महत्त्वपूर्ण सहयोग प्रदान गरेर सकारात्मक परिवर्तन ल्याउने रहेको छ।
प्रतिक्रिया