महाशिवरात्री पर्वका अवसरमा भगवान श्री पशुपतिनाथ लगायतका शिव पीठहरुमा धर्मावलम्बीहरुको भीड हुनु स्वभाविक परम्परा हो। नेपालमा श्री पशुपतिनाथ मन्दिरमा दशौं लाख भक्तजनहरुले दर्शन र पूजा-अर्चना गर्दछन् भने नेपाल बाहिर समेत नेपालीहरुले महाशिवरात्रि पर्व विशेष धार्मिक उत्सवका साथ मनाउने क्रम बढिरहेको छ।
अमेरिकाको विभिन्न शहरहरुमा नेपालीहरुले पशुपतिनाथ मन्दिर एवं नेपाली सामुदायिक केन्द्र बनाउने अभियान निकै तिब्र भएको छ। नेपालीहरुको आफ्नै मन्दिर वा सामुदायिक भवन भएको स्थानहरुमा हिजो महाशिवरात्रि पर्व धुम-धामले मनाएकाछन्। टेक्ससमा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने शहरर ड्यालसमा करिब १५ हजार, अस्टिनमा करिब २,५०० र ह्युस्टनमा करिब एक हजार नेपालीहरु महाशिवरात्रि पर्वमा सहभागी भएको आंकलन गरिएको छ।
ह्युस्टनमा हिमालयन कल्चरल सेन्टर तथा श्री पशुपति मन्दिर व्यवस्थापन समितिले महाशिवरात्री पर्वका अवसरमा मन्दिर आउने भक्तजनहरुका लागि बिहानै देखि पूजा-अर्चना गर्ने व्यवस्था गरेको थियो। निश्चित शुल्क लिएर पूजा सामग्री सहित विशेष पूजा गर्ने व्यवस्था मिलाएको मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुलाई महाप्रसादको समेत व्यवस्था गरेको थियो भने मन्दिर परिसरमै शिवरात्री होम गर्ने व्यवस्था समेत गरेको थियो। मन्दिरका पुजारी गुरु दिलीप शास्त्रीले शिव बन्दना सहित धार्मिक विधिपूर्वक सामूहिक शिव पूजा, होम एवं आरती गराएका थिए भने भक्तजनहरु शिवलिंगको दर्शन र पूजाका लागि लामबद्ध देखिन्थे। महाशिवरात्री विशेष पूजाका लागि बृहत्तर ह्युस्टन वरिपरिका करिब एक हजार जना नेपाली तथा भारतीय समुदायका भक्तजनहरु पशुपतिनाथ मन्दिरमा भगवान शिवको पूजा-अर्चनाका लागि पुगेका थिए।
महाशिवरात्रि उत्सवकाबीच कैयन भक्तजनहरुले बृहत्तर ह्युस्टनमा बन्दै गरेको भव्य श्री पशुपतिनाथ मन्दिर तथा सामुदायिक भवन निर्माण अभियानमा सहयोगको घोषणा समेत गरेका थिए। पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पूजा-अर्चनामा सहभागी ह्युस्टनका समाजसेवी जनक थापाको परिवारबाट ५० हजार डलर सहयोगको घोषणा भएको थियो भने समाजसेवी एवं इन्स्योरेन्स सहजकर्ता बच्चा तिवारीको परिवारबाट २५ हजार डालर सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो। महाशिवरात्रिका दिन मात्र दुई लाख डलर भन्दा बढी सहयोग संकलन भएको नेप्लिज एशोसियसन अफ ह्युस्टनका कोषाध्यक्ष हरि न्यौपानेले हिमालय खबरलाई बताएकाछन्। यस अघि पशुपतिनाथ मन्दिर सहयोग संकलन समितिका संयोजक डा. विष्णु नेपालले नेपालीको आस्थाको केन्द्र श्री पशुपतिनाथ मन्दिर एवं सामुदायिक भवन बनाउने अभियानमा खुल्ला मनले सहभागी हुन आव्हान गरेका थिए भने साँझ अबेरसम्म एनएएचका सल्लाहकार द्रोण गौतम सहयोग दिनेहरुको नाम घोषणा र थप सहयोगको लागि अपील गरिरहेका देखिन्थे।
श्री पशुपतिनाथ मन्दिर एवं सामुदायिक भवन बनाउने अभियानका साथ गत अक्टुवरमा एनएएचको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका ह्युस्टनका समाजसेवी ज्ञानेश्वर श्रेष्ठ हिजोको महाशिवरात्री पर्वमा उपस्थित नेपाली तथा भारतीय मूलका भक्तजनहरुको ठूलो उपस्थितिले निकै उत्साहित देखिन्थे। आफ्नो दुईवर्षे कार्यकालमा नै मन्दिर बनाइ छाड्ने दृढ संकल्प सहित पशुपतिनाथ मन्दिर अभियानमा सक्रिय अध्यक्ष श्रेष्ठ भन्छ्न्–‘हामीले नेपाली धर्म, संस्कृति र पर्वहरुका बारेमा हाम्रा सन्ततिहरुलाई जानकारी होस् भनेर पशुपतिनाथ मन्दिर र सामुदायिक भवन बनाउने अभियान चालाएका हौं, यो हाम्रो धरोहरको पुस्तान्तरणका लागि समेत जरुरी छ।’
प्रतिक्रिया