चितवन । कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित भएकी छन् । २३ औँ अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित भएकी हुन् ।
चितवन बारको इतिहासमा महिला अध्यक्ष भएको यो पहिलोपटक हो । चितवन बारमा ५० वर्षपछि महिलाले नेतृत्व पाएको हो । चितवन बारमा दुई प्यानल निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । रानाभाटले ८१ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सिलवालले ७८ मत प्राप्त गरेका थिए । यसैगरी, एसोसिएसनको उपाध्यक्षमा सीताराम अधिकारी निर्वाचित भएका छन् । अधिकारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी सरिता सापकोटालाई पराजित गरेका हुन् ।
अधिकारीले ९१ मत ल्याउँदा सापकोटाले ६६ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, एसोसिएसनको सचिवमा कुलचन्द्र खनाल विजयी भएका छन् । खनालका निकटतम प्रतिद्वन्द्वी बलराम पौडेल पराजित भएका छन् । खनालले ८९ मत ल्याउँदा पौडेलले ७० मत प्राप्त गरेका थिए । यस्तै, एसोसिएसनको सहसचिवमा पवित्रा सुवेदी निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी, एसोसिएसनको कोषाध्यक्षमा दीपकराज तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाका निकटतम प्रतिद्वन्द्वी सपि मिया पराजित भएका छन् । तिमिल्सिनाले ८१ मत ल्याउँदा मियाले ७५ मत प्राप्त गरेका थिए । यसैगरी, एसोसिएसनको खुल्ला सदस्यहरुमा शेखरनाथ पोखरेल (७५), किरण गुरुङ (८४), सुरेन्द्रराज सुवेदी (७६), शम्भु बर्तौला (७७), राजकुमार प्याकुरेल (८१), अजयकुमार तामाङ (८१) र केदारराज पन्त (७६) विजयी भएका छन् ।
यस्तै, एसोसिएसनको केन्द्रीय पार्षदमा राजेन्द्र सिलवाल (९४), श्रीराम दवाडी (८८), मुन्नाविक्रम खाती (९७), पूर्णचन्द्र चापागाईं (८२), दिवाकर अर्याल (८२), गोमा न्यौपाने (८१) र रमेश काफ्ले (८४) विजयी भएका छन् ।
चितवन जिल्ला अदालत बार एसोसिएसनले पहिलोपटक महिला अध्यक्ष पाएको छ । त्यो पनि चितवन जिल्लाको कानुन व्यवसायी क्षेत्रमा पहिलो महिला अधिवक्ता फूलमाया रानाभाट । शनिबार सम्पन्न निर्वाचनबाट ५७ वर्षीया रानाभाट निर्वाचित भएकी हुन् ।
त्यसो त, फूलमाया रानाभाट चितवनको कानुन व्यवसायीहरुमाझ चल्तीको नाम हो । महिला पनि कानुन व्यवसायी बन्न सक्छन् भन्ने उदाहरण बोकेर २०४९ सालदेखि वकालतमा सक्रिय बन्दै आएकी उनी तनहुँको भिरकोटमा विसं २०२४ सालमा जन्मिएकी हुन् ।
बिएल, एमएसम्मको अध्ययन गरेकी रानाभाट २०५१ सालदेखि व्यावसायिकरुपमा यस क्षेत्रमा प्रवेश गरेकी हुन् । २०५१ सालमा चितवनमा एक्लो महिला अधिवक्ताको रुपमा कार्यसमिति सदस्यका लागि चुनावी मैदानमा आएकी उनले त्यतिबेला हार व्यहोर्नु परेको थियो । त्यसयता उनले कोषाध्यक्ष, केन्द्रीय पार्षद्लगायतका पदमा बसेर काम गरेकी थिइन् ।
करिब तीन दशक वकालतको क्षेत्रमा कार्यानुभव सँगालेकी उनले आफूमा अएको दक्षता र अनुभवलाई केन्द्रमा राखेर काम गर्ने योजनासहित नेतृत्व सम्हाल्ने इच्छा व्यक्त गरेकीे बताइन् । नेतृत्वमा नपुगेसम्म आफ्नो दक्षता देखाउन नसकिने बुझाइका साथ निर्वाचनमा होमिएकी उनी बताृउँछन्र आफूलाई यही पेसाबाट समाज सुधारकको रुपमा पुष्टि गर्न चाहन्छिन् ।
‘समाज सुधार्ने भनेकै कानुनले हो । कानुन नसुध्रिए समाज सुध्रिँदैन । त्यसकारण हामी सामाजिक अभियन्ता पनि हौँ । हामीले सोसल इन्जिनियरको रुपमा काम गर्दा बेन्चमा वकालत गरेर परिवार चलाउनेमात्रै होइन, समाज पनि चलाउने हो भन्ने कुरा समाजलाई बुझाउन जरूरी छ’, उनी भन्छिन् ।
प्रतिक्रिया