मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / जीवनशैली   

चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्ने प्रयासमा सरकार लागेको छ : स्वास्थ्यमन्त्री

चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्ने प्रयासमा सरकार लागेको छ : स्वास्थ्यमन्त्री


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्ने प्रयासमा सरकार लागिपरेको बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै सरकारले आफ्ना गतिविधिलाई अघि बढाएको बताए । थोरै लगानीमा धेरै प्रतिफल उपलब्ध गराउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यस क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउनेतर्फ सरकार लागिपरेको उनले बताए ।

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री पौडेलले सुरक्षित बिमा कोषका लागि नागरिकको योगदान सुनिश्चित गर्नुपर्नेमा जोड दिए । औषधिको मूल्य समायोजन गर्न ऐन निर्माण गरी लागू गर्न लागिएको उनले बताए । पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइने उनले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा अनुसन्धानात्मक प्रक्रिया बढाउने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री पौडेलले अबको प्रयास उपचारात्मक मात्र नभई निरोधात्मक किसिमको हुनुपर्ने आवश्यकता औँल्याए । राज्यले लगानी गरेर तयार गरेको जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले स्वदेशमा नै जनशक्ति टिकाउने अवस्था सिर्जना हुनुपर्ने बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता अभिवृद्धि गराउने कुरामा सरकार लाग्ने विश्वास व्यक्त गर्दै मन्त्री पौडेलले प्रतिष्ठानमा मुटु रोगको उपचारसँगै क्यान्सर (अर्बुद)को उपचारजस्ता सेवा सुरू गरिएको उल्लेख गरे । उनले प्रतिष्ठानको नजिकै रहेको ६५ रोपनी क्षेत्रफलमा मुटुरोग अस्पताल निर्माण गर्न खोजिएको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा डुकबहादुर क्षेत्रीले बिरामीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको बताए । उनले प्रतिष्ठानमार्फत चिकित्सा विज्ञानसँग सम्बन्धित स्वास्थ्य शिक्षा, अनुसन्धान र उपचार सेवालाई समानान्तर रुपमा अगाडि बढाइएको बताए ।

“पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्को उद्देश्य अनुसन्धान क्षेत्र हो”, उपकुलपति प्राडा क्षेत्रीले भने, “अनुसन्धानको माध्यमबाट स्वास्थ्य सेवाको क्षेत्रमा यो नीति निर्माणका लागि कोशेढुङ्गा साबित हुनेछ ।”

प्रतिष्ठानले हाल वार्षिक करिब पाँच लाख बिरामीलाई बहिरङ्ग, करिब ५० हजार बिरामीलाई आकस्मिक र करिब २५ हजार बिरामीलाई अन्तरङ्ग सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

समारोहमा सहभागी स्वीडेनको स्टकहोमस्थित विश्वविद्यालय कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस् वेस्टग्रेनले चिकित्सकहरूलाई जिज्ञासु र सहयोगी बन्न सुझाव दिए । उनले बिरामीको जीवन रक्षाका लागि आफ्नो ज्ञान र सीपलाई समयानुकूल परिमार्जन गर्नुपर्ने धारणा राखे । प्राध्यापक वेस्टग्रेनले काममा इमान्दार बन्न र गल्तीबाट पाठ सिक्न चिकित्सिक सधैँ तत्पर बन्नुपर्ने धारणा राखे ।

दीक्षान्त समारोहमा ३८ जना दीक्षित भएका थिए । सो अवसरमा अरविन्दकुमार साह र आषिश सापकोटालाई ‘उपकुलपति पदक’ प्रदान गरिएको थियो ।

शेयर गर्नुहोस:

135
Shares