नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । ९२ वर्षको उमेरमा उनको निधन भएको हो । घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । सोही अस्पतालमा उनको निधन भएको हो ।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामो समयदेखि उपचार भइरहेको थियो । बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।
‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए । उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए ।
उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए । यसैबीच, भारतीय प्रधानमन्त्री मोदीलगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् । प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफूलाई दुखी तुल्याएको बताएका छन् ।
उनले भनेका छन्, ‘भारतले आफ्ना एक सम्मानित नेता डा. मनमोहन सिंहजीलाई गुमाएको छ । नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुएको थियो । उहाँले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्त्वपूर्ण पदमा रहेर काम गर्नुभएको थियो । उहाँ हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोड्नु भएको छ । संसदमा उहाँको विचारशील हस्तक्षेप सधैँ अविस्मरणीय रह्यो । प्रधानमन्त्रीका रूपमा उहाँले जनताको जीवनस्तर उकास्न अथाह प्रयास गर्नुभयो ।’
कांग्रेस नेता राहुल गांधीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जलि दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना दिएका छन् । ‘मनमोहन सिंहजीले ठूलो बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गर्नुभयो । उहाँको नम्रता र अर्थशास्त्रको गहिरो ज्ञानले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्यो,’ गान्धीले भनेका छन्, ‘उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । मैले एक जना गुरु र मार्गदर्शक गुमाएको छु । हामीमध्ये लाखौँ उहाँका शुभचिन्तक थियौँ । हामी उहाँलाई गर्वका साथ सम्झनेछौँ ।’एएनआई
प्रतिक्रिया