पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भूषाल सर्वाधिक चर्चाको पात्र बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कास्की प्रहरीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक भएपछि एकाएक चर्चामा आएका हुन् ।
माइतीघरमा प्रदर्शन होस्, पोखरा वा चितवन नै किन नहोस् सामाजिक सञ्जालमा आफूले गर्न लागेको कामको निरन्तर जानकारी गराइरहन्छन्, भूषाल । अन्यथा नभए उनले दिएको जानकारीअनुसार पुस ६ गते उनी चितवनमा हुनेछन् । त्यसका लागि उनले तीन दिनपहिले फेसबुकमा नागरिक विद्रोह कार्यक्रम राखिएको जानकारी दिए ।
उनले कार्यक्रमको जानकारी दिन सोमबार राति १०ः०० बजे दुईवटा तस्बिर राखेका थिए । तीमध्ये बिहीबार एउटा तस्बिर भने हटेको छ । भूषालले हटाएको त्यही अस्पष्ट देखिने तस्बिरले उनलाई कानुनी समस्यामा पार्ने देखिएको छ । उनलाई प्रहरीले गोपनीयता भङ्ग गरेको, साइबर अपराधको आरोप लगाएको छ ।
संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन । विभिन्न पाँच जिल्ला घुमाएर कास्कीमा ल्याइपुर्याउँदा उनीमाथि अमानवीय व्यवहार भएको आरोपसमेत लागेको थियो । उच्च रक्तचाप हुँदा औषधि पनि खान नदिइएको विषयले प्रहरी आलोचित बन्न पुग्यो भने लामिछानेलाई भेट्न आउने उनीप्रति सहानुभूति राख्नेहरू बढे ।

तिनैमध्येका एक थिए, भूषाल । पेसाले चिकित्सक उनी रविलाई भेट्न गएको शनिबार पोखरा आएका थिए । रविलाई भेट्छन्, सल्लाह दिन्छन् र कास्की प्रहरी परिसरमा छिर्नासाथ दायाँतर्फ रहेको कन्ट्रोल रुममा राखिएको सिसिटिभीबाट सुतिरहेका लामिछानेको तस्बिर खिच्छन् । र, बाहिरिन्छन् ।
उनले त्यो तस्बिरलाई चितवनमा हुने विरोध सभा कार्यक्रमको जानकारीका लागि प्रयोग गरे । उनले तस्बिर राखेको दिन त्यो सामाजिक सञ्जालमा चर्चित बनेको थिएन । जब बुधबार राति रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोरासहितका नेताहरूले सामाजिक सञ्जालमा उक्त तस्बिर प्रयोग गरेर प्रहरीले गोपनीयता भङ्ग गरेको आरोप लगाए, त्यसपछि त्यसले सामाजिक सञ्जालमा तरङ्ग नै ल्यायो ।
कास्की प्रहरीले लामिछानेलाई भेट्न जाने हरेक व्यक्तिको कडा चेकजाँच गर्छ, मोबाइल लैजान दिँदैन, उनीसँगको साइनोसमेत सोध्ने गर्छ । यति कडा चेकजाँचबीच प्रहरीको कन्ट्रोल रुममा रहेको उक्त सिसिटिभी क्यामेराबाट लिइएको तस्बिर सार्वजनिक भएपछि पहिलो निसानामा प्रहरी नै पर्यो ।
चितवन हिरासतमा रहँदा मानव अधिकार उल्लंघनको आरोप खेपेको प्रहरीले कास्कीमा भने गोपनीयता हननको आरोप खेप्नुपर्यो ।
प्रहरीकेन्द्रित चौतर्फी आलोचना भइसकेपछि गृहमन्त्री रमेश लेखकले घटनाको अनुसन्धान गर्न आइजिपी वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् । कास्की प्रहरीले पनि विज्ञप्ति जारी गरेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
तर, अनुसन्धान हुनुपूर्व नै भूषालले तस्बिर आफूले खिचेको र सामाजिक सञ्जालमा हालेको भन्दै जिम्मा लिए । कास्की प्रहरीले पनि निकोलस भूषालको आइडीबाट तस्बिर सार्वजनिक भएको प्रस्ट पारेको छ ।
के भन्छन् भूषाल ? (हेर्नुहोस्- निकोलसको फेसबुक लाइभ)
भूषालले भनेका छन्– “प्रहरी दाइदिदीहरूकै अगाडि मैले तस्बिर खिचेको हुँ । मलाई मोबाइल चेक गर्नुभएन, मैले पनि दिइनँ ।”
विज्ञहरूले प्रहरीको २४सै घन्टा निगरानीमा हुने कन्ट्रोल रुमसम्म पहुँच पुर्याएर हिरासतको फोटो खिच्नु र त्यो बाहिरिनुलाई सुरक्षामा गम्भीर कमजोरी भएको बताउँछन् ।
सिसी क्यामेराको निगरानी कन्ट्रोल रुमबाट गरिएको हुन्छ । कास्की प्रहरीको कन्ट्रोल रुम अर्कै भवनमा गेट नजिक छ । कन्ट्रोल रुममा वरिष्ठ सई र सञ्चार शाखाको निगरानीमा हुन्छ ।
स्क्रिनको फोटोको समय हेर्दा उक्त फोटो डिसेम्बर १४ तारिख (मंसिर २९ गते) को दिन दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेन्ड खिचिएको छ ।
२४सै घन्टा प्रहरीको उपस्थिति रहने कन्ट्रोल रुमबाट निकोलसले कसरी तस्बिर लिए त ? यसको जवाफमा उनी आफैँले भनेका छन्, “सबै प्रहरीहरू त्यहीँ हुनुहुन्थ्यो, मैले उहाँहरूकै अगाडि खिचेको हुँ, सोधेर खिचेकोचाहिँ होइन । सिसी क्यामेरा हेर्यो भने प्रहरीहरूले म त्यहाँ बसेको, खिचेको देख्नुहुन्छ । यो तस्बिर ४ बजे खिचेको हो, पछिल्लो शनिबार खिचिएको हो ।”
उनले यही प्रकरणले आफू फसिसकेको र आइपर्ने कानुनी समस्या भोग्न तयार रहेको पनि बताएका छन् । “मलाई रवि दाइको वास्तविकता बाहिर ल्याऊँ भन्ने नै हो । यही विषयले म पनि लगभग फसिसकेको छु । प्रहरीसँग सम्पर्कमा नै छु, जे हुन्छ, म त्यो भोग्न तयार छु,” उनले भनेका छन् ।
बिहीबार दिउँसो लाइभमा आएका भूषालले त्यसदिनको घटनाक्रमबारे विस्तृतमा बताएका छन् । भूषालका अनुसार, उनीले लामिछानेलाई भेटेर केही चिकित्सकीय सुझाव दिएका थिए । भेट्न जानुअघि उनले लामिछानेलाई हेर्ने र भेट्न जाने भनेर कन्ट्रोल रुममा गएका थिए ।
त्यहाँ उनले प्रहरीहरू पनि सँगै रहेको खुलाएका छन् । प्रहरीहरूकै अगाडि आफूले लामिछानेलाई हेरेको तर त्यहाँ उनको अवस्था देखेपछि तस्बिर लिएको बताएका छन् ।
“रवि दाइलाई महिनौँ हुँदा पनि यसरी राख्नु गलत हो भन्ने हिसाबले मैले बाहिर ल्याउन खोजेको हो,” उनले भनेका छन्, “म त्यहाँ जाने पनि थिइनँ होला, सायद यो कुरा हुने पनि थिएन होला । तर, उहाँमा बारम्बार प्रेसर बढिरहेको थियो । त्यसको कारण मानसिक तनाव हो । म पनि तनावसम्बन्धी डाक्टर भएको र यहीसम्बन्धी काम गर्ने हुँदा भेट्न गएको हुँ ।”
उनले तस्बिर लिएको स्वीकार गरिरहँदा कास्की प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । यसको अर्थ उक्त दिन कन्ट्रोल रुम कसको कमान्डमा थियो, ड्युटीमा कोको प्रहरीहरू थिए, यसको बारेमा अनुसन्धान हुने कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।
तस्बिर लिनुपूर्व उनको मोबाइल किन मागिएन ? तस्बिर खिच्ने बेलासम्म पनि प्रहरीले मोबाइल नदेखेको हो वा अनुमतिमा नै तस्बिर खिच्न दिएको हो ? जबकि, गेटबाट भित्र छिर्ने हरेक व्यक्तिले गेटको बायाँतर्फ रहेको कक्षमा मोबाइल बुझाउनुपर्ने हुन्छ । प्रहरीले यसबारे पनि छानबिन गर्ने जनाएको छ ।
भूषालले भने प्रहरीले मोबाइल नमागेको र आफूले पनि नदिएको दाबी गरेका छन् । “प्रहरीहरूले बिर्सनुभयो कि, उहाँहरूले मेरो मोबाइल माग्नुभएन । मैले पनि दिइनँ । खास के भएको हो भन्दा, म सिसी क्यामेरा हेरेर दाइले के गर्नुभएको छ भनेर हेरेर गएको हुँ । मैले बाहिर ल्याएर हल्ला गर्छु भनेर पनि होइन । मैले कसैलाई दिएको पनि थिइनँ,” उनले भनेका छन् ।
उनले लामिछाने पहिला गृहमन्त्री हुँदाको बखतको अवस्था र अहिलेको अवस्था, उनीप्रतिको आशा राख्ने शुभेच्छुकहरूमा सकारात्मकता फैलाउने हिसाबले तस्बिर लिएको र पोस्ट गरेको जनाएका छन् । प्रहरीले कुनै दुर्व्यवहार नगरेको बरु कास्कीमा व्यवस्थित तरिकाले राखिएको छ भनेर सकारात्मक सन्देश दिन खोजेको उनको भनाइ छ ।
लामिछानेको समर्थनका लागि उनी पछिल्लो समय आवाज उठाउँदै आइरहेका व्यक्ति हुन् । कुनै बेला लामिछाने गृहमन्त्री भएको बेलामा उनले आलोचना गरेका थिए भने सोही दिन माफी मागेका थिए । त्यसपछि उनी रास्वपाका सभापति लामिछानेको पक्षमा बोल्दै आएका छन् ।
के भन्छ प्रहरी ?
कास्की प्रहरीले भूषालको यो कार्यलाई साइबर कानुनको उल्लंघन भनेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले विज्ञप्ति जारी गर्दै ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी तस्बिर प्रकाशन भएको’ जनाएका छन् ।
‘प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषित अनधिकृत तस्बिर’प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । (हेर्नुहोस्, प्रहरीले जारी गरेको विज्ञप्ति >>)
‘तस्बिर सार्वजनिक गर्नेलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरेको हुँदा कानुनी दायरामा ल्याइने छ’, प्रहरीले भनेको छ ।
यसबाहेक तस्बिर बाहिरिएको घटनामा आन्तरिक अनुसन्धान पनि भइरहेको कास्की प्रहरीले जनाएको छ ।
(#बाह्रखरीसँग हिमालयखबरको समाचार आदानप्रदान समझदारीअनुरुप साभार गरिएको ।)












प्रतिक्रिया