चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीद्वारा मंगलबार आयोजित खबरदारी सभामा उनले देशको राजनीति सोचेजस्तो सहज नभएको बताए ।
विश्व राजनीति परिस्थितिअनुसार नेपालको राजनीति परिस्थिति सहज हुन नसकेको उनले बताए । उनले भने,‘देशको राजनीति त्यति सहज ढङ्गले अगाडि बढेको छैन । विश्वको राजनीतिक परिस्थिति पनि यतिबेला सहज छैन । त्यसको असर दक्षिण एसियामा पनि परेको छ ।’
अध्यक्ष प्रचण्डले भने, ‘विश्वको आर्थिक शक्ति बन्ने प्रतिस्पर्धामा अमेरिका र चीनको बीचमा जुन प्रतिस्पर्धा चलेको छ, हाम्रो भूराजनीतिक परिस्थितिको कारण हामी सबै असाध्यै धेरै सतर्क हुनुपर्ने, चनाखो हुनुपर्ने र नेपालको राष्ट्रिय एकतालाई अझ मजबुत बनाउनको लागि, नेपालको राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ गर्नको लागि र नेपालको भूराजनीतिक अवस्थाअनुसार हाम्रो सार्वभौमसत्तालाई अझ सुदृढ गर्नको निम्ति गम्भीर रुपले सोच्नुपर्ने बेला आएको छ ।’
उनले भने, “अहिले विश्व परिस्थिति जसरी अगाडि बढ्दै छ । हाम्रो राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरणमा नयाँ चुनौती देखापरेका छन् । हामी सबै सतर्क रहेर राष्ट्रिय एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्छ ।”
उनले रातारात अड्डासार गर्ने काम गरेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारबाट ज्यादती भएको आरोप लगाए । ‘अहिले मानौँ महान् अपराधी फेला पारियो भने जस्तोगरी रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को ठाउँमा सार्ने, अर्को ठाउँबाट अर्को ठाउँमा सार्ने गरेका छन्’,उनले भने, ‘यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’
अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्न होइन, रक्षा गर्ने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धन बनेको आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारलाई कारबाही होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने उद्देश्यका निम्तिमात्रै समीकरण गरेको हो ।’
भरतपुर महानगरपालिका र मेयर रेनु दाहालको चर्चा देशभित्र मात्र नभई विश्वस्तरमा भइरहेको भन्दै उनले लण्डनबाट दिइने अन्तर्राष्ट्रिय मेयर पुरस्कार भरतपुरकी मेयरले पाउन सफल भएपछि भरतपुरको चर्चा संसारभरि भएको स्मरण गरे । उनले थपे, ‘भौतिक पूर्वाधरको क्षेत्रमा अनि शिक्षा, स्वास्थ्य र विकासको क्षेत्रमा अनि अन्य विकास निर्माणका कार्यले यो महानगरपालिका साँच्चै नै सबैको लागि एउटा उदाहरण बनेको छ ।’
बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनाशले बेथिति र भ्रष्टाचारविरुद्ध माओवादी केन्द्रले पालिकास्तरमा आयोजना गर्ने खबरदारी सभाको पहिलो कार्यक्रम भरतपुरबाट सुरू गरिएको बताए । उनले मंसिर २८ गते कालिका नगरपालिकामा र २९ गते माडी र राप्ती नगरपालिका एवं इच्छाकामना गाउँपालिकामा खबरदारी सभा आयोजना गरिने जानकारी दिए । रत्ननगर र खैरहनी नगरपालिकामा समेत खबरदारी सभाको आयोजना गरिने उनले बताए ।
प्रतिक्रिया