अमेरिकाको न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासले अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा सञ्चालन गरेको कन्सुलर सेवा घुम्ती शिविर सम्पन्न भएको छ। उक्त शिविर यही नोभेम्बर ९ र १० तारिख(शनिबार र आइतबार)का दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरको संयोजनमा सम्पन्न भएको हो।
शिविरबाट म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने सेवाग्राहीहरु लाभान्वित भएको आयोजकले जनाएको छ। एनआरएनए, एनसिसि, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका उपाध्यक्ष राजु गुरङले दिएको जानकारी अनुसार, उक्त शिविरबाट करिब दुइ सय पचास सेवाग्राहीहरुलाई कन्सुलर सेवा प्रदान गर्ने लक्ष्य राखिएको भएतापनि, तीन सय सेवाग्राहीहरु लाभान्वित भएका थिए।
उक्त शिविरबाट सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी (Tourist Visa) लगायत अन्य Attestation सम्बन्धी सेवाहरु प्रदान गरिएको थियो।
नेपालमा गोर्खा जिल्ला घरभइ हाल बोस्टनमा बसोबास गर्ने लोकेन्द्र गुरुङले घर दैलोमै सहज रुपमा सेवा लिन पाएकोमा निकै खुशी व्यक्त गरे। शिविरबाट नेपाली राहदानी नविकरण सेवा लिएका उनले शिविरको प्रशंसा गर्दै शिविर आयोजकलाई धन्यवाद व्यक्त गरे। गुरुङ जस्तै बोस्टनबासी अन्जना महर्जन शाक्यले पनि शिविरबाट आफूलगायत अन्य सेवाग्राहीहरुले पनि सहज रुपमा सेवाहरु प्राप्त गरेको प्रतिक्रिया दिइन्। उनले शिविर निकै प्रभावकारी भएको बताउदै यस्तो शिविर बेला बेलामा सञ्चान गर्न आयोजकलाई अनुरोधसमेत गरिन्।
च्याप्टर उपाध्यक्ष राजु गुरुङले शिविर निकै प्रभावकारी र उपलब्धिमूलक भएको बताए। उनले विगतको अनुभवलाई मध्यनजर राख्दै सक्दो व्यवस्थित गरिएको शिविरबाट सेवाग्राहीहरुले सहज रुपमा गुणस्तरीय सेवाहरु लिन पाएको दाबी गरे। सेवाग्राहीहरुको सेवा लिने समय तालिका बनाइएकोले कार्यक्रम विगतको भन्दा निकै व्यवस्थित हुन सकेको उपाध्यक्ष गुरुङको बुझाइ छ। उनले शिविरबाट लक्ष्य गरिए भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सफल भइएकोमा खुशी व्यक्त गर्दै त्यसका लागि साथ सहयोग गर्ने महावाणिज्यदूतावास परिवार, स्वयम् सेवकका रुपमा खटिएका सहयोगीहरु, एनआरएनए च्याप्टर परिवार, अन्य सहयोगी संघ संस्था तथा व्यक्तित्वहरुलगायतलाई आयोजकको तर्फबाट धन्यवाद दिएका छन्।
शिविरबाट सेवा लिने सेवाग्राहीहरुको संख्या अत्यधिक भएकाले सेवा प्रदान गर्ने जनशक्तिहरु र सहयोगी स्वयम् सेवकहरु शिविर सञ्चाल भएको दुबै दिन राति अबेर (झण्डै ११बजे)सम्म सेवाग्राहीहरुलाई हरसम्भव सहज रुपमा गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर खटेका थिए।
बोस्टनमा यस प्रकारको कन्सुलर सेवा घुम्ती शिविरको अत्यधिक माग बढ्दै गइरहेको छ। यस अघि नेपाली महावाणिज्यदूतावास, न्यू योर्कले ९ महिना अघि फेब्रुअरी ३ र ४ तारिख पनि बोस्टनमा यस्तै घुम्ती शिविर सञ्चालन गरेको थियो। त्यतिबेला २५५ जनाले विभिन्न कन्सुलर सेवाहरु लिएका थिए। न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुले यस प्रकारको घुम्ती शिविर बेलाबेलामा बोस्टनमा सञ्चालन गर्न आयोजकलाई जोडदार अनुरोध गरेका छन्।
प्रतिक्रिया