समाजमा सयौं वर्ष अघिदेखि सुनाउदै र सुन्दै आइरहेका कयौं यस्ता किम्बदन्तीहरु छन्, जो आज पनि व्यक्ति, परिवार, समाज, देश र संसारमा सकारात्मक सुधारका लागि आवश्यक ज्ञान, शिक्षा र सीप प्रदान गर्ने ब्रम्हास्त्रको रुपमा सावित छन्। बस बुझ्न र लागू गर्न सक्नु पर्यो। ‘बुझ्नेलाई शृखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ साबित तिनै ब्रम्हास्त्ररुपि किम्बदन्तीहरु मध्यको समय सान्दर्भिक एक नितिकथा यहाँहरुको सामु प्रस्तुत गर्न गइरहेको छु।
एउटा गरिब देशमा एक धनी राजा थिए। जो देश र प्रजाको उन्नति र प्रगतिमा भन्दापनि, आफू विलासी जीवन बिताउनमा निकै भोका थिए। उनको लालसा, विलासी महत्वाकांक्षा, स्वार्थ, अहङ्कार र दम्भप्रतिको मोह दिन प्रतिदिन बढ्दो थियो भने, जनता र देशप्रति राजधर्मको कर्तव्य र भूमिका घट्दो थियो। उनको रबैयाले जनता आजित भइसकेका थिए। तर, प्रतिकारमा उत्रन सक्ने कोही थिएनन्। तैं चुप, मैं चुपको अवस्था थियो।
एक दिन एउटा जोगी सोही राजाको दरबारमा पुगेर द्वारपालसंग राजालाई भेट्ने ईच्छा जाहेर गरे। तर, द्वारपालले राजालाई दर्शनभेट दिन असम्भव रहेको बताए। जोगीले आफू राजाकै भलो हुने अत्यन्त महत्वपूर्ण कामका लागि आएको भनेपछि द्वारपालले उक्त खबर राजालाई जाहेर गरे। राजाले जोगीलाई दर्शनभेट दिदै आफूलाई भेट्नुको कारण सबिस्तार जाहेर गर्न आदेश दिए। उसले राजाको आदेश अनुसार आफूले छ महिना भित्र अत्यन्त दुर्लभ बहुमूल्य देव वस्त्र (भगवानले लगाउने लुगा) उपलब्ध गराउन सक्ने, तर त्यसका लागि धेरै धन दौलत खर्च गर्नु पर्ने कुरा राजालाई जाहेर गरे।
विलासी जीवन बिताएका राजाले पृथ्वीमा देवताको वस्त्र लगाउने आफू पहिलो मानव बन्ने, विश्वमा चर्चित हुने र संसारकै शक्तिशाली र प्रभावशाली राजा बन्ने लालचाले उक्त प्रस्ताव तत्काल स्विकार गरे। र, देशको ढुकुटी नै रित्याएर भए पनि कुनै पनि हालतमा छिटो भन्दा छिटो ‘देव वस्त्र’ उपलब्ध गराउन हुकुम दिए। राजाको हुकुम अनुसार आसेपासेहरुले सिघ्रातिसिघ्र जोगीलाई पहिलो किस्ता स्वरुप रकम उपलब्ध गराउदै संझौता मुताबिक कार्य अगाडि बढाउन जोगीलाई आदेश दिए। जोगी पनि समय सिमाभित्र काम फत्ते हुने विश्वास दिलाउदै पहिलो किस्ता बापत प्राप्त रकम लिएर आफ्नो बाटो लागे।
जोगी बेला बेलामा दरबार पुगेर राजालाई आफ्नो जिम्मेवारीको कार्यप्रगति जाहेर गर्ने र किस्ता किस्तामा कबोल रकम उठाउने गर्थे। समय बित्दै गयो। जोगीले दिएको समय सीमा जति-जति नजिकिदै गर्थ्यो। त्यति -त्यति राजालाई देव वस्त्र लगाउने भोक अत्याधिक जाग्थ्यो।दरबारलाई जोगीले देव वस्त्र समयसिमा भित्रै आइपुग्ने विश्वास दिलाएका कारण देव वस्त्र देख्न पाउने सपनाले दरबारमा कौतुहलता र उत्साह जगाइ रहेको थियो। नभन्दै संझौता अनुसार समय सिमाको अन्तिम दिन बाजागाजासहित ठूलो बाकस लिएर जोगी दरबारमा हाजिर भए। यसले दरबारमा खुसीको सिमा रहेन।
जोगीले राजालाई देव वस्त्र हस्तान्तरण गर्नु भन्दा अगाडि ”जो ब्यक्तिलाई आफ्नो पिताप्रति शंका छैन, उसैले मात्र ‘देव वस्त्र’ देख्न सक्ने तर शङ्का हुनेले भने देख्न नसक्ने” देव वस्त्रको विशेषता रहेको बताए। जोगीले बाकस खोलेर एकपछि अर्को देव वस्त्र निकालेर दिदै राजालाई आफ्नो वस्त्र फुकाली धारण गर्न (लगाउन) भने। यसो भन्दा राजा अचम्मित भए। किनकी उनले जोगीले लगाउन दिएको कुनै पनि देव वस्त्रको आकार, प्रकार, रंग, डिजाइन आदि केही देखिरहेका थिएनन्। केवल जोगीले गरेको खाली हातको इसारा मात्र देखिरहेका थिए। सोही अवस्था देव वस्त्र धारण कार्यक्रममा सहभागी हुनेहरुको पनि थियो। तर, सबै तैं चुप मैं चुप रहे। प्रतिवाद गर्न सकेनन् र गरेनन् पनि।
यता आफूले कुनै वस्त्र नदेखेको कुरा सत्य बोले आफूमा आफ्नो पिताप्रति शंङ्का भएको प्रमाणित हुने र आफ्नो राजपरिवार र दरबारको बेइज्जत हुने डरले जोगीले जसो जसो भन्दै गए, राजाले पनि यथार्थ देखे झैं गरी उसै उसै गर्दै गए। राजाले आफ्नो शरीरको सारा वस्त्रहरु खोलेर निर्वस्त्र हुदै प्रसन्न मुद्रामा जोगीको आदेश अनुसार उसले दिदै गरेको देव वस्त्र (अदृश्य वस्त्र) एक पछि अर्को गरी लगाइरहेको इसारा देखेर, वरपर रहेका राजपरिवार, मन्त्रिगण, आसेपासे, हुक्के, चिलिमे, चम्चे, सुरक्षाकर्मी कसैले देव वस्त्र नदेखे पनि दरबार र राजाको अपमान हुने र आफ्नै पिताप्रति पनि बिश्वास नभएको प्रमाणित हुने डरले वाह वाही गर्दै ताली र झ्याली पिटिरहे। कुनै पनि देव वस्त्र नदेखिएको भएतापनि सत्य बोल्ने हिम्मत कसैले गरेनन्। बरु उल्टै एकै स्वरमा आहा कति राम्रो देव वस्त्र, हाम्रा प्राण प्यारा महाराजलाई कत्ति सुहाएको भन्दै वस्त्र र राजाको प्रशंसा गर्दै जय जयकार गरिरहे।
राजालाई आफू निर्वस्त्र भएको वस्तुस्थितिको यथार्थ जानकारी त थियो । तर, जोगीले भने झैं देव वस्त्रको विशेषता र अरुले गरिरहेको जय जयकारका कारण आफूले ‘देव वस्त्र’ लगाइरहेको विश्वास गर्न बाध्य भइरहेका थिए। जसले गर्दा राजा जोगीको आदेश अनुसार देव वस्त्र लगाएको झैं क्रियाकलापहरु गर्न बाध्य थिए। ‘देव वस्त्र’ धारण गरेपछि राजा(जोगीका अनुसार पृथ्वीलोकमा देव वस्त्र धारण गर्ने पहिलो मानव) ले देव वस्त्रधारी स्वरुप प्रजालाई देखाउदा उक्त दृश्यले संसारमै झ्याली पिट्ने, राजा र राजसंस्थाप्रति जनताको आसा, विश्वास , भरोसा, गरिमा र गौरव अझ उच्चाईमा पुग्ने, संसारभर प्रभाव बढ्ने र संसार जितिने भनि जोगीले राजालाई सल्लाह दिए। सोही सल्लाह मुताबिक ‘देव वस्त्र’ धारणको अवस्थामा जनता र दुनियाँलाई दर्शनभेट दिन र नागरिक अभिनन्दन लिन बाजा गाजासहित राजा दरबार बाहिरिए।
उक्त खबरले देव वस्त्र धारण गरेका आफ्ना राजालाई हेर्न जनतामा पनि निकै कौतुहलता र उत्साह जागिरहेको थियो। र, आफूलाई निकै भाग्यमानी प्रजा ठानी देव वस्त्र धारी आफ्ना राजालाई प्रत्यक्ष देख्न ब्यग्र प्रतिक्षाका साथ सडकको पेटीमा स्वागतका लागि लामबद्ध भएर प्रतिक्षा गरिरहेका थिए। प्रजालाई पनि उक्त देव वस्त्रो विशेषता ‘आफ्नो पिताप्रति शङ्का नहुनेले मात्र देव वस्त्र देख्न सक्ने तर शंङ्का हुनेले देख्न नसक्ने’ कुरा जानकारी गराइएको थियो। बाजागाजासहित राजाको सवारी जसै जसै अगाडि बढ्यो, उसै उसै सबैले देव वस्त्र र राजाको वा ! वाही र जय जयकारका गर्दै गए। नागरिक अभिनन्दनका नाममा जसो जसो कार्यक्रमहरु तय गरिएको थियो, उसै उसै राजा देश दुनियाँ दौडाहामा व्यस्त भए। यस्तो अवस्थामा राजा भने उक्त वस्त्र सबैले देख्न सकेको, तर आफ्नो पिता सक्कली नभएकाले आफूले मात्र वस्त्र देख्न नसकेको अपसोचमा डुब्दै भित्रभित्रै रिसले मुर्मुरिएर आफ्नी मातालाई घृणा गर्दै थिए।
राजाको सवारी अगाडि बढ्दै गर्दा जय जयकारको हल्ला सुनेर एक युवा पनि उक्त भिडतिर हानिदै आए। राजालाई जय जयकार गर्दै निर्वस्त्र सहर घुमाइरहेको देखेर ति युवा आश्चर्य चकित परे। किन यसो गरिएको होला ? भनेर सोधीखोजी गर्दा उनले सबै नालीबेली थाहा पाए। पिता सक्कली भएकाले मात्र उक्त देव वस्त्र देख्न सक्छ। तर, नक्कली पिता हुनेले देख्न सक्दैन भन्ने खबर ति युवकले पहिला थाहा पाएका थिएनन्। त्यसैले उनले राजालाई ‘निर्वस्त्र’ नै देखे। जे देखे , नडराइ त्यही भने पनि। जो यथार्थ थियो र सत्य पनि । तर राजाको घोर अपमान र बेइज्जत गरेको भन्दै उसलाई सबैले ढुङ्गामुडा गरेर ठाँउको ठाँउ ज्यान लिए।
राजाका आसेपासे, नारदे, चुले, चम्चे, हुक्के, चिलिमे, खेताले, भेडे, चाप्लुसे, ढोकेहरुले भने सत्य बोल्ने हिम्मत गरेनन्। उल्टै राजालाई खुसी तुल्याई नजिकिएर निजी स्वार्थ पुरा गर्न र आफ्नो पिताप्रति शंका गरिएला कि भन्ने डरले लहैलहैमा लागिरहे। र, राजाको उक्त देव वस्त्र धारित यात्रालाई संसारभर पुर्याउने दौडाहामा निरन्तर लागिरहे। जोगीले पनि कुनै देव वस्त्र नदेखे पनि देखेको झैं अभिनय गर्दिरहे। त्यसमा प्रजाहरुले पनि लोलीमा लोली मिलाउदै राजा निर्वस्त्र भएको देख्दा देख्दै पनि उल्टै वाहवाही र जय जयकार गरेर प्रशंसा गरिरहे।
यसरी राजधर्म निभाएर देश र प्रजाको हितार्थ कर्म नगर्ने राजाको विलासी, दम्भी, महात्वकांक्षी, घमण्डी, मुढी, नौटङ्गी, लालसी मनोदशा बुझेका र भोगेका एक जनताले अवस्था अनुसार व्यवस्था मिलाइ जोगीको भेष धारण गरेर ‘देव वस्त्र’ दिलाउने नाममा राजालाई नाङ्गेझार पारी देश दुनियाँ दौडाहमा निकालेर साराका सामु बेइज्जत गरिदिए। ‘देव वस्त्र’ लालची विलासी राजालाई नाङ्गेझार बनाइदिए। यति भन्दै अहिलेलाई यस कथालाई यहीँ बिट मार्दै बिदा लिन चाहन्छु।
(द्रष्टव्य: प्रस्तुत गरिएको यो काल्पनिक नितिकथाको विषय, प्रसङ्ग, स्थान, पात्रहरुलगायत कुनै, कतै, कसैसंग मेलखान गएमा, केवल संयोग मात्र हुनेछ।)
प्रतिक्रिया