मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकाको नेपाली समुदायमा भेटिएको परिवर्तन

अमेरिकाको नेपाली समुदायमा भेटिएको परिवर्तन

- डा चिन्तामणिनाथ योगी

हिमालय खबर

शेयर गर्नुहोस:

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यस लेखको उद्देश्य कुनै शास्त्रीय व्याख्यान होइन र कुनै विद्वत्ताको प्रदर्शन पनि होइन । न त कुनै लेख लेख्ने प्रदर्शन वा अभिमान नै हो । तर मात्र आफ्नो अनुभव र अनुभूति सहित धर्मरक्षणाय, समाजकल्याणाय र नेपालीबन्धुहिताय केही विचारहरुको सम्प्रेषण र आत्मीय निवेदन हो।

मूल प्रसङ्ग हो-भर्खरै मैले सम्पन्न गरेको अमेरिकाको करिब एक महिने (२०२४, जुलाई ११ देखि अगस्त २० सम्म) यात्रा । यस यात्रा टेक्ससको डालसबाट सुरु गरेर अस्टिन, लसएन्जलस, सानफ्रान्सिस्को, सेक्रामेन्टो, आयोवा, सिकागो, नायग्राफल्स, बस्टन, न्युजर्सी, डीसी, भर्जिनिया, बाल्टिमोर आदि हुँदै भर्जिनियाको डुलेसबाट यात्रा सुसम्पन्न गर्ने सौभाग्य मिल्यो। मित्रजन र परिवारजनको आत्मीय सहयोगले नै यो सबै सजिलैसँग संभव भयो।

“स्वहिताय सर्वहिताय च” को मन्त्र सहित विशाल “सत्सङ्ग यात्रा” सम्पन्न भयो। करिब ६ हप्ते यस यात्रामा १२ वटा जति प्रमुख शहरहरूको भ्रमण गर्ने मौका मिल्यो। हुन त मैले करिव २५ वर्षदेखि (१९९९ अगस्तदेखि) नै अमेरिकाको भ्रमण गर्दै नेपाली मित्रहरु र अमेरिकन मित्रहरूसँग विभिन्न स्तरमा सत्संग, सभा, संवाद गर्दै आइरहेको छु। तथापि जहिले पुग्दा पनि अमेरिका नौलो र आश्चर्यमय नै लाग्छ।

यात्राका क्रममा मनमा जागेका केही विचारहरु, प्रश्नहरु, चिन्ता र चिन्तनहरु समस्त मित्रजन, बन्धुबान्धव र परिवारजन सबैलाई हृदयमा राखी यही लेखद्वारा समष्टिमा सम्बोधन गर्ने प्रयास गर्दैछु। खास गरी धर्म, संस्कृति, संस्कार, नेपालीत्व आदिलाई केन्द्रमा राखी व्यक्ति, परिवार र समाजका बारेमा केही विमर्श गर्ने वा निवेदन गर्ने प्रयास गर्दैछु।

मूल कार्यक्रमहरु :

यस पटकको यात्रालाई बुँदागत गर्नुपर्दा यसरी गर्न सकिन्छ –

– डालसमा हरेक वर्ष झैं भव्यतापूर्वक “समर कल्चरल स्पिरिचुअल क्याम्प” सुसम्पन्न।

– महर्षि इन्टरन्यासनल युनिभर्सिटी, आयोवामा इन्टरन्यासनल वैदिक साइन्स कन्फ्रेन्सको सफल समायोजन।

– विभिन्न राज्य र शहरहरूमा साना-ठूला सबै खाले “सत्संग यात्रा” संचालन।

– अमेरिकन मित्रहरूसँग विशेष प्रकारको भेटघाट र सत्संग।

– मित्रजन र परिवारजन सहित केही अनौपचारिक भेटघाट र भ्रमण।

यात्राका केही हेराइ र सिकाइ :

जीवन आफैंमा एक अनन्त यात्रा हो। यात्राका धेरै सुखद र दुःखद पक्ष हुन्छन् र कैयौं पीडा र प्रेमका प्रसँग पनि हुन्छन्। मेरा लागि भने सत्संग यात्रा, सेवा यात्रा र चेतना यात्राको त्रिवेणी नै जीवन यात्रा हो भन्ने मलाई लाग्छ । यस यात्राका सिकाइहरुलाई मैले भन्नुपर्दा संक्षेपमा बुँदागत यस्तो हुनसक्छ ।

– अमेरिकामा नेपालीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि ।

– नेपाली बन्धुहरूको प्रशंसनीय आर्थिक समुन्नति।

– मन्दिरहरूको सङ्ख्यामा विशेष वृद्धि ।

– नेपाली पाठशालाहरुको उत्साहजनक वृद्धि।

– शिक्षा व्यवसाय आदिमा बढ्दो समुन्नति ।

– राजनीतिमा समेत समयानुकूल प्रगति।

– चाडपर्व उत्सवहरूको भव्य समायोजन ।

– विभिन्न उत्सव र समारोहहरुमा बढ्दो उत्सुकता।

– नेपालबाट आमाबुवा, कलाकार, नेता, गुरुहरु, व्यवसायीहरु, समाजसेवीहरु र पर्यटनप्रेमीहरुको

बाक्लो भ्रमण।

– साथै कैयौं मित्रहरूको कागजात आदि समयमै नबन्दा बेथिति, पारिवारिक पीडा र सन्त्रासपूर्ण सुस्केराहरु पनि।

केही खट्किएका कुराहरु :

यात्रामा हेर्दा धेरै कुरा सर्सर्ती रमाइलो देखिए तापनि भित्रभित्रै बुझ्दा केही कुरा खट्किने खालका पनि हुन्छन्। बाहिरबाट समुद्र जति सौन्दर्ययुक्त र शान्त देखिए तापनि त्यसभित्र कैयौं सुनामीका ज्वालाहरु, तुफानहरु लुकेर बसेका हुन्छन् । अमेरिकाको यात्रामा मैले पनि यस्ता केही संवेदनशील कुराहरु अनुभुत गर्दै आएको छु। यसपटक भने यस्ता कुराहरु अझ बढ्दै गएका हुन् कि ? वा मैले बल्ल ती कुराहरुलाई अझ गहिरोसँग बुझ्ने मौका पाएको हुँ कि? त्यो ठ्याक्कै भन्न सक्दिन । तथापि सतहमा जति सुन्दर देखिए तापनि गहिराइमा कैयौं उच्छ्वास, अन्तर्द्वन्द्व, आशंका, आतंक, अनिश्चितता, अराजकताहरुले नेपाली जीवनलाई अस्तव्यस्त बनाइरहेको र भोलि अस्त नै पनि बनाउन सक्ने डरलाग्दो संकेत देखिन्छ।

स्वर्ग जाने भन्दै हाम्फाल्दै जिउज्यान लगाएर, सबै कुरा चटक्कै छाडेर अमेरिका पुगे । तर आज डिप्रेशन, फ्रस्टेशन, घरेलु हिंसा/अपराध, आत्महत्या, डिभोर्स आदिको शिकार हुन पुगे। के भयो यस्तो विचित्र ? कसरी भयो ? सुरूवात कहाँबाट भयो ? नेपाल बस्नेहरुले जोसँग रातदिन आशा गरिरहेका छन् । तिनीहरु नै किन यस्तो भयानक निराशामा ? नेपाली संस्कारको जगमा हुर्केर विदेशिएकाहरुमा त यस्तो भयावह विडम्बना हुन पुग्यो भने त्यहीँ विदेशमै जन्मिएकाहरुमा भोलि झन् कस्तो होला ? भनेर सोच्दै जाँदा म पनि अत्तालिन्छु। सहज जीवन दर्शन र कलाको ज्ञान, अभ्यास र पूर्ण प्रतिबद्धता भएन भने कुनै पनि व्यक्ति र परिवारको जीवनमा कुनै पनि बेला डरलाग्दो पहिरो जान सक्छ। शहरको रहरले धेरैलाई डुबाउन सक्ने डर म भित्र पलाएको छ । तर के हामी पनि सोसियल नेटवर्कमा सस्तो चिन्ता मात्र गरेर बस्ने त ? कुनै दरिलो समाधान तर्फ समयमै नसोच्ने त ? नेपालमा भएकाहरुले र विदेशिएकाहरुले सहचिन्तन र सहकार्य नगर्ने त? “तमसो मा ज्योतिर्गमय” को वास्तविक ज्ञान र मर्म तर्फ प्रति व्यक्तिलाई र समाजलाई उत्प्रेरित नगर्ने त?

त्यसकारण Prevention is always better भने जस्तै केही बुझ्न नसकिएका तर समयमै सावधान बन्नुपर्ने जस्ता कुराहरुलाई यसरी बुँदागत राख्दा उचित होला :

१ – आर्थिक समुन्नतिका साथै आध्यात्मिक समुन्नति भएन कि ?

२ – प्रगतिको नाममा परिवारमा सुुसम्बन्ध र सन्तुलन भएन कि ?

३- व्यस्तताको भूतले लखेट्दा समयमै स्वस्थ सहज संवाद नै गरिएन कि?

४ – कार्यक्रमहरूको संख्या बढ्दै जाँदा मूल रचनात्मक कार्य नै भएन कि ?

५ – कर्मकाण्डहरु मात्र गर्दै जाँदा ज्ञानकाण्ड, प्रेमकाण्ड र जीवनकाण्ड कतै छुट्न गयो कि ?

६ – आधुनिक अमेरिकन बन्ने होडबाजी अलि बढी भयो कि?

७ – मानव अधिकार तिर बढी केन्द्रीत हुँदा कर्तव्यपालन भुलिएको हो कि?

८ – अमेरिकामा बसे तापनि नेपालकै विखण्डित मनोवृत्ति र तुच्छ राजनीतिलाई अलि बढी पछ्याइएको हो कि ?

९- भोगा न भुक्ता वयमेव भुक्ताः भने जस्तै भोगमै मात्र डुबियो कि?

झलमल्ल, अलमल र कारणहरु :

अमेरिका आफैंमा जति झलमल्ल देखिए तापनि हाम्रो नेपाली परिवार र समाजमा भने अलमल अलि बढी भएको हो कि भन्ने पनि देखिन्छ । एक यात्रीका नाताले मैले अलमल मात्रै छ भनेर दाबी गर्ने कुरा पनि यहाँ समुचित छैन । तर अलमल र यसका कारणहरुलाई समयमै खोज्नु, चिन्नु र सचेत हुनु आवश्यक नै हो भन्ने पनि लाग्दछ। अमेरिका जस्तो सुसम्पन्न मुलुकमा पनि अलमल किन भयो त ? नेपाली परिवार, समाज किन बेखुश बन्दैछ त ? प्रगतिवादले अन्त्यमा व्यक्तिवादमा किन खुम्च्याइदियो त ? भन्ने सम्बन्धमा खोतल्दै जाँदा केही सूक्ष्म कारण यस प्रकारका हुन सक्छन् जस्तो मलाई लाग्छ –

१- नेपालबाट विदेश जानुपूर्व आवश्यक तैयारी वा सावधानी हुन नसक्नु ।

२ – परिवारसँग छुट्टिएर लामो समयसम्म विखण्डित भएर बाँच्नुपर्ने बाध्यता हुँदा अलमल बढ्नु ।

३ – अमेरिकामा वा अन्य कुनै देशमा गएका मानिसहरूले नेपालका आमाबुवा र परिवारजनलाई आफ्नो मनको कुरा समयमै स्पष्टतः बताउन नचाहनु वा नसक्नु ।

४- नेपालमा भएका परिवारजनले पनि आर्थिक सहयोग आदिको मात्रै बढी आशा राख्नु तथा विदेशको पारिवारिक, सामाजिक, मनोवैज्ञानिक समस्या आदिलाई बुझ्न नसक्नु ।

५-प्रतिस्पर्धामा मात्रै कुद्दै जाँदा “किन कुद्दैछु त? भनेर सोच्न नसक्नु।

६ – नेपालमै रहँदा पनि पारिवारिक सुसंस्कार र सु-चिन्तनको जगको अभाव हुनु ।

७- भोगवादी सभ्यतामा फस्दै जाँदा ‘मलाई कति चाहिन्छ त? ‘ भनी लक्ष्मण रेखा समयमै कोर्न नसक्नु।

८- आकर्षक अमेरिकाको चमकदमकमा डुब्दै जाँदा जीवनको मूल आदर्श र आस्था गुम्दै जानु।

९- नेपालीहरूको संख्या जति भएतापनि आपसमा आवश्यक सुसम्बन्ध हुन नसक्नु ।

१० – अमेरिकाको कानुन, सूचना, प्रविधि, यान्त्रिक जीवनशैली आदिलाई समयमै बुझ्न नसक्नु र व्यवस्थित गर्न नसक्नु ।

११ – कुसंगतमा फस्दै जाँदा कुलत र कुव्यवहारको शिकार हुनु।

अब के गर्ने त? :

त्यसोभए अब अमेरिका आदि मुलुकमा बस्ने नेपाली समाजको जीवन अप्ठ्यारो मात्रै छ भनेर ताली मात्रै बजाएर बस्ने त ? अवश्य पनि होइन। मैले अमेरिका लगायत युरोप, अस्ट्रेलिया, थाइल्याण्ड, म्यान्मा आदि मुलुकको करिब तीन दशक (फेब्रुअरी १९९६, युकेमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण) देखि निरन्तर भ्रमण गर्दै आएको छु। नेपालमा पनि विद्यापीठहरु, आश्रमहरु, गुरुकुलहरु, अनाथालयहरु, वृद्धाश्रमहरु, नारी केन्द्रहरु, दलित सेवा केन्द्रहरु लगायत अन्य विभिन्न माध्यमहरुबाट पनि विभिन्न जिल्लाहरुमा निरन्तर सेवा गर्दै आएको छु। यी सबैको मूल उद्देश्य हो –

– हाम्रो मूल सनातन धर्मसंस्कृति र दर्शनको संरक्षण संवर्धन र सम्प्रेषण गर्नु- गराउनु।

– नेपाल आमाको निःशर्त जयजयकार गर्नु- गराउनु।

– विश्वभरि नै नेपालीहरुका बिचमा सुसम्बन्ध, सहभाव र सहयात्राको वातावरण सिर्जना गर्नु- गराउनु। मलाई त भन्न मन लाग्छ- ‘जहाँ जहाँ नेपाली – त्यहाँ त्यहाँ नेपाल’।

गुरु गोरखनाथ परम्परामा जन्मना कर्मणा हुर्केको जोगी भएका नाताले पनि मलाई त सबैको माया लाग्छ, सबैको जयजयकार गर्न र अङ्कमाल गर्न मन लाग्छ । जाति, जिल्ला, समुदाय, सम्प्रदाय, समूह भन्दा माथि उठेर सबैका लागि प्रार्थना गर्न मन लाग्छ। अमेरिकामा कुनै पनि नेपाली रुँदा मलाई मेरो गाउँमा, मेरो परिवारमै कोही रोयो कि? भन्ने अनुभूति हुन्छ। अष्ट्रेलिया, युरोप आदिमा कतै कुनै नेपाली परिवारमा कतै केही दुख्दा मेरो मुटु पनि कतै दुखेको अनुभूति हुन्छ। त्यसकारण अब के गर्दा उचित हुन्छ त? भनेर गम्भीर चिन्तन गर्दै जाँदा मलाई केही सुझावहरु यसरी प्रस्तुत गर्न मन लाग्छ-

१ – नेपालीहरु जो जो जुन जुन देशमा, राज्यमा, शहरमा पुगे शुरुमै तिनको सूचना राख्ने, रेकर्ड राख्ने, सम्मान, स्वागत र भलाकुसारी गर्ने परम्पराको विकास गर्ने।

२ – विभिन्न प्रकारका सामाजिक, धार्मिक, व्यावसायिक, राजनीतिक संस्थाहरूको विकास हुँदै जाँदा पनि नेपाली संस्कृति, संस्कार, जीवन र परिवारलाई नै मूल केन्द्र बनाएर संस्थाको समुचित विकास नहुनु दुखद पक्ष हो। अतः जरामै पानी पुग्ने गरी समयमै आवश्यक योजना र निर्णय गर्ने।

३ – कुनै दुखद दुर्घटना घटिसकेपछि मात्र हजारौं लाखौं डलर उठाएर सेवाका नाममा बारम्बार श्रम, स्रोत, सीप र समय खर्चिनु भन्दा त्यस्तो दुर्घटना हुन नदिन सकारात्मक र सशक्त वातावरणको सिर्जना गर्ने।

४- म्यान्मा र थाइल्याण्डमा गरिएको अत्यन्तै सफल प्रयोग जस्तै हरेक राज्य र शहरहरुमा दुख निवारण विभाग जस्तो कुनै समर्थ विभागको समुचित व्यवस्था गर्ने।

५ – नेपालबाट गएका आमाबुवाहरुलाई सबैले योजनाअनुसार सुन्दर सम्मान दिने र उनका जीवनपरक, परिवारमूलक सकारात्मक कुराहरु सुन्न, सुनाउन व्यवस्था गर्ने।

६ – डिजिटल प्रविधिका माध्यमबाट नेपाली समाज र परिवारका हितलाई ध्यानमा राखेर आवश्यक सूचना, मनोपरामर्श, आध्यात्मिक चेतना आदिको कार्यक्रम हरेक राज्यमा निश्चित र नियमित रुपले संचालन गर्ने।

७ – मन्दिरहरूमा सुखदुख साटासाट गर्ने । स्वस्थ वातावरणको विकास गर्ने र विशेष भलाकुसारी कार्यक्रमहरूको आयोजना पनि गर्ने।

८ – चुनावमा जस्तै दानमा पनि प्रतिस्पर्धा गर्ने- गराउने तथा अहंवादीहरुले नै सबै ठाउँ ओगट्ने जस्ता प्रदर्शनात्मक व्यवहारहरूलाई क्रमशः निस्तेज पार्दै समयदान, ज्ञानदान, प्रेमदान गर्नेहरूलाई पनि सम्मानपूर्वक समेट्दै जाने।

९ – इतिहासनिर्माणक्रमका मूल त्यागीहरुलाई, जगनिर्माणका स्वयंसेवीहरुलाई सदा संझिने र सम्मान गर्ने सकारात्मक अभ्यासलाई स्थापित गर्ने। यस सन्दर्भमा डालस र लस एन्जेल्सको पशुपतिनाथ बुद्ध मन्दिरले सर्वप्रथम स्वयं उत्कृष्ट उदाहरण बनी सिङ्गो अमेरिकालाई प्रेरित गर्ने।

१० – प्रत्येक मन्दिरहरूमा र प्रत्येक संस्थाहरुमा कुनै पनि नेपालीले गोप्य रुपेण निवेदन गर्न पाउने र आवश्यक सहयोग, सुझाव समयमै पाउन सक्ने संयमित व्यवस्था गर्ने।

११ – ठूला ठूला प्रदर्शनात्मक कार्यक्रमहरु भन्दा पनि परिवारपरक, जीवनमूल्यपरक, चेतनामूलक कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने।

१२ – सस्तो आधुनिकता, मानव अधिकार र राजनीति आदिका नाममा गरिने अनावश्यक कार्यक्रमहरु र व्यवहारहरूलाई समयमै सन्तुलनमा ल्याउन प्रयास गर्ने।

१३ – नेपालसँग निरन्तर जोडिने गरी स्वस्थ, सकारात्मक, श्रद्धापूर्ण र सहज कार्यक्रमहरुको विकास गर्ने।

१४ – नेपाल, भुटान, म्यानमार, थाइल्याण्ड, सिक्किम आदि जुनसुकै ठाउँबाट अमेरिका गए तापनि ती नेपालीभाषीलाइ सबैले सबैलाई नेपालीरुपेण सम्मान, स्वीकार गर्ने।

१५ – नेपालप्रेमी विदेशी मित्रहरूलाई पनि सामाजिक विकासका क्रममा नजिक्याउन प्रयास गर्ने।

समयमै चिन्तन :

समयमै चिन्तन गर्न नसक्नु पनि विश्वव्यापी रुपमा नेपालीहरूको प्रवृत्तिगत समस्या हो कि? भन्ने जस्तो पनि मलाई लाग्छ। विगत करिब तीन दशकदेखि मेरो निरन्तर विश्वभ्रमण हुँदैछ। मेरो उमेरले पनि अहिले ६० नाघ्दै जाँदा मेरो जीवन प्रतिको बुझाइ अलि गम्भीर बन्दैछ कि भन्ने पनि लाग्छ। हामी समयमै चिन्तन गर्न सक्दैनौं, अनि फेरि पछुताउँछौं। हाम्रा पुर्खाहरूले हामीलाई दिएको सन्देश “चिन्तने का दरिद्रता? को प्रयोग भएन कि जस्तो मलाई लाग्छ। अथवा हाम्रो गाउँले उखान “जब पर्यो राती तब बुढी ताती” भनेको जस्तै हामी अहिले पनि उही पुरानो स्वभाव र प्रवृत्तिबाट डोरिएका छौं कि जस्तो पनि लाग्छ।

अमेरिका जस्ता सम्पन्न मुलुकहरूमा गएका मित्रहरुमा पनि अझै चिन्तन गर्न सक्ने क्षमता, समयमै योजना बनाउन सक्ने क्षमता र समयको व्यवस्थापन गर्न सक्ने कुुशलता मैले अझै पनि खोजेको जति पाउन सकेको छैन। अमेरिका जस्ता सम्पन्न मुलुकमा बस्ने मान्छेहरूको योजना, कार्य क्षमता, समय व्यवस्थापन सीप र स्रोत आदिको परिचालन त अत्यन्तै उत्कृष्ट हुनुपर्छ नि। नेपालमा बसेका नेपालीहरुका लागि नमूना र प्रेरणा बन्नुपर्छ नि भन्ने मेरो ठूलो आशा र दाबी पनि हो। तर खै किन हो? मैले धेरै ठूला ठूला देशहरुमा, शहरहरुमा र धेरै ठूला ठूला भनाउँदा सम्पन्न र सफल व्यक्तिहरुमा पनि त्यसको अभाव पाउँदा दुःख पनि लाग्छ। यानिकि हामी हाम्रै जीवन प्रति गम्भीर बन्न सकेनौं कि? हामीले समयलाई, कालदेवतालाई सम्मान गर्न सकेनौं कि? हामी अलि बढी व्यक्तिवादी भयौं कि? अलिकति माथि उठेर समाजको लागि, नेपालको लागि र विश्वकै मानवका लागि पनि मैले केही गर्नुछ र त्यसकारण मैले मेरो Capacity buildup गर्नुपर्छ है र मैले मेरो यात्रालाई रोक्नु हुँदैन है भन्ने बारेमा गम्भीरता, उदारता, दूरदर्शिता र संकल्प पनि पुगेन कि? भन्ने जस्तो पनि लाग्छ। त्यसकारण मेरो विनम्र अनुरोध छ- समयमै हामी सम्यक् चिन्तन गरौं, चिन्तनमा पनि चिन्तन गरौं। यसै सन्दर्भमा केही जीवन सूत्रहरू जुन आज अमेरिका लगायतका मुलुकहरुका लागि बढी उपयुक्त हुन सक्छन् , त्यस्ता केही चिन्तनहरु म यहाँ बुँदागत रुपमा निवेदन गर्न पनि चाहन्छु –

– केही वर्षदेखि म “विश्व ॐकार महाभियान”मा पनि प्रमुखरुपेण सक्रिय हुँदै जाँदा तथा गुरुजन स्वामी साधुसन्तहरु र त्यागी तपस्वी मित्रहरूको साथ हुँदै जाँदा पनि मैले गहिरो रुपमा अनुभूति गरेको कुरा के हो भने हामीले हाम्रो समाजलाई मूूलतः सनातन चिन्तनमा, हाम्रो मूल दर्शन र संस्कृतिमा नै जोड्न सक्नुपर्छ। आजभोलि कताकता विदेशतिर पनि ससाना सम्प्रदाय, स-साना धार्मिक समूह एवं गुरुवाद, पण्डितवाद आदिको पछि लाग्दा हाम्रो समाज झन् बढी विखण्डित हुँदै गएको हो कि? भन्ने पनि म यहाँ चिन्ता र चिन्तन व्यक्त गर्न चाहन्छु।

– परिवारलाई केन्द्रमा राखेर, व्यक्तित्वविकासलाई ध्यानमा राखेर अमेरिकामा र अन्य मुलुकहरुमा पनि अझ बढी प्रशिक्षणमूलक कार्यक्रमहरूको विकास गर्नुपर्ने हो कि? अझ गहन गम्भीर उच्च सत्सङ्गहरूको व्यवस्था गर्नुपर्ने हो कि? केवल प्रदर्शनपरक कार्यक्रमहरु र चाडपर्वपरक उत्सवहरु मात्र मनाउँदा व्यक्तित्वविकास, नेतृत्वविकास, चिन्तनविकास, निर्णयशक्तिविकास, सकारात्मक क्षमताको विकास आदि समयमा हुन नसक्दा कहिलेकाँही कुनै दुर्घटनाका अवस्था आउँदा टार्न नसकिने अवस्था पनि देखिएको हुँदा सबैले समयमै चिन्ता र चिन्तन गरौं है पनि भन्न चाहन्छु।

– नेपाली संस्कृतिको विशेषता भनेकै परिवार हो। त्यसकारण “धन्यो गृहस्थाश्रमः, विवाह धर्म आदि भनिएको हो। भगवान् राम र कृष्णलाई पनि परिवारमै चित्रित गरिएको कारण पनि त्यही भएर नै हो। परिवार नै हाम्रो धर्मको, संस्कृतिको, साधनाको आधार हो । परिवारलाई लिएर गरिने सुचिन्तन र सुकार्य आदि नै मूलतः सबैका लागि हितकारी हुन्छन् , कल्याणकारी हुन्छन् भन्ने कुरामा दुईमत छैन । तर विदेश जाँदा पारिवारिक विखण्डनका कुराहरु बढेको देखिन्छ। आवश्यकताभन्दा बढी विदेशी नक्कल गर्ने गतिमा गएर भौतिकवादको नाममा भोगवादी बन्ने सस्तो मनोवृत्तिको शिकार भएको देखिन्छ। तसर्थ “संयमः खलु जीवनम्” पनि नभुलौं है भनी निवेदन गर्न चाहन्छु।

– अमेरिकामा बस्नु भनेको केवल अश्लील वृत्ति, व्यवहार र स्वभावलाई अपनाउनु होइन । अथवा अन्य मुलुकमा बस्नेहरुले पनि त्यहाँको मात्रै नक्कल गरेर नेपालको परिवार व्यवस्था र पारिवारिक संस्कृति र संस्कारलाई नजरअन्दाज गर्नु होइन। यस्तो हुँदै गएमा भोलिको नयाँ पुस्ता कहाँ जाने हो? अहिलेका आमाबुवाहरु समयमै गम्भीर नबन्ने हो भने भोलिका दिनमा विखण्डित परिवारको पाप कसले बोक्ने? भोलिका दिनमा नयाँ पुस्ता विचलित हुने, दुर्व्यसनमा फस्ने, नकारात्मक बन्दै अनैतिक जीवनशैलीमा फस्ने अवस्था आदिको पाप अहिलेका ‘मै हुँ ‘भनेर भड्किलो जीवन बिताइरहेका, प्रगतिवादी टाइपको, धनीमानी टाइपको, फुर्तिलो पाराको जीवन बिताइरहेका आमाबुबाले लिने कि नलिने? भन्ने बारेमा पनि समयमै चिन्ता र चिन्तन गरिनुपर्छ।

– यसै प्रसङ्गमा नेपालका साथीहरुले पनि युवाहरु त सबै बिदेसिए! मात्र भनेर चिन्ता गर्नुभन्दा पनि विदेशमा गएको बुद्धिलाई, श्रम, सीप, अनुभव र कुशलतालाई नेपालको हितमा कसरी प्रयोग गर्ने? भनेर सोच्नुमै बढी बुद्धिमत्ता हुन्छ। अमेरिकामा ठूलो शक्ति छ, ठूलो सम्भावना छ, ज्यादै ठूलो सीप र स्रोत छ। त्यो नेपालका लागि कसरी हितकारी हुन सक्छ? त्यस तर्फ हामी सबैले सोच्नुपर्ने हुन्छ। एनआरएनले पनि गम्भीरताका साथ सोच्न सक्नुपर्छ। केवल व्यापारको उद्देश्यले, अर्थोपार्जनको उद्देश्यले र नेताहरुसंग लहस्सिने रहरले ठूलाठूला कुरा गरेर मात्रै नेपाली समाजलाई नयाँ सन्देश, नयाँ प्रकाश दिन सकिन्न। गम्भीरता, दूरदर्शिता र उदारता सहित विदेशको असीमित क्षमता, सामर्थ्य, स्रोतसाधनलाई नेपालको हितमा प्रयोग गर्नका लागि व्यक्तिस्तरदेखि राज्यस्तरमा ठूलो चिन्ता र चिन्तन गरिनु अत्यन्तै अत्यावश्यक छ ।

– नयाँ युवा पुस्तालाई नेपालसँग जोड्न सक्नु हाम्रो प्रमुख राष्ट्रिय दायित्व हो । एउटा पुस्ता भने अमेरिका जस्ता मुलुकमा गएर आर्थिक संघर्ष गर्दागर्दै आफ्नो विभिन्न प्रकारको न्यूनतम आवश्यकता र व्यवस्थाहरुलाई सम्हाल्दासम्हाल्दै खर्चिएको देखिन्छ तर नयाँ युवा पुस्ता जो त्यही जन्मेर हुर्केर, त्यहीँबाट शिक्षित र प्रशिक्षित भएको छ त्यसलाई हामीले नेपालसँग, नेपाली संस्कृति र संस्कारसँग समयमै जोड्नका लागि विशेष योजना बनाउनु अत्यावश्यक छ। त्यो नयाँ युवा पुस्तालाई दिने सपना ठूलो हुनुपर्छ; सीमातीत हुनुपर्छ। त्यसका लागि नेपालका आमाबुबाहरुले र अमेरिकाका आमाबुबाहरुले पनि ठूलो आकाशको उडानतर्फ प्रेरित गर्न सक्नुपर्छ। त्यो नयाँ युवा पुस्ता भोलि नेपालीभावमा फर्किन सक्यो भने हाम्रा लागि असम्भव केही पनि हुने छैन। हाम्रा दुःखदारिद्रय सबै समयमै सजिलै सकिनेछन्। कुनै दातृ संस्थासंग वा विदेशी निकायसँग घुँडा नटेकिकनै आफ्नो टोपी र आफ्नो धोतीको सम्मान र सुरक्षा सहित नै हामीले हाम्रो नेपाललाई फेरि सुन्दर शान्त विशाल बनाउन सक्छौं है भन्ने कुरामा चिन्ता र चिन्तन गर्नैपर्छ।

– डालसमा भएको विश्वकै सबैभन्दा ठूलो नेपालीहरूको मन्दिर र विश्वमै नेपालीहरूको सबैभन्दा ठूलो नेपाली पाठशाला पनि आफैंमा अत्यन्तै ठूलो प्रेरणाको विषय हो। ठूलो मन्दिर, ठूलो पाठशाला र ठूलो जनसंख्या भएको डालसमा अझ बढी उदारताको, अझ बढी दूरदर्शिताको, अझ बढी उच्चता र पवित्रताको विकास गर्नका लागि त्यहाँका समाजसेवी शिक्षासेवी, धर्मसेवीहरुले अत्यन्तै गम्भीर संवेदनशील नीति र व्यवहार अपनाउनुपर्ने पनि अति आवश्यक देखिन्छ। साथै अमेरिका लगायत विश्वभरिकै नेपालीहरुले पनि त्यो नमुनाबाटै केही सिक्दै सहकार्य गर्ने तर्फ पनि समयमै चिन्ता र चिन्तन गर्दा सबैको कल्याण देखिन्छ।

– अमेरिकामा अहिले नेपालीहरुको संख्या बढ्दै जानु हामी सबैका लागि उत्साह र आशाको विषय पनि हो । हाम्रो सनातन हिन्दू संस्कृतिको विश्वविस्तार (कृण्वन्तो विश्वमार्यम्) पनि त्यसैमा छ र हामी नेपालीहरूको भावना र भविष्य पनि त्यसैमा छ । नयाँ नेपाली पुस्तालाई नेपाली संस्कारमा भिजाउने आधार पनि त्यसैमा छ। त्यसैमा अझ उदार चिन्तन सहित “आर्ट अफ लाइफ एन्ड आर्ट अफ लिभिंग” सिकाउन समयमै चिन्ता र चिन्तन गरिनुपर्छ है।

– अमेरिकामा अधिकांशतः भगवान् पशुपतिनाथकै मन्दिर बनेको हुनाले गर्दा पनि हामीलाई झन् बढी गौरव गर्नुपर्ने आधार देखिन्छ किनकि पशुपतिनाथ नेपालका हुन्, बुद्ध नेपालका हुन् । संसारमा बुद्धका मन्दिर जति भए तापनि, शिवका मन्दिर जति भए तापनि पशुपतिनाथको मन्दिर भने नेपालमा मात्रै छ र नेपालीहरूको बीचमा मात्रै छ। पशुपतिनाथको मन्दिर हाम्रो राष्ट्रिय एकता र चेतनाको प्रतीक पनि हो। यसका लागि जहाँ जहाँ मन्दिर बनेका छन् त्यसका स्वप्नद्रष्टाहरुलाई, अभियन्ताहरुलाई, अग्रजहरुलाई, दाताहरुलाई, स्वयंसेवीहरुलाई हामी सबैले स्वीकार्न सक्नु पर्छ। अमेरिकाभरि छरिएका यी मन्दिरहरुका बीचमा पनि समयमै सुसंबन्ध, सद्भाव र सहकार्यको पनि उत्तिकै आवश्यकता पनि छ है।

– यसैगरी मन्दिरहरुको निर्माणमै हामी नेपालीको श्रम सीप सोच र संकल्प लाग्नुपर्छ । यसैमा हामी केन्द्रित हुन सक्नुपर्छ। community center जस्ता शब्दहरूको आधारबाट गरिने नाटकहरूबाट हामी सबै समयमै सावधान हुनुपर्छ। नेपालबाट गएका गुरुहरुले पनि केवल प्रसेन्टेज पाइन्छ वा राम्रो शुल्क पाइन्छ वा दरिलो दक्षिणा पाइन्छ भन्ने आधारमा कम्युनिटी सेन्टर आदिका नाममा अनावश्यक नाटक गरेर समाजलाई misguide हुन बाट बचाउन सक्नुपर्छ। हामीलाई विदेशमा मन्दिरै चाहिएको छ। मन्दिर नै पुर्खाहरु प्रतिको ऋण तिर्ने हाम्रो पवित्र थलो हो, नयाँ पुस्तालाई हाम्रो मूल सनातन संस्कार संस्कृतिसँग जोड्ने मूल साधना केन्द्र हो र विदेशमा हाम्रो विशिष्ट पहिचान पनि हो । यसैमा हाम्रो पशुपतिको, बुद्धको, सारा देवीदेवताहरुको र पितृहरूको आशीर्वाद निश्चित छ। यसैमा सबैले चिन्ता र चिन्तन गर्न सक्नु पर्छ ।

– एवमेव भागवत धर्मलाई श्रद्धापूर्वक संरक्षण र परिशीलन गर्नुपर्छ। यसलाई ‘फण्ड रेजिंग बुक’ का रुपमा मात्र समाजमा प्रस्तुत गरिनुहुन्न। नेपालबाट सदाचारी, सात्विक, संयमी विशिष्ट साधुसन्तहरुलाई निम्त्याएर भागवत श्रवण गर्नुपर्छ है। शुकदेव-परीक्षित परम्परामा नजाने हो भने शास्त्रले पनि सराप्ला है।

– बुद्ध, गोरखनाथ, रत्ननाथ लगायत हाम्रा पूर्वजहरू, तपस्वीहरु र योगीजन पनि देश बिदेशको भ्रमण गर्ने गर्दथेँ , फेरी लगाउने गर्दथे तर जति विदेशको भ्रमण गरे तापनि विदेशिने रहर वा वासना भने कदापि थिएन तर अहिले विदेश जाने जुन क्रेज नेपालमा सुरु भएको छ त्यो केही हदमा आवश्यक होला तर त्यो भन्दा पनि बढी त अंधानुकरण नै हो, भेडा दौड नै हो । तथापि जे होस् , अब यो क्रेजलाई कसरी creative र constructive बनाउने तर्फ नेपालमा भएकाहरुले र विदेशिएकाहरुले पनि समयमै अत्यन्तै गम्भीर भएर सोच्न सक्नु पर्छ । पलायनबाट परायण तर्फ उक्लिने सोच, साहस र संकल्प सबैले गर्नैपर्छ।

– साथै नेपालबाट विदेश घुम्न जाने नेताहरुले पनि केवल पैसा बटुलेर, रक्सीमासु मात्रै खाएर, ठाउँठाउँमा मनपरी डुलेर, जस्तो पायो उस्तो फोटो मात्रै खिचाएर, समयलाई मात्र बर्बाद गरेर, आफ्नो पछाडि व्यर्थ हुल लगाएर अनि पछि नेपालमा फर्केर ‘अमेरिकामा यस्तो गरें, उस्तो गरें’ भनेर फलाक्ने सस्तो प्रदर्शनवृत्ति र तुच्छ सम्मानलाई समयमै परित्याग गर्न सक्नुपर्छ। विदेशिएका नेपालीहरुको आवश्यकता होस्, बाध्यता होस् वा चाहे रहर होस् , तिनीहरूलाई समयमै मर्यादित, उपयोगी र नेपालसेवी बनाउने तर्फ अत्यन्तै गम्भीर चिन्ता र चिन्तन गर्नुपर्छ।

 

संभावनाका द्वारहरु:

अमेरिकन शक्तिसँग वा कुनै पनि विदेशी शक्तिसंग पनि सहकार्य गर्नेतर्फ हाम्रा नेपाली मित्रहरूले सोच र साहस गर्न सक्नुपर्छ। अमेरिका लगायतका ठूलाठूला मुलुकहरुमा बसेका बुद्धिजीवीहरु, व्यवसायीहरु, व्यापारीहरु र विशिष्ट व्यक्तित्वहरुले कहाँबाट के कसरी मानवहित र नेपालहित गर्ने

योजना र कार्यक्रम ल्याउन सक्नुहुन्छ? यसतर्फ सद्भावपुर्ण सोच, साहस, संकल्प र निर्णय गर्न सक्नुपर्छ। सारा विश्व अहिले परिवार जस्तै भएकोछ। ब्रम्हाण्डीय चिन्तन अनुसार यहाँ सानो ठूलो भन्ने केही पनि छैन। “संगच्छध्वं संवदध्वं” को चिन्तन सहित सारा विश्वसंंग हृदय र हात मिलाउन सक्नुपर्छ। जो जहाँ छ त्यहीँबाट नै जुर्मुराउनु पर्छ र सानै पाइला भए पनि चाल्नुपर्छ। तसर्थ –

– नेपालका स्कुल, कालेज र विश्वविद्यालयहरुसँग जोडेर कुनै कार्यक्रम गर्ने हो कि?

– पर्यटन प्रवर्द्धनमा आफ्नै स्तरबाट एकजना व्यक्ति भएपनि नेपाल घुमाइदिन केही सहयोग गर्ने हो कि?

– एक जनालाई मात्र भएपनि कतै कुनै विपन्नलाई, अनाथलाई छात्रवृत्तिको व्यवस्था गरिदिएर सेवा कार्यमा आफु संलग्न हुने हो कि?

– नेपालको कुनै मानव कल्याणकारी संस्थालाई विदेशको कुनै राम्रो संस्थासँग अन्तरसम्बन्ध विकास गर्नमा सहयोग गरिदिने हो कि?

– बिदेशमै पनि सनातन धर्म, संस्कृति र संस्कारलाई नै मूल लक्ष्य बनाएर कुनै बृहद् अन्तर्राष्ट्रिय सम्मेलन गर्ने हो कि?

– त्यस्ता सम्मेलनहरुमा, अन्तर्राष्ट्रिय सभाहरूमा नेपालका विशिष्ट विद्वानहरुलाई, गुरुजनलाई पनि बोलाएर सहकार्यको स्पष्ट सकारात्मक वातावरण सिर्जना गर्ने हो कि?

– विभिन्न प्रकारका प्रशिक्षणहरुमा, सेमिनारहरुमा नेपालका अत्यन्तै राम्रा सकारात्मक क्षमताका धनीहरुलाई, तपस्वीहरुलाई, गुरुहरूलाई बोलाएर नेपालको जयजयकार गर्ने गराउने वातावरणको सिर्जनामा सहयोग पुर्याउने हो कि?

– आयोवाको महर्षि इन्टरन्यासनल युनिभर्सिटीमा भर्खरै सुसम्पन्न भएको इन्टरन्यासनल वैदिक साइन्स कन्फ्रेन्स (अगस्त ३-४, २०२४) जस्तै नेपाल र नेपालीबन्धुहिताय अलि फराकिलो छाती बनाएर सम्मेलनहरु गर्दै शंखनाद गर्ने हो कि?

– आफुले, आफ्ना छोराछोरीले, आफ्नै परिवारजन र निकटका मित्रहरुले मिलेर एक डलर मात्र भए पनि उठाएर नेपालको दुरदराजको कुनै गाउँमा कुनै सेवाकार्यमा सहयोग पुर्याउने हो कि?

– नेपालका बारेमा केही राम्रा लेखहरु लेखिदिएर वा सोसियल नेटवर्कमै भएपनि आफ्नो गाउँठाउँको कुनै राम्रो प्रसंग बारे लेखिदिएर नेपाललाई विश्वमा चिनाउन प्रयास गर्ने हो कि?

– नेपालका राम्रा राष्ट्रियस्तरका संस्थाहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग जोड्नका लागि आफूले कतै सहजीकरण गरिदिने हो कि?

– विदेशमा पैसा कमाएका नेपाली साथीहरुलाई नेपालमै लगानी गर्नका लागि प्रेरित गर्ने हो कि?

– होलिडेका नाममा मनपरी यताउता गएर, फोटो मात्र खिचाएर समय बर्बाद गरिरहेका व्यक्ति र परिवारहरुलाई नेपालमै holiday celebrate गर, त्यहाँ गरिने खर्चले नेपालको दुई राउन्ड गर्नलाई पनि सजिलैसँग पैसा पुग्छ भनेर उत्साहित गरिदिने हो कि?

– डिजिटल प्रणालीलाई प्रयोग गर्दै विदेशबाटै पनि केही शिक्षा, सूचना, प्रशिक्षण आदि प्रदान गर्ने हो कि?

यस्ता केही स-साना कुराहरु छन् तपाईं हामी सबैले सजिलै गर्न सक्छौं। त्यस कारण केवल पानीमाथी ओभानो हुनु भएन । जबसम्म हामी हाम्रो कर्तव्य आफ्नो ठाउँबाट पूरा गर्न सक्दैनौं, हामीले पनि यो मानव चोला प्राप्त गरेको अर्थ के पो भयो र ? हाम्रो मनुष्यत्वको प्रमाण, नेपालीत्वको प्रमाण के भयो र ? हामी अहिले सामर्थ्यवान् छौं, समृद्ध मुलुकका अहिले बासिन्दा भएका छौं तर हाम्रो समृद्धिको परिचय हाम्रो व्यवहारमा आउँदैन भने हाम्रो समृद्धि पनि के मात्र प्रदर्शन हो त? व्यक्तिवाद हो त? स्वार्थ मात्र हो त? भनेर समयमै चिन्ता र चिन्तन गर्नुपर्छ। आफ्नो पेटका लागि त पशु मात्र बाँच्छन्। हाम्रो जीवनमा त परिवार, समाज, राष्ट्र हुँदै सिङ्गो विश्व नै अटाउन सक्नुपर्छ। अनि बल्ल जीवन सुन्दर, सार्थक र पूर्ण बन्छ।

यो लेख लेख्दै गर्दा म सबै मित्रजन, प्रियजन र परिवारजनलाई झल्झली सम्झिरहेको छु। यस लेखको केन्द्रमा अमेरिका भए तापनि ईंग्लेण्ड, अस्ट्रेलिया, म्यानमार, थाइल्याण्ड आदिका लागि पनि प्रार्थना र चिन्तन गरिरहेकोछु। विशेषतः डालसका मित्रहरूलाई हृदयतः धन्यवाद पनि दिन चाहन्छु। यात्रामा भएका विविध सत्संग, संवाद, सुस्केराहरु नै यस लेख, निवेदनपत्र वा सुझावपत्रका मूल आधार हुन्। कतै कुनै सिकाउने वा निर्देशन दिने प्रयास पटक्कै होइन। तर अवश्यमेव हार्दिक आह्वान भने हो- समयमै सचेत भया।

ॐ तत् सत्!!! जय शिवगोरख !

[email protected]
(डा. योगी विगत १९ वर्षदेखि अमेरिकामा बच्चाहरूका लागि समर क्याम्प चलाएर हिन्दू संस्कार, संस्कृति, नैतिक शिक्षाका बारेमा अध्यापन गराउँदै अउनुभएको छ ।