मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

सत्र वर्षदेखि अमेरिकामा नेपाली बच्चा पढाउँदै डा. योगी

सत्र वर्षदेखि अमेरिकामा नेपाली बच्चा पढाउँदै डा. योगी

ड्यालसमा मात्र एकै पटकमा चारसय विद्यार्थी


ड्यालस (अमेरिका) । टेक्ससको ड्यालसमा दुई हप्ते समर क्याम्प (शिविर) समापन गरेर शनिबार साँझ यहाँबाट उँड्नुभएका आध्यात्मिक चिन्तक डा. चिन्तामणि योगी आइतबार लस एन्जलसमा ड्यालसमा जस्तै गरि बालबालिकाहरुलाई धर्म संस्कार, संस्कृतिका बारेमा प्रवचन दिनुभयो । ड्यालसमा दुई समूहमा चार सय बालबालिकाहरुलाई सिकाउने, पढाउन सकृय डा. योगी उत्तिकै जोशका साथ लस एन्जलसमा बालबालिका सामु प्रस्तुत हुनुभएको थियो ।

‘मेरो जीवननै बालबालिकाहरुलाई हाम्रो हिन्दु धर्म संस्कार, नैतिक शिक्षाका बारेमा सिकाउँदा सिकाउँदै यो उमेरमा आइपुगेँ । यी बालबालिकाहरुलाई सिकाउन पाउँदा असाध्यै आनन्द लाग्छ’ लस एञ्जलसबाट डा. योगीले हिमालयखबरसँग भन्नुभयो ।

डा. योगीले नेपालमा दाङ्ग, सप्तरी, चितवन, काठमाडौंमा विद्यापिठ सञ्चालन र व्यबस्थापन गरिरहनुभएको छ । विगत १७ वर्षदेखि हरेक साल समर (वर्षे) याममा अमेरिका आउने काम उहाँको नियमित कार्यतालिकामा पर्छ । अमेरिकामा समर याममा झण्डै तीन महिना विद्यालय, कलेज, युनिभर्सिटीहरु बन्द हुन्छन् । यही मौकामा घरमा बसिरहेका बालबालिकाहरुलाई मन्दिर, सामुदायिक केन्द्रमा जम्मा गरेर उहाँले हिन्दु धर्म, पूर्बीय दर्शन, नैतिक शिक्षाका बारेमा बालबालिकाहरुलाई सिकाइरहनुभएको छ ।

सन् २००७ मा पहिलो पटक टेक्ससको ड्यालसमा बालबालिकाहरुका लागि समरक्याम्प आयोजना भएको थियो । त्यतिखेरदेखि उहाँ निरन्तर आइरहनुभएको छ । ‘त्यतिखेर उहाँले पढाएका बच्चाहरु अहिले छोराछोरीका माता–पिता भैसकेका छन् । उहाँलाई भेट्दा उनीहरु असाध्यै प्रफुल्ल भएर दुई हात जोड्दै शीर उहाँको हातमा लैजान्छन्’ नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष राम सी पोखरेलले भन्नुभयो । पोखरेल सन् २००७ मा पहिलो पटक समर क्याम्प हुँदा नेपाली समाज टेक्ससको अध्यक्ष हुनुहुन्थ्यो ।

नेपाली समाज टेक्ससले सन् २००७ बाट उहाँलाई ड्यालसमा बोलाएर छुट्टीमा बसेका बालबालिकाहरुलाई पढाउन सुरु गर्यो । त्यसपछि डा. योगीलाई अमेरिकाका अन्य राज्यहरु, जहाँ नेपालीहरु छन् त्यहाँ पनि निम्तो आउन थाल्यो । हरेक वर्ष समर याममा डेढ महिनाको कार्यतालिका लिएर उहाँ टेक्ससदेखि क्यालिफोर्निया, आयोहादेखि विस्कन्सिन, इलिनोयजदेखि न्यूयोर्क, मासाचुसेटदेखि न्यूजर्सी, भर्जिनियादेखि कोलोराडोसम्मका नेपाली बालबालिकालाई पढाउन आउने गर्नुहुन्छ ।

‘अरु त यहाँ स्कुलमै पढाइहाल्छन् । तर मैले यो कक्षामा पढाउने चाँही हाम्रो संस्कार, संस्कृति र मुलजरो नेपाल भुल्न नदिनका लागि बालबालिकाहरुलाई सिकाउँदै आएको छु’ डा. योगीले हिमालयखबरसँग भन्नुभयो । सुरुवातमा समर क्याम्प अर्थात बालबालिकाहरुको शिविर सञ्चालन गर्न निकै गाह्रो भएको तर डा. मुरली अधिकारी, राम सी पोखरेल, टीका पौडेल लगायतको सकृयताले अहिलेसम्म यो शिविरमा सहभागिता बढ्दै गएको स्मरण समेत उहाँले गर्नुभयो ।

त्यतिखेर अभिभावकबीच जोडिँदै गएर आज भव्य पशुपतिनाथ तथा बुद्ध मन्दिरको स्वरुप ग्रहण गर्न सफलता मिलेको समेत उहाँको अनुभूति छ । शिविरमा सहभागी हुने बालबालिकाहरुको स्वभाव, हिन्दु सनातन धर्म, आपूmभन्दा अग्रजहरुलाई सम्मान, नेपालप्रतिको चासो र मायाँ, गुरु प्रति दर्शाउने सम्मानमा ठूलो परिवर्तन भएको महसुस डा. योगीले मात्र नभएर समाजले समेत गरेको छ ।

‘यहाँ सञ्चालित शिविरमा आउने बच्चाहरु कोही बिग्रिएका छैनन् । अनुशासित, पढाईमा मेहनती हुँदै अहिले ६ अंकको पारिश्रमिक खानेमा छन् । यो शिविरकै प्रतिफल पनि हो’ समाजसेवी एवं युलेस सिटीका उपमेयर टीका पौडेलले भन्नुभयो ।

ड्यालसमा हरेक वर्ष दुई हप्तासम्मको शिविर सञ्चालन हुँदै आएको छ । अमेरिकाका अन्य राज्य, शहरहरुमा भने बढीमा ५ दिनसम्मको भएको अनुभव उहाँको छ । ‘ड्यालसको नेपाली समुदाय ठूलो मात्र नभै बालबालिका, मन्दिर प्रति असाध्यै समर्पित छ । बालबालिकाहरुलाई समयमै आफ्नो संस्कार, संस्कृति सिकाउनुपर्छ भन्ने ठूलो हुटहुटी ड्यालसमा छ । त्यही भएर यस पटक सिनियर र जुनियर गरि दुई चरणमा समेत यहाँ भएको छ’ उहाँले नेपाली समुदायको प्रशंसा गर्दै भन्नुभयो ।

ड्यालसको दुई हप्ते समर कक्षाको शिविर सम्पन्न गरेर निस्कनुभएको डा. योगीले आइतबार लसएञ्जलसमा त्यहाँका नेपाली बालबालिकाहरुलाई पढाउनुभयो । त्यहाँपछि सानफ्रान्सिस्को, सेक्रामेन्टो, आयोहा, विस्कन्सिन, सिकागो, बोष्टन, न्यूयोर्क, बाल्टिमोर, डिसीमा समेत बालबालिकाहरुलाई पढाउने कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

‘बीचमा कोरोनाका कारण र एक वर्ष प्राविधिक कारणले गुरु आउन सक्नुभएन । नत्र भने उहाँले हरेक वर्ष अमेरिका आएर नेपाली बालबालिकाहरुलाई एउटा असल नागरिक, पूर्बीय संस्कार, संस्कृतिका बारेमा भरपुर शिक्षा दिइरहनुभएको छ’ नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले भन्नुभयो । उहाँले हरेक वर्ष एक हप्ता मात्र पढाउँदा पनि बालबालिकाहरुको बुझाई, मातापिता प्रतिको श्रद्धा गर्ने स्वभावमा ठूलो परिवर्तन, हिन्दु धर्मप्रतिको आस्थामा बढोत्तरीको प्रभाव महसुस गरेर हरेक वर्ष संस्थाले अमेरिका बोलाएर शिविर सञ्चालन गरेको हो ।

ड्यालसमा नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले हरेक वर्ष संयुक्त रुपमा यो शिविर सञ्चालन गर्दै आएका छन् । नेपाली समाज टेक्ससले ग्लोबल नेपाली पाठशालाका नाममा नेपाली विद्यार्थीहरुलाई हरेक शनिबार र आइतबार अध्यापन पनि गराउँदै आइरहेको छ ।