मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

स्वास्थ्य बिमा रकम बढाएर पाँच लाख पुर्‍याउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

स्वास्थ्य बिमा रकम बढाएर पाँच लाख पुर्‍याउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

हिमालय खबर

शेयर गर्नुहोस:

459
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको रकम बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर समारोहमा उनले संघ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम ३१ अर्ब रुपैयाँलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बिमालाई पाँच लाख रुपैयाँ पुर्‍याउने जानकारी दिए ।

मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बिमा बोर्डमा हाल्नुपर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेकामा जोड दिए ।

उनले हस्ताक्षर र सम्झौताले अर्बुद रोग उपचारका लागि नागरिकलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यतालाई केही हदसम्म अन्त्य हुने धारणा राखे । मन्त्री पौडेलले भने, “जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्नु हुँदैन, जनतालाई लोकतन्त्रको महसुस गराउन स्वास्थ्य सेवासुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क हुनुपर्छ, आफ्ना क्षमताले भ्याएसम्म जनताको उपचारमा लाग्नुपर्छ ।”

उनले कोशी अस्पतालको सेवा भद्रगोल भएकामा चिन्ता व्यक्त गर्दै जनताको सेवासुविधालाई मन्त्रालयले बनाएको नियम, कानुन र नीतिको पालन गर्न निर्देशन दिए ।

मन्त्री पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा हो भन्दै अस्पतालले नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रुपमा कायम गर्नुपर्नेमा जोड दिए ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविनराज सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

हाललाई भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पतालमा प्रत्येक महिना छदेखि १० जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने भक्तपुर अस्पतालका निर्देशक चालिसेले जानकारी दिए । कोशी अस्पतालले विसं २०७२ देखि अर्बुद रोगको उपचार गर्दै आइरहेको छ ।