मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   
विचार / ब्लग    

होची होची कदकी हल्का मोटी ‘ज्योति’ यथार्थमा आरोप लागे जति खोटी लागेन

होची होची कदकी हल्का मोटी ‘ज्योति’ यथार्थमा आरोप लागे जति खोटी लागेन


तीजको लहर आयो बरी लै…

माथि उल्लेखित हरफ नेपालीहरुको महान चाड हरितालिका तीज लक्षित बहुचर्चित कालजरी गीत को अंश हो। जो वर्षौदेखि तीजको सरोफेरोमा अत्यधिक गुञ्जिने गरेको छ। योसंगै तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्।जब तीज नजिकिन थाल्छ, तब यस्ता तीज लक्षित गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन्। जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ। यस वर्ष पनि हरितालिका तीज नजिकिसकेका कारण तीज लक्षित गीतहरु गाँउदेखि सहरसम्म, देशदेखि विदेशसम्म गुञ्जिन थालिसकेका छन्। र, नेपालीहरुमा उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ। नारीदेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ। कलाकारहरुलाई त झन भ्याइनभ्याइ भइरहेको छ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासका आधारमा सोही अनुसार यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दू धर्मावलम्बी नारीहरुले विवाहित भए पतिको सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा, अर्चना, स्तुति र प्रार्थना गरी यो चाड भव्यताका साथ मनाउने गरिन्छ। यसका अतिरिक्त यस चाडलाई माइती र चेलीबिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, नारी अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ।

यही बहुआयामी चाड तीजको मौका छोपेर फ्लाइ नेपाले अमेरिकाको विभिन्न सहरहरुमा आयोजना गर्ने गरी सांगीतिक कार्यक्रमको तजबीज मिलायो। र, त्यही कार्यक्रममा आफ्नो प्रस्तुति दिन चार नारी कलाकारहरु करिश्मा ढकाल, रचना रिमाल, शान्तिश्री परियार र ज्योति मगर पहिलो पटक अमेरिका भित्रिए। उनीहरुले आफ्नो सांगीतिक दौडाहाको पहिलो प्रस्तुति अमेरिकाको ऐतिहासिक सहर बोस्टनबाट सुरु गरे।जिन्दगीको एउटा महत्वपूर्ण काल खण्डमा आफू पनि सांगीतिक क्षेत्रमा बेहिसाब डुबेको र गीत संगीत प्रेमी भएको नाताले कार्यक्रमप्रति मेरो पनि निकै चासो रह्यो। र, पत्रकारिताको कोणबाट कार्यक्रमलाई नजिकबाट नियाल्न पुगें।

बोस्टनमा सम्पन्न कार्यक्रम सरसरती भन्नु पर्दा चार नारी कलाकारहरुले आफ्नो छवि कायम राख्दै कार्यक्रमको नाम ‘अब नाच्छ अमेरिका’ प्रति न्याय नै गरेको अनुभूति भयो। मोडल तथा नृत्यङ्गना करिश्मा ढकालको आकर्षक नृत्यहरु कदरयोग्य थिए। स्थानीय कलाकारद्वय सुशिला बस्नेत तिमल्सिना र सुश्मा अधिकारीलेसमेत मञ्च साझा गर्न पाएको उक्त कार्यक्रममा, रचना रिमाल, शान्तिश्री परियार र ज्योति मगरको सांगीतिक प्रस्तुतिहरुले कार्यक्रमको नाम अनुसार दाम लिएको र दाम लिए अनुसार काम भएको सहभागीहरुको प्रतिक्रिया थियो।

यही कार्यक्रमको दौरानमा आफूले देखेका, सुनेका र मनन गरेका कुराहरुका आधारमा चार नारी नेपाली कलाकारहरुप्रति मेरो मनमा छुट्टा छुट्टै धारणा बन्न पुगेको छ। जस मध्य यहाँ ज्योति मगरप्रति मेरो मनमा बनेको धारण यहाँहरु समक्ष साझा गर्ने अनुमति चाहन्छु:

नेपाली सांगीतिक क्षेत्रको दुनियामा ज्योति मगरको नाम र चर्चा नसुन्ने सायद कमै होलान्। उनलाई र उनको गीत संगीतलाई रुचाउनेहरुको संख्या निकै ठूलो छ। यद्यपि, गीतका शब्द, पहिरन, प्रस्तुति, हाउभाउ, अभिव्यक्ति आदिका कारण ज्योति बेलाबेलामा विवादमा पर्ने गरेकी छिन्। समाजको एउटा तप्काले उनलाई सुनामका भन्दापनि बदनामका विभिन्न नाम तथा विशेषणहरु दिएका छन्। जो उनले वर्षौदेखि झेल्दै र बेहोर्दै आइरहेकी छिन्।

अमेरिकाको सांगीतिक दौडाहाको पहिलो प्रस्तुति दिन गत अगस्ट ८ तारिख बोस्टन आइपुगेको ज्योतिसहितको टोलीसंग साँझ आयोजित ‘भेटघाट तथा स्वातग’ कार्यक्रमममा म पनि उपस्थित हुने अवसर पाएको थिएँ। अरु तीन कलाकारहरु झै सामन्य पहिरनकै हुलियामा उपस्थित ज्योतिले त्यतिबेला उनी माथि लगाइएको बदनामको ट्यागलाई असत्य साबित गरिदिएकी थिइन्। परिचयको क्रममा उनले ‘म ज्योति मगर ब्राकेटमा अविवाहित’ भनेर ठट्टा गर्दै मौन माहोललाई एकाएक रमाइलोमा परिणत गरेकी थिइन्। उनको त्यो भनाइले सबैलाई निकै हसायो। कार्यक्रमका बारेमा बोल्दै उनले चारै जनाको अमेरिका आगमन र सांगितिक कार्यक्रम पहिलो पटक भएको र सांगीतिक कार्यक्रम रमाइलो हुनुका साथै महिला सशक्तिकरणको लागि एक नमूना कार्यक्रम हुने दावी गरेकी थिइन्।

कार्यक्रमको दिन अगस्ट १० तारिख शनिबार साँझ ज्योति अन्तिम प्रस्तोताका रुपमा मञ्चमा उत्रिइन्। मगर भेषभुषामा सजिएकी ज्योतिले तीज, चेलीका व्यथा, कथा र सामाजिक तथा पारिवारिक अवस्थाको चित्रण गर्ने ‘माईतीको मया बरीलै…गीत पहिलो सौगातका रुपमा पस्किएकी थिइन्। उनको त्यो प्रस्तुतिले कार्यक्रम स्थललाई एकाएक एकछिन निकै भावुक बनाएको थियो। उनले कान्छी मुसुक्कै, पैसा भुसुक्कै, खोली भित्र पानी, पहिलो भेटमै…गीतहरु गाएर सहभागिहरुलाई धित मर्ने गरी नचाइन्।

उनले मगर जातिको पहिचान खुल्ने पोशाक शरीरबाट उतारेर घाङ्गर (वन पिस) आफ्ना चर्चित गीतहरु ढाडे बिरालो, उही मुलाको सिन्की, जाली रुमाल, जिम्मल बाउकी छोरीलगायत गीतहरु गाएकी थिइन्। गीत गाउने क्रममा उनले नारी अधिकार, समानता, स्वतन्त्रता र सशक्तिकरणको पक्षमा वकालत गर्दै सन्देशमूलक महत्वपूर्ण अभिव्यक्तिहरु पनि दिएकी थिइन्। आफ्नो प्रस्तुतिका क्रममा ज्योतिले गीत मात्र गाइनन्। उनले गीत संगीतसंग तालमेल मिलाउदै आफूमा रहेको सीप, कला, उर्जा, जोस, जाँगर, आत्मबल, अठोट, आत्मविश्वासलाई पनि आकर्षक ढंगबाट पस्किन सफल भएकी थिइन्। प्रस्तुतिका क्रममा सहभागीहरुले उनीसंगै नाच्न, गाउन र हास्न कुनै कसर बाँकी राखेनन्। सांगीतिक प्रस्तुतिको अन्त्यमा, ज्योतिले आयोजक र सहभागीहरुको मन छुने अभिव्यक्ति दिदै आफ्नो प्रस्तुतिलाई बिट मारेकी थिइन्।कार्यक्रमको अन्तमा, कलाकारहरुलाई सम्मान प्रकट गर्दै सामुहिक तस्बिरहरु खिचाए पछि कार्यक्रममा पूर्णविराम लगाइएको थियो।

बोस्टनमा उत्रिए पछि आयोजित ‘भेटघाट तथा स्वागत कार्यक्रम र मूल सांगीतिक कार्यक्रममा सरिक भएपछि चिन्तन मनन गर्दा, होची होची कदकी हल्का मोटी ‘ज्योति’ यथार्थमा आरोप लागे जतिको स्तरमा खोटी नरहेको निश्कर्षमा पुगें म। यस्तै निश्कर्ष अधिकांश सहभागीहरुको पनि रहेको उनीहरुले दिएको प्रतिक्रियाहरुले पुष्टि गरेको छ। उनको त्यो अर्थपूर्ण उपस्थित र बेजोड प्रस्तुतिले सहभागिहरुलाई सांगीतिक आनन्द मात्र नभएर महत्वपूर्ण सन्देशहरु पनि दिन सफल भएको र नारीहरुलाई मात्र नभएर पुरुषहरुलाई पनि उत्प्रेरणा, आँट, भरोसा र उर्जा दिएको मेरो बुझाइ रह्यो। एक हिसाबले भन्नु पर्दा उनी कार्यक्रमकी मूख्य आकर्षणको केन्द्र बनेकी थिइन्।

जि्म्मल बाउकी छोरी…गीतको दौरानमा भूमिका बाँधने क्रममा उनले मानिसको जिवनचक्रको प्राकृतिक प्रक्रियालाई हसाउने अस्त्रको रुपमा चित्रण गर्दा भने निकै असहज अनुभूति पक्कै भयो। यो अनुभूति अधिकांश परिवार, आफन्त र नातेदारहरुसहित उपस्थित सहभागिहरुले पनि गरे। जुन कुरा त्यो स्तरमा नगरिदएको भए हुन्थ्यो भन्ने लाग्यो।

कयौ यौन र यौनिकतासंग सम्बन्धित प्रकृति प्रदत्त कुराहरु प्राणीजगतले जन्मसिध्द सिकेको हुन्छ। त्यसलाई ठाँउ न ठहर व्याख्या गरिराख्नु जरुरी पनि हुदैन भन्ने लाग्छ। यद्यपि, सोही प्रसंगमा आफ्नो जन्म, पहिचान, अस्तित्व, पेशा, योग्यता, क्षमता आदिकाबारेमा उनले गरेको गर्व सबैका लागि तारिफयोग्य र मननयोग्य थियो। उनको कला, गला, चोला र सीप नेपाली गीत संगीतको क्षेत्रको लागि र नेपाल र नेपालीका लागि अति अमूल्य र महत्वपूर्ण छ। तसर्थ, उनमा रहेको कला, गला, सीप, क्षमता, शिक्षा, ज्ञान, समर्पण, उर्जा, उत्साह, उमङ्ग, आँट, साहस, आत्मविश्वास आदिलाई नेपाली गीत संगीत र समाजको उत्थानका लागि भरपूर सदुपयोग गर्न सक्नु पर्दछ। ज्योतिले पनि त्यसका लागि सचेतनाका साथ आफूलाई समर्पित गर्नु पर्दछ।

पहिले पनि हेटौंडामा भएका मेलाहरुका दौरानमा उनीसंग मेरो भेट भएको थियो। झण्डै आठ वर्षको अन्तराल पछि भेट्दा उनको गला, कला, चाला, सीप, प्रस्तुति, बोलीबचन, व्यवहार, जिम्मेवारी, नेतृत्वदायी भूमिका आदिमा निकै परिपक्कता र निखारता आएको पाएँ। यो स्थितिसम्म आइपुग्दा उनले कति मेहनत र संघर्ष गर्नु पर्यो र कति उतार चडाव बेहोर्नु पर्यो होला भन्ने एकिन अनुमान गर्न सतहीमा रहेर त निकै गाह्रो छ।

प्रारम्भिक चरणमा चाहेर होस् या नचाहेर, परिस्थिति जन्य होस् या स्थिति, आफनो कारण होस् या अरुको, उनले चालेका कदमहरु र गरेका गतिविधिहरुले उनलाई प्रशंसाको नामसंग संगै घृणाको बदनाम पनि दिलायो। अब भने ज्योतिले निकै होसियारीका साथ अघि बढ्नु पर्छ। किनकी उनी अहिले धेरैका लागि आदर्श व्यक्तित्व बनिसकेकी छिन्।

त्यसैले अब उनले आफू माथि लागेको बदनामको ट्यागलाई हटाएर प्रशंसाको नामलाई थप उचाइमा पुर्याउनु जरुरी छ। यही अपेक्षा गरिरहेका छन् उनका समर्थक र सुभचिन्तकहरुले पनि। सायद अमेरिकाको सांगीतिक दौरानका क्रममा अमेरिकाबासी प्रवासी नेपालीहरुले ज्योतिलाई गरेको सत्कार, सम्मान र दिएको साथ सहयोगबाट उनले प्रत्यक्ष अनुभूति गरिरहेकै होलिन्। र, चिन्तन मनन गरेर आत्मसात् गरिरहेकै होलिन् भन्ने लागेको छ। यि मेरा केवल एक सुभेच्छुकका नाताले प्रकट गरेको सुभेच्छाहरु र विश्वास मात्र हुन्। सल्लाह दिएको भने होइन। अन्तमा, ज्योतिसहित टोलीमा रहेका अन्य कलाकारहरु रचना रिमाल, करिश्मा ढकाल र शान्तिश्री परियारको अमेरिका बसाइ सुखद, सुरक्षित, आरमादयी र फलदयी रहोस् ! र, कार्यक्रम पूर्ण सफल रहोस् ! कामना ! साथै, हरितालिका तीजको पनि अग्रिम शुभकामना !