वासिङ्टन । रूससँगको कैँदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्सकोभिच, अल्सु कुर्मासेभा र पूर्वअमेरिकी नौसैनिक पल ह्वेलनस्वदेश फिर्ता भएपछि उनीहरूको अमेरिकामा भव्य स्वागत भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पत्रकार इभान गेर्सकोभिचलाई अँगालो हालेर स्वागत गरेका थिए । वाल स्ट्रिट जर्नलका रिपोर्टर गेर्सकोविच, पूर्वअमेरिकी नैसैनिक ह्वेलन र पत्रकार कुर्मासेभा विमानबाट ओर्लेपछि परिवार र साथीभाइले खुसीयाली मनाएका थिए ।
खोज पत्रकारका रूपमा वाल स्ट्रिट जर्नलमा काम गर्ने सिलसिलामा गेर्शकोभिचलाई रूसमा पक्राउ गरिएको थियो । रूससँगको कैँदी आदानप्रदान सम्झौतामा उनीहरूसहित ठूलो सङ्ख्यामा कैदी आदानप्रदान भएपछि बिहीबार अमेरिका फिर्ता भएका हुन् ।
वासिङ्टन नजिकैको ज्वाइन्ट बेस एन्ड्रुजमा रूससँगको कैदी आदानप्रदानमा स्वदेश फिर्ता भएका नागरिकसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने, “उहाँहरू आउन निकै लामो समय लागेको छ । यो महसुस भएको छ ।”
शीतयुद्धपछिको सबैभन्दा ठूलो पूर्व–पश्चिम कैदी अदलाबदलीका क्रममा रूसले बिहीबार दुई दर्जन बन्दीलाई रिहा गरेको थियो । अमेरिकी रेजिडेन्सीमा कार्यरत क्रेमलिनका प्रखर आलोचक चौथो कैदी भ्लादिमिर कारामुर्जा पनि अलग्गै संयुक्त राज्य अमेरिका फर्किएका छन् ।
टर्कीको राजधानी अङ्कारास्थित विमानस्थलको टाक्र्याकमा भएको नाटकीय आदानप्रदानमा रूसमा कैद गरिएका अमेरिकी र अन्य सहयोगी मुलुकका गरी कुल १६ जना र दुई नाबालकसहित कुल १० जना रूसी नागरिक रिहा भएका हुन् ।
“गठबन्धनले फरक पार्छ । उनीहरूले कदम चाले र हाम्रा लागि यो मौका दिए,” बाइडेनले जर्मनी, पोल्याण्ड, स्लोभेनिया, नर्वे र बेलारुसलाई पनि सामेल गर्ने सम्झौताबारे भन्नुभयो ।
बाइडेनले सन् २०२४ को राष्ट्रपतीय चुनावबाट नाम फिर्ता लिएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका सम्भावित उम्मेदवार ह्यारिसले ‘असाधारण दिन’ को घोषणा गर्नुभएको थियो ।
रिहा गरिएका कैदी र उनीहरूका आफन्तहरू अब ब्रुक आर्मी मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण र आवश्यक पर्ने कुनै पनि हेरचाहका लागि टेक्सासको सान एन्टोनियो जाने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एएफपी
प्रतिक्रिया