मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

समर क्याम्पमा चारसय नेपाली बालबालिका सहभागी

समर क्याम्पमा चारसय नेपाली बालबालिका सहभागी

हिमालय खबर

शेयर गर्नुहोस:

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस, अमेरिका । हरेक वर्ष समर याममा हुँदै आएको समर क्याम्प यस पटक पनि ड्यालसमा शनिबार सम्पन्न भएको छ ।

नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको समर क्याम्पमा यस पटक नेपाली समुदायका चारसय बालबालिकाहरु सहभागी थिए ।

बालबालिकाहरुको उमेरअनुसार दुई चरणमा गरिएको शिविरमा नेपाली संस्कृतिका प्रकाण्ड विद्वान् डा चिन्तामणि योगीले नेपाली भाषा, संस्कृति, नैतिक शिक्षाका प्रशिक्षण दिएका थिए ।

हरेक वर्ष अमेरिकामा स्कुल बिदा भएको समय (समर याम)मा टेक्ससको नेपाली समुदायले आफ्नो भाषा, संस्कृति, संस्कारका बारेमा बालबालिकाहरुलाई ज्ञान प्रदान गर्न डा योगीलाई ल्याएर समर क्याम्प सञ्चालन गर्दै आएको छ । विगतको भन्दा ड्यालस फोर्टवर्थमा नेपाली समुदायको संख्या वृद्धि भएको र विद्यार्थीको संख्या निकै बढेकोले दुई चरणमा गरेर कक्षा सञ्चालन गरिएको थियो ।

शनिबार आयोजित समापन समारोहमा बालबालिकाहरुले सिकेको कला प्रदर्शन गरेका थिए । त्यस अवसरमा डा योगीले आफूले नेपालमा पनि थुप्रै संस्कृत गुरुकुलहरु सञ्चालन गरेको भए पनि अमेरिका आएर बालबालिकाहरुलाई नेपाली भाषा, संस्कार, संस्कृति पढाउन पाउँदा असाध्यै आनन्द लाग्ने गरेको अनुभव सुनाए ।

उनले यस्ता शिविरमा आएका बालबालिकाहरुले आफ्नो संस्कार कहिल्यै नभुल्ने सन्दर्भ उल्लेख गर्दै आफ्नो छोराछोरीलाई आफ्नोपन दिन शिविरमा पठाउनसमेत आग्रह गरे ।

त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले दुई सातासम्म कक्षा सञ्चालन गर्नु सजिलो विषय नभएको चर्चा गर्दै समुदायको सहयोग, सदभावले कठिन कार्य सम्पन्न भएको बताए ।

त्यस अवसरमा युलेस सिटीका उपमेयर टीका पौडेलले एक दशकअघिको सम्झना गर्दै आफ्ना छोराछोरी शिविरमा ल्याउन निकै कठिनाइँ भएको र त्यतिखेर शिविरमा सहभागी भएकै कारण आफ्नो संस्कारलाई छोराछोरीले सदा अवलम्बन गरिरहेको बताए ।

त्यस अवसरमा विद्यार्थीहरुलाई प्रमाण पत्रका साथै दुई सातासम्म नियमित स्वयमसेवा गर्ने स्वयम्सेवकहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

बालबालिकाहरुका लागि सञ्चालन हुँदै आएको समर क्याम्प टेक्ससको नेपाली समुदायमा नमुना कार्यक्रममा रुपमा चिनिँदै आएको छ । विगत १७ वर्षदेखि हरेक वर्ष समर क्याम्प हुँदै आएको छ । सन् २०२० र २०२१ मा कोरोनाका कारण समर क्याम्प हुन सकेन ।