-कृष्ण मुरारी ज्ञवाली
यथा धेनु सहस्रेषु वत्सो गच्छति मातरम्।
तथा यच्च कृत कर्म कर्तार मनु गच्छति”।।
हजारौं गाईका बीचमा पनि बाच्छी आफ्नी माता सँगमा जान्छ, ठीक त्यसै गरी जस्ले जस्तो कर्म गर्छ, त्यो कर्मको फल उसैले भोग्न पर्छ । भ्रष्टाचारबाट प्राप्त फाइदा परिवार जनले प्राप्त गरे पनि नरक यात्राको कष्ट भ्रष्टाचारीले नै भोग्नु पर्छ ।
तक्षकस्य विषं दन्ते मक्षिकाया विषे शिरे।
वृश्चिकस्य विषे पुच्छे सर्वाङ्गो दुर्जने विषम्”॥
सर्पका दातमा विष हुन्छ । झिङ्गाको शिरमा विष हुन्छ । विच्छीको पुच्छरमा विष हुन्छ । दुर्जन (भ्रष्टाचारी) को सबै अङ्गमा विष भरिएको हुन्छ । त्यसले राष्ट्रलाई नै खतम पार्छ । भ्रष्टाचार दुई शब्दको मिलन, भ्रष्ट नीति विपरित, आचारवानी अर्थात निर्धारित नीति नियम र कानून विपरित गरिने बानी-व्यहोरालाई भ्रष्टाचार भन्नसकिन्छ । कुनै पनि देशले आफ्नो समाज रीतिरिवाज परम्परा संस्कृति ऐतिहासिक मूल्य मान्यतालाई आधार बनाएर विधान तयार गर्न धर्मको ठूलो भूमिका रहेको हुन्छ। हाम्रो देश वैदिक सनातन परम्परा भएको देश हो। पुराणहरुले नेपाललाई देवभूमि नामाकरण गरेकाछन्। देवताकै पालादेखि लिखित र अलिखित नीति नियम चल्दै आइरहेकाछन् ।
वेद र पुराणहरुलाई आधार बनाएर मनुले दिनु भएको विधान “मनुस्मृति” विदुरले दिनु भएको नीति ‘विदुर नीति” विष्णु शर्माले दिनुभएको नीति-चाणक्य नीति” आदि छन्। यिनीहरुलाई आधार बनाएर नेपालले परापूर्वकालदेखि राजनीति संचालन गर्दै आएको भन्न सक्छौं । राज्यमा व्यक्तिका व्यवहारमा परिवर्तन हुँदै गर्दा विधानमा पनि कानून थपिदै जान्छन्। जब व्यक्तिमा नैतिकता धर्मराउछ अनि अतिस्वार्थवादले प्रवेश पाउँछ, अनि जन्मिन्छ भ्रष्टाचार। नेपालमा राणाकालिन समयदेखि प्रारम्भ भएको भ्रष्टाचार आज ८० को दशकसम्म आइपुग्दा प्रत्येक नेपालीलाई आत्मग्लानी भइरहेको छ। ‘जस्तो विउ उस्तै बोट, जस्तो मलजल उस्तै फल’। त्यसै भएर फल किन हामीले सोचेजस्तो भएन भनी चिन्तित हुँदा बीउ कसरी तयार भयो त्यहाँ पुग्नु जरूरी छ। राणाकालीन गाउँ-समाजमा जो टाठो छ, त्यो राणाको नजिक हुने अनि गाउँको न्याय व्यवस्था जमिनको तिरो आदिको जिम्मेवारी उसैले पाउने बेला थियो।
यातायात र संचार नभएको अनि शिक्षा त शून्य प्राय, त्यो समयमा गाउँका जिम्वाल-मुखियाको स्वेच्छाचारी चरित्र भएकाले सरकारी जग्गा आफूलाई मनलागेको मान्छेका नाममा सजिलै बनाइदिने, यौन, तथा कुटपिट, झै-झगडा आदिमा आफूलाई जे गर्दा फाइदा हुन्छ त्यस्तै निर्णय गरिदिने गर्थे र त्यही बानी समाजमा परम्परा बन्न पुग्यो। न्याय-निसाफ ख्याल नगरी गरिएका निर्णय र त्यसबाट प्राप्त आम्दानीबाट परिवारलाई भरण-पोषण शिक्षा-दीक्षा हुँदै गर्दा जस्तो प्रवृत्तिको पोषण भएको छ, विचार बुद्धि पनि त्यस्तै हुन्छ भन्ने भनाई छ। वंशानुगत गुणहरु पनि रगतको माध्यमबाट सन्तान दरसन्तानमा सदै गयो। समाजमा पढ्ने पनि तिनैका सन्तान हुने भए। सोझा निमुखालाई जीवन धान्नै गाह्रो भएको वयबेला पढाइ कुन चराको नाम हो थाहै भएन।
देशमा राजनीतिक परिवर्तन सँगै व्यवस्था परिवर्तन हुँदै गए। गाउँका जिम्वाल-मुखियाको चलन हट्यो। सरकारले यी सबै काम कारवाही कर्मचारी मार्फत गराउन थाल्यो । ती कर्मचारी पनि तिनै जिम्वाल, डिट्ठा, मुखिया, आठपहरिया, ढोके, हुक्के, आदिका सन्तान, आफन्त, नातागोता आदिनै हुन पुगे। वंशानुगुणले युक्त भएका कर्मचारीले आफ्ना बाउ बाजेका भन्दा १० गुना भ्रष्ट व्यवहार देखाउन थाले। समाजपनि त्यसरी गरिएका भ्रष्टाचारलाई सहजरुपमा लिन थाल्यो। भ्रष्टचार गरी कमाउने कर्मचारीलाई समाज बहिष्कार गर्ने प्रचलन गरेका भए आज यो दिन देख्न पर्ने थिएन । आर्थिक अपचलन गर्न मिल्ने कार्यालय सबै कर्मचारीको रोजाइ भयो। तलब त एउटै हो आखिर हुलाकका कर्मचारीलाई छोरी नदिने भन्सार र मालपोतका कर्मचारी खोज्ने । एउटा कर्मचारीले भ्रष्टाचार गरी घर बनायो, संगै जागीर खाने अर्को कर्मचारी जस्ले घर बनाएन, तलबको भरमा छ, उस्लाई समाजले कमाउन नसक्ने नामर्दको पगरी लगाइदिने। भ्रष्टाचारीलाई प्रगति गऱ्यो भनेर प्रशंसा गर्ने काम समाजले नै गऱ्यो । मुहान नै दुषित भएपछि खोला कसरी स्वच्छ हुन्छ?
भ्रष्टाचार भन्नाले आर्थिक अपचलनलाई मात्र बुझ्यौं भने भ्रष्टाचार शब्दलाई अन्याय गरेको ठहर हुन्छ । साँघुरो घेरा भित्र यो शब्दलाई राख्नु हुँदैन। यस्लाई फराकिलो गरी सोच्नु पर्छ। सार्वजनिक पद धारण गर्ने कर्मचारी, शिक्षक अर्थात राष्ट्रसेवकले कुनै दल विशेषको कार्यकर्ता भइ हिंड्नु, प्रचार-प्रसार गर्नु पनि भ्रष्टाचार हो । किसानले तरकारी बालीमा विषादी प्रयोग गरी बजारमा विषादि प्रयोग नगरेको भन्नु, गाई भैंसीको दूधमा पानी मिसाउनु, ऋृण लगानी गर्नेले वढी व्याज लिनु, ऋृण लिएकाले साँवा नै नतिर्नु, व्यापारमा तौल गडवड गर्नु, घिउमा पिंडालु मिसाउनु, खाद्य पदार्थमा मिसावट, चामलमा ढुङ्गा, मसुरोमा अंकरा मिसाउनु पनि भ्रष्टाचार हो ।
हाम्रा धार्मिक ग्रन्थले नैतिकता सिकाएको छ। जस्ले आध्यात्मिक ज्ञान हासिल गरेन उस्ले राजनीति गऱ्यो भने परिणाम यस्तै आउने हो । भानुभक्तको जीवनीबाट हामी थाहा पाउँछौं कि त्यसवेला भ्रष्टाचारलाई कुन रुपमा हेरिन्थ्यो। भानुभक्तका पिता घनञ्जय आचार्य हुलाकका कर्मचारी १ पैसा हिसाव मिलेन उनको मृत्यु पश्चात् भानुभक्त आचार्यले पिताको त्यो हिसाव मिलाउँदा जेल समेत जान परेकोबाट त्यो बेला राजस्वलाई कसरी हेरिन्थ्यो भन्ने कुरा थाहा हुन्छ। यस्तो देश आज कुन अवस्थामा छ । धर्म नीतिको आधारमा राजनीति चल्नु पर्छ, तर नेपाल यस विषयमा तुवाँलो भित्रको काग झैं भएको छ ।
देशमा विभिन्न दल छन्, दलका कार्यकर्ता छन्। निर्वाचन आउँछ, कार्यकर्ता र मतदाताहरूलाई दशैं आए जस्तो लाग्छ। कुनै पनि कार्यकर्ता आफ्नो पार्टी र नेताको प्रचार गर्न पैसा नदिएसम्म एक पाइला चाल्दैन। मतदाता मासुभात, रक्सी नदिएसम्म मतदान गर्दैन। योग्य व्यक्ति छान्ने भन्ने कुरा कागजमा मात्र सीमित रहयो । उमेदवार हुन पनि पैसाको खेल। चुनावमा भागलिन पनि पैसाको खेल। पानी बगे सरी पैसा बगाएर जितेको व्यक्ति ५ वर्षसम्म खर्च भएको पैसा र आउने चुनावलाई चाहिने पैसा जुटाउन थाल्छ । उ कसैसँग डराउँदैन किन भने उस्ले सबैलाई किनेको छ। न पार्टी नेतृत्वसंग नैतिकता छ, न जनता संग नैतिकता छ। त्यसैले त भ्रष्टाचार मौलाई रहन्छ।
भ्रष्टाचारको अर्को पाटो “काठमाण्डौको आकर्षण पनि हो। कर्मचारी नेता सबैलाई काठमाण्डौमा घर चाहियो। गाडी चाहियो।महगा भौतिक सामान चाहियो । यी सबै पूर्ति गर्न आर्थिक अपचलन गर्ने पऱ्यो । काठमाण्डौ उपत्यका बाहिरबाट आउने नेता र कर्मचारी को बाहुल्यता रहेको यो शहर पहिले यहाँका बासिन्दाका लागि यहाँ उत्पादित अन्न प्रयाप्त हुन्थ्यो तर आज एकदिन बाटो बन्द भयो भने जन जीवन प्रभावित हुन्छ। वि.सं २०२५ सालमा राजा महेन्द्रबाट “गाउँ फर्क राष्ट्रिय अभियान” लागु भएको थियो। आफू जन्मेको गाउँलाई उच्चवर्गले छोड्न र बिर्सन नसक्ने गरि लागि गरिएको त्यो असल अभियानलाई राजनीतिको खोल ओढाएर बदनाम गराइयो। उच्च पदस्थ कर्मचारी नेताहरुले आफ्नो जन्म स्थल छोड्न नपाउने नीति भएको भए ती पिछडिएका ठाउँको विकास हुन्थ्यो। काठमाण्डौंको मात्र आकर्षण बढ्ने थिएन। सामान्य जीवन बाँच्न भ्रष्टाचार गरी राख्नु पर्दैन। काठमाण्डु लगायत पोखरा, बुटवल, नारायणगढ, नेपालगंज, भैरहवा विरगन्ज, विराटनगर, धरान, सुर्खेत, महेन्द्रनगर आदि शाहरमा बसाईं सराइको क्रमसंगै भ्रष्टाचार पनि बढेको छ। सहरको महंगी धान्न र सहरमा घर बनाउन तलबले मात्र पुग्ने भएन। त्यसैले शुरुमा जीवन धान्न भ्रष्टाचार गर्नेहरु पछि सभ्रान्त जीवन जिउन भ्रष्टाचार गर्ने भए ।
पारिवारिक रूपमा हेर्ने हो भने जस्ले राष्ट्रको सम्पत्ति दोहन गयो त्यसमा परिवारको पनि हात छ। हरेक भ्रष्ट व्यक्तिका श्रीमतीहरु मुख्य कारक तत्व हुन् । समाजमा धाक रबाफ देखाउन महंगा गाडी, कपडा प्रयोग गर्न, सन्तानलाई महंगा विद्यालय पढाउन, होटल, रेन्टुरेण्टमा पार्टी गर्न र आफ्नो सोख पुरा गर्न जस्तो सुकै कार्य गर्न र गराउन उद्यत हुन्छन् । अनैतिक सम्बन्ध पनि कायम रहन्छन् ।
‘मातृवत् परदारेषु पर द्रव्येषु लोकवत ।
आत्मवत् सर्व भूतेषु य पश्यति सः पण्डितः।।
अर्थात- आफ्नी श्रीमती बाहेक अन्य नारीहरुलाई आमा समान देख्नु, अरुको धन सम्पत्तिलाई ढुङ्गा सरह मान्नु, सबै प्राणीहरुलाई आफू जस्तै देख्नु। यी गुण जसमा छन् त्यो पण्डित हो। यो भावका साथै आफ्नो पुरुषार्थले नैतिकता पूर्वक विधि सम्मत प्राप्त परिणामलाई स्वीकार गरेर ‘सन्तोष परमं सुखम्’ को भाव आत्मसात गरेको भए देशमा भ्रष्टाचारको विकराल रूप देख्न पर्ने थिएन । ‘राजनीति’ लाजनिति भएको छ। नेताहरु फिरङ्गीको कठपुतली भएकाछन् । दलका कार्यकर्ता स्वार्थी र पक्षपाती भएकाछन्। आफ्नो दलका नेताले जति भ्रष्टाचार गरे पनि, अनैतिक कार्य गरे पनि विरोध गर्दैनन्। उल्टै समर्थनमा नारा लगाउँछन् । नेताको देखासिकि केन्द्रदेखि तल गाउँसम्म भ्रष्टाचार मौलाएको छ । आत्म समिक्षा र आत्मालोचना गर्ने चलन छैन ।
भ्रष्टाचार र भ्रष्टाचारीको बारेमा समाजले त कुनै भूमिका निर्वाह गरेन, तर हामी प्रत्येक नेपालीले आत्मा साक्षीराखेर कर्मचारी, नेता, ठेकेदार जनप्रतिनिधि व्यापारी, उद्योगी, सबैले देशको माटो समाएर अब हामी भ्रष्टाचार गर्दैनौं, गर्न दिदैनौं भन्दै प्रण गर्ने बेला आएको छ । जीवन अजम्बरी छैन, मरेर पछुताउनु भन्दा समय हुँदै देशको लागि केही गर्नु पर्छ। हाम्रो धर्मले गल्तीको निराकरणका लागि प्रायश्वितको व्यवस्था गरेको छ । प्रायश्चित स्वरूप आजसम्म भ्रष्टाचार गरेका व्यक्तिले नैतिकतापूर्वक गरेको भ्रष्टाचारको रकम राजस्वमा जम्मा गर्ने हो भने त्यो गलती माफ हुन्छ अन्यथा परिणाम भोग्नै पर्ने हुन्छ । देश सबै भन्दा माथि हुन्छ। यो भाव सबैमा हुने हो भने भ्रष्टाचार आफै सकिन्छ ।
(ज्ञवाली पतंजलि योगपीठसंग आबद्ध छन् र हाल क्यानडामा बस्छन्-सं)
प्रतिक्रिया